बाणगंगा, कपिलवस्तु – प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा कपिलवस्तु क्षेत्र नं. १ को चुनावी माहोल थप तातो बनेको छ। नेपाली कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार विश्रामप्रसाद चौधरीले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्।
चौधरीले घरदैलो अभियानका क्रममा मतदातालाई सम्बोधन गर्दै भने, “जनताले विगतमा हाम्रो नेतृत्वमा भएको विकासको मूल्याङ्कन गर्नुभएको छ। हामी काम गरेर देखाउने नेतृत्व हौं, र हाम्रो जीत सुनिश्चित छ।”
उनले सडक सञ्जाल विस्तार, पुल निर्माण, सिंचाइ, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको प्रगति आफ्नो उपलब्धि भन्दै आगामी कार्यकालमा तीव्र गतिमा विकासका कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
चौधरीले युवालाई रोजगारीका अवसर सिर्जना गर्ने, कृषिलाई आधुनिकीकरण गर्ने र पर्यटन प्रवर्द्धनमार्फत आर्थिक गतिविधि बढाउने योजना रहेको बताए। उनले पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राख्ने कुरा पनि मतदातासँग दोहोर्याए।
स्थानीय तहमा पार्टीको संगठन सुदृढ भएको र जनसमर्थन उत्साहजनक रहेको उल्लेख गर्दै चौधरीले कपिलवस्तु–१ मा एमालेको जित ऐतिहासिक हुने विश्वास व्यक्त गरे।



