कपिलवस्तुका ९८ उम्मेदवारमध्ये ६४ ले बैंक खाताको सिफारिस लिए


पालिका पत्र

१३ फाल्गुन २०८२, बुधबार १९:४८ मा प्रकाशित

कपिलवस्तु ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कपिलवस्तुका ६४ जना उम्मेदवारले बैंक खाता सञ्चालन गर्न सिफारिस लिएका छन्। जिल्लामा कुल ९८ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकामा अझै ३४ जनाले सिफारिस लिन बाँकी रहेको जानकारी जिल्ला निर्वाचन अधिकारी कमल भुसालले दिएका छन्।

जिल्ला निर्वाचन कार्यालय कपिलवस्तु को सिफारिसका आधारमा उम्मेदवारले बैंक खाता सञ्चालन गर्न पाउने व्यवस्था छ। निर्वाचन खर्चलाई पारदर्शी र व्यवस्थित बनाउन सरकारले बैंक खातामार्फत मात्र आर्थिक कारोबार गर्ने कार्यविधि लागू गरेको हो। यद्यपि, सिफारिस लिएका ६४ जनामध्ये हालसम्म ५ जनाले मात्र कार्यालयमा आफ्नो बैंक खाता नम्बर उपलब्ध गराएका छन्।

यसैबीच निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ‘प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचारप्रसार, बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ। उक्त कार्यविधिअनुसार प्रत्येक राजनीतिक दल र उम्मेदवारले निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित सम्पूर्ण आम्दानी र खर्च बैंक खातामार्फत नै गर्नुपर्ने प्रावधान राखिएको छ।

तीन निर्वाचन क्षेत्र रहेको कपिलवस्तु जिल्लामा कुल ३ लाख ९६ हजार २ सय ६५ मतदाता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्