निर्वाचन अघि कपिलवस्तुमा सर्वपक्षीय ऐक्यबद्धता, शान्ति–सुरक्षामा विशेष जोड


पालिका पत्र

१३ फाल्गुन २०८२, बुधबार १९:४२ मा प्रकाशित

कपिलवस्तु, १३ फाल्गुन २०८२

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तु मा सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न भएको छ। बैठकले फागुन २१ गते हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न ११ बुँदे निर्णय गरेको हो।

बैठकमा सहभागी राजनीतिक दल, उम्मेदवार, धार्मिक संघसंस्था तथा सरोकारवालाहरूले निर्वाचन प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, निर्वाचन आयोग ले जारी गरेको निर्वाचन आचारसंहिता–२०८२ को पूर्ण पालना गर्ने सहमति गरिएको छ। फागुन १८ गते राति १२ बजेदेखि लागू हुने मौन अवधिमा विशेष सतर्कता अपनाइने निर्णय पनि बैठकले गरेको छ।

होली पर्व निर्वाचन पूर्वावधिमा पर्ने भएकाले पर्वलाई संयमित र मर्यादित रूपमा मनाउन आग्रह गरिएको छ। अनावश्यक भिडभाड नगर्ने, कसैको इच्छाविपरीत रंग, अबिर वा पानी प्रयोग नगर्ने तथा व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्नेमा जोड दिइएको छ। मौन अवधिभर मदिराको उत्पादन, बिक्री–वितरण, ओसारपसार र सेवनमा पूर्ण प्रतिबन्ध लगाइने निर्णय पनि गरिएको छ।

बैठकमा सहभागी नेताहरूले होलीका समयमा मादक पदार्थ सेवन (मापसे) र लागूऔषध प्रयोगका कारण अवाञ्छित गतिविधि बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरे। यस्तो प्रवृत्ति नियन्त्रणका लागि कडाइका साथ अनुगमन गर्न प्रशासन र सुरक्षा निकायलाई सुझाव दिइएको छ। बहु–धार्मिक समुदायको बसोबास रहेको संवेदनशील जिल्ला भएकाले शान्ति–सुरक्षामा विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गरिएको छ।

त्यसैगरी, सामाजिक सञ्जाल तथा सञ्चार माध्यममार्फत उत्तेजक, भ्रामक वा शान्ति–सुरक्षामा असर पार्ने सामग्री प्रसारण नगर्ने, सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षणमा ध्यान दिने तथा प्रचलित कानुन र आचारसंहिताको पूर्ण पालना गर्दै प्रशासनसँग समन्वय गरी अघि बढ्ने सहमति बैठकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्