बाणगंगा – कपिलवस्तुको बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले चोरी निकासी भएका सवारी साधन छुटाउन नगरपालिकामा नआउन आग्रह गर्नुभएको छ । आइतबार जितपुरमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उहाँले नदिजन्य पदार्थको चोरी निकासीबारे हरेक वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्ने गरेको उल्लेख गर्दै नगरपालिकाले कुनै पनि गलत कार्य नगरेकाले कारबाहीको अवस्था नरहेको स्पष्ट पार्नुभयो ।
नगरप्रमुख अर्यालले शिक्षाको गुणस्तर सुधारका लागि विद्यालय तथा शिक्षक व्यवस्थापन (मर्ज) प्रक्रिया अघि बढाइएको र यसलाई अनिवार्य रूपमा कार्यान्वयन गरिने बताउनुभयो । साथै, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरिएको जानकारी पनि दिनुभयो ।
उहाँले बाणगंगामा सामुदायिक वन र नगरपालिकाबीच राम्रो सहकार्य रहेको जनाउँदै वनमार्फत गरिबी निवारण, महिला सशक्तीकरण तथा वातावरण संरक्षणका क्षेत्रमा महत्वपूर्ण काम भइरहेको बताउनुभयो । स्थानीय उत्पादनको बजारीकरण, महिला उद्यमशीलता तथा कृषि उत्पादन प्रवर्द्धनमा पनि नगरपालिका सक्रिय रहेको उहाँको भनाइ छ ।
त्यस्तै, इन्डक्सन चुलो, सुधारिएको चुलो तथा गोबर ग्यास वितरणको योजना रहेको जानकारी दिँदै नगरप्रमुख अर्यालले सार्वजनिक सुनुवाईजस्ता कार्यक्रममा नागरिकको सहभागिता कम हुनु चिन्ताजनक भएको उल्लेख गर्नुभयो । उहाँले नागरिक स्वयं सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
नगरप्रमुख अर्यालले प्रदेश सरकारका कार्यक्रमअन्तर्गत सम्पन्न भएका योजनाबारे पालिकालाई जानकारी नहुँदा त्यसको अपजस नगरपालिकाले बेहोर्नुपरेको गुनासो समेत गर्नुभयो। जनप्रतिनिधिप्रति गलत धारणा फैलिरहेको भन्दै उहाँले सबै जनप्रतिनिधि भ्रष्ट हुन्छन् भन्ने बुझाइ गलत रहेको र गलत गर्नेहरू कानुनी दायरामा आउने स्पष्ट पार्नुभयो । कार्यक्रममा उपप्रमुख, वडाध्यक्ष, कर्मचारी, सरोकारवाला तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
