कपिलवस्तु, फागुन १३, २०८२
कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ का नेपाली कांग्रेसका उम्मेदवार अतहर कमालले ‘भिजन सेभेन’ नामक संकल्पपत्र सार्वजनिक गरेका छन्। शिक्षा, पर्यटन, पूर्वाधार, खेलकुद, कृषि, युवा उद्यमशीलता र सामाजिक समावेशीतासहित सात प्राथमिक क्षेत्रलाई समेट्दै उनले समग्र विकासको खाका अघि सारेका हुन्।
कमालले आफ्नो सामाजिक परिचालन अनुभवका आधारमा कार्यान्वयनयोग्य योजना मात्र संकल्पपत्रमा समावेश गरिएको दाबी गरे।
शिक्षामा विशेष प्राथमिकता
शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै उनले बाणगंगा नगरपालिकामा निर्माणाधीन तर रोकिएको जीपी मेमोरियल टेक्निकल इन्स्टिच्युटको काम अघि बढाउने प्रतिबद्धता जनाए। साथै क्षेत्रको मध्यभागमा वन विज्ञान अध्ययन संस्थान स्थापना गर्ने र दक्षिणी भेगमा अम्बेडकर समतामूलक शिक्षालय सञ्चालनमा ल्याउने योजना पनि सार्वजनिक गरे।
पर्यटन र पूर्वाधार विकास
पर्यटन प्रवर्द्धनका लागि कपिलवस्तु विकास कोष गठनको पहल गर्ने, खरको छानामुक्त क्षेत्र बनाउने, सडक पूर्वाधार विस्तार गर्ने र तीनवटै पालिकामा व्यवस्थित बसपार्क निर्माण गर्ने योजना उनले अघि सारे। साथै आदिवासी जनजाति संग्रहालय स्थापना गर्ने प्रतिबद्धता पनि जनाए।
युवा र खेलकुद
खेलकुद पूर्वाधारतर्फ रंगशाला तथा खेलमैदान निर्माण, युवा स्टार्टअप कोष स्थापना र सीप प्रवर्द्धनमार्फत युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने नीतिगत पहल गर्ने उनले बताए।
कृषि र सामाजिक समावेशीता
कृषि क्षेत्रको आधुनिकीकरणका लागि सिँचाइ पूर्वाधार विस्तार, छाडा तथा जंगली जनावर व्यवस्थापन र क्षतिपूर्ति सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गरे। भूमिहीन, अव्यवस्थित जग्गा र सुकुम्बासी समस्याको समाधानका लागि पहल गर्ने, दुध संकलन तथा चिस्यान केन्द्र स्थापना र पशुपालनलाई पकेट क्षेत्रका रूपमा विकास गर्ने कार्यक्रम सञ्चालन गर्ने योजना पनि ‘भिजन सेभेन’मा समेटिएको छ।
कमालले आफ्नो संकल्पपत्र क्षेत्रको समग्र विकास र दीगो समृद्धिको आधार बन्ने विश्वास व्यक्त गरेका छन्।



