कपिलवस्तु । चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि फागुन मसान्तसम्मको साढे आठ महिनाको अवधिमा कपिलवस्तु जिल्लाका १० स्थानीय तहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग मा ३३० वटा उजुरी दर्ता भएका छन्। यो संख्या हालसम्मकै उच्च रहेको जनाइएको छ।
लुम्बिनी प्रदेशका नौ जिल्लामध्ये कपिलवस्तु उजुरीका आधारमा दोस्रो स्थानमा परेको छ। प्रदेशमा सबैभन्दा बढी उजुरी रुपन्देही जिल्ला मा ४६९ परेका छन् भने कपिलवस्तु त्यसपछि रहेको छ। जिल्लाभित्र सबैभन्दा बढी उजुरी कृष्णनगर नगरपालिका मा ८४ र सबैभन्दा कम महाराजगञ्ज नगरपालिका मा ६ वटा मात्र परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल द्वारा कृष्णनगर नगरपालिकामा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा आयोगकी प्रमुख तथा सहसचिव विनिता भट्टराई ले उक्त तथ्यांक सार्वजनिक गरेकी हुन्।
उनका अनुसार दोस्रो बढी उजुरी शुद्धोधन गाउँपालिका मा ६४, तेस्रोमा कपिलवस्तु नगरपालिका मा ५१ उजुरी परेका छन्। त्यस्तै यशोधरा गाउँपालिका मा ४६, बाणगंगा नगरपालिका मा २८, मायादेवी गाउँपालिका मा २५, विजयनगर गाउँपालिका मा ११, शिवराज नगरपालिका मा ८ र बुद्धभूमि नगरपालिका मा ७ उजुरी दर्ता भएका छन्।
लुम्बिनी प्रदेशका नौ जिल्लामा सो अवधिमा कुल १ हजार ३२१ उजुरी परेकोमा ६३३ फछ्र्यौट भइसकेका छन् भने ६८८ उजुरी अझै प्रक्रियामा रहेका छन्।
प्रमुख भट्टराईका अनुसार स्थानीय तहमा विशेषगरी विकास निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित उजुरी बढी पर्ने गरेका छन्। विद्यालयको खाजा कार्यक्रम, मन्दिर तथा मस्जिद निर्माणलगायत विषयमा पनि धेरै उजुरी आउने गरेको उनले जानकारी दिइन्। भ्रष्टाचार नियन्त्रणका लागि जनप्रतिनिधि, कर्मचारी र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।
कार्यक्रममा रजतप्रताप शाह ले फेक उजुरीका कारण काम गर्न समस्या भइरहेको उल्लेख गर्दै उजुरीका नाममा चरित्र हत्या गर्ने प्रवृत्ति बढेको बताए। उनले कृष्णनगरमा सबैभन्दा बढी उजुरी परे पनि हालसम्म कुनै पनि उजुरीमा दोषी प्रमाणित नभएको दाबी गरे।
कार्यक्रम आयोगकी प्रमुख भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नगर प्रवक्ता हरिलाल चतुर्वेदी र प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए।
