जितपुर, १३ चैत्र । कपिलवस्तुको बाणगंगा नगरपालिका–१ बैरियामा खुर्पा प्रहारबाट एक जनाको हत्या भएको छ । स्थानीय ३२ वर्षीय सुमन चौधरीको हत्या भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँका ४५ वर्षीय उदय अधिकारीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार हिजो दिउँसो करिब ११ः४५ बजेदेखि १२ः२० बजेको बीचमा मानसिक अवस्था ठीक नभएका चौधरीमाथि धारिलो हतियार खुर्पा प्रहार गरिएको थियो । गम्भीर घाइते अवस्थामा फेला परेका उनलाई उपचारका लागि पिपरा अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल रिफर गरिएको थियो। उपचारकै क्रममा साँझ करिब पौने ८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी निरीक्षक अर्जुन पौडेलको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्य र प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहसहितको टोलीले घटनास्थलको सूक्ष्म अवलोकन गरी अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा शंकास्पद देखिएका उदय अधिकारीलाई नियन्त्रणमा लिइएको र सोधपुछका क्रममा उनले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। उनले लुकाइराखेको अवस्थामा हत्यामा प्रयोग गरिएको खुर्पा समेत बरामद गरिएको छ।
पक्राउ परेका अधिकारीमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ। उनलाई जिल्ला अदालत कपिलवस्तुबाट म्याद थप गरी थप कारबाही प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभएको छ ।
