कपिलवस्तु–१ मा रास्वपाका आचार्यको १० बुँदे बाचा–पत्र सार्वजनिक


पालिका पत्र

१३ फाल्गुन २०८२, बुधबार १९:२९ मा प्रकाशित

कपिलवस्तु, फाल्गुन १३, २०८२

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार अधिवक्ता मोहन आचार्यले आफ्नो विस्तृत बाचा–पत्र सार्वजनिक गरेका छन्।

“सामाजिक न्यायसहितको समृद्ध कपिलवस्तु : वर्ष ५, काम १०” भन्ने नारासहित आचार्यले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटनदेखि सूचना–प्रविधिसम्मका क्षेत्र समेटेर पाँच वर्षभित्र पूरा गर्ने १० प्रमुख प्रतिबद्धता अघि सारेका हुन्।

पाँच वर्षका १० प्राथमिक प्रतिबद्धता

१. कृषि आधुनिकीकरण र किसान सम्मान
आधुनिक तथा व्यावसायिक कृषि प्रवर्द्धन, सिँचाइ विस्तार, उन्नत बीउ–बिजन र अनुदानसहित मलको उपलब्धता सुनिश्चित गर्ने योजना अघि सारिएको छ। साथै, पालिका–स्तरमा कोल्ड स्टोर निर्माण र स्वदेशमै मल उत्पादनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

२. सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा
पायक पर्ने स्थानमा मेडिकल कलेजसहित सुविधा सम्पन्न अस्पताल निर्माण, पिपरा अस्पताल तथा स्वास्थ्य चौकीहरूको स्तरोन्नति र पूर्ण स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनका लागि नीतिगत पहल गरिने जनाइएको छ।

३. समान र गुणस्तरीय शिक्षा
विद्यालय तथा मदरसाको शैक्षिक स्तर उकास्ने, समान सुविधा सुनिश्चित गर्ने, विश्वविद्यालय र शिक्षा विधेयकका लागि पहल गर्ने तथा जिल्लामै पुस्तक वितरण डिपो स्थापना गर्ने योजना समावेश गरिएको छ।

४. धार्मिक–सांस्कृतिक पर्यटन प्रवर्द्धन
बुद्धसँग सम्बन्धित पवित्र स्थलहरूको संरक्षण र स्तरोन्नति, बुद्ध सर्किट निर्माण तथा स्थानीय धार्मिक र सांस्कृतिक सम्पदाको प्रचार–प्रसारमार्फत पर्यटन विकास गर्ने लक्ष्य राखिएको छ।

५. रोजगारी सिर्जना
कृषि र पर्यटन क्षेत्रको व्यावसायिक औद्योगिकीकरणमार्फत स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता जनाइएको छ।

६. भूमिहीन र सुकुम्बासी समस्या समाधान
ऐलानी, नदी उकास लगायत क्षेत्रमा दीर्घकालीन बसोबास गर्दै आएका नागरिकलाई उपभोगका आधारमा स्वामित्व सुनिश्चित गर्ने पहल गरिने उल्लेख गरिएको छ।

७. यातायात तथा पूर्वाधार विकास
क्षेत्रभित्रका सडक स्तरोन्नति, पिपरा–चाकलचौडा सडकलाई प्राथमिकता र बाणगंगा तथा मायादेवीमा सुविधा सम्पन्न बसपार्क निर्माण गर्ने योजना अघि सारिएको छ।

८. वन तथा वातावरण संरक्षण
चुरे क्षेत्र तथा बाणगंगा–कोइली नदी संरक्षण गर्दै प्राकृतिक स्रोतबाट प्राप्त आम्दानीलाई स्थानीय समृद्धिमा लगानी गर्ने अवधारणा प्रस्तुत गरिएको छ।

९. युवा र खेल पूर्वाधार विकास
पालिका–स्तरमा खेलमैदान तथा स्टेडियम निर्माण, खेल पूर्वाधार स्तरोन्नति र युवालाई खेलकुदमार्फत राष्ट्र निर्माणमा प्रेरित गर्ने कार्यक्रम समावेश गरिएको छ।

१०. सूचना तथा सञ्चार विस्तार
सरकारी कार्यालय र सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्दै सूचना–प्रविधिमा सर्वसुलभ पहुँच सुनिश्चित गर्ने योजना रहेको छ।

उम्मेदवार आचार्यले यी सबै प्रतिबद्धता नीतिगत तथा व्यवहारिक रूपमा कार्यान्वयन गर्ने दाबी गर्दै विकास, एकता र सुशासनका लागि साथ दिन मतदातासँग आग्रह गरेका छन्। साथै, आगामी निर्वाचनमा रास्वपाको चुनाव चिह्न ‘घन्टी’ मा मतदान गर्न अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्