विजयनगरमा थारु ‘बडघर’का लागि ३ दिने क्षमता विकास तालिम


पालिका पत्र

१३ चैत्र २०८२, शुक्रबार २१:०१ मा प्रकाशित

Oplus_16908288

कपिलवस्तु, १३ चैत्र ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा थारु समुदायका अगुवा ‘बडघर’ हरूका लागि ३ दिने क्षमता अभिवृद्धि तालिम सुरु गरिएको छ । गाउँपालिकाको आयोजनामा सञ्चालन भएको उक्त तालिम थारु समुदायको परम्परागत नेतृत्व प्रणालीलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको हो ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख रेनु पाण्डेका अनुसार तालिममा थारु अगुवा, बडघर तथा महतोहरूको सहभागिता रहेको छ । तालिममार्फत उनीहरूको नेतृत्व क्षमता विकास, विवाद समाधान सीप, सामाजिक न्याय, तथा स्थानीय शासन प्रणालीसँग समन्वय गर्ने विषयमा ज्ञान अभिवृद्धि गरिनेछ ।

त्यस्तै सहभागीहरूलाई कानुनी सचेतना, कानुनी प्रक्रिया र विद्यमान कानुनी व्यवस्थासम्बन्धी जानकारी पनि प्रदान गरिँदैछ । सरकारी वकिलको कार्यालयका सह-न्यायधिवक्ता बुद्ध बहादुर थापाको सहजीकरणमा तालिम सञ्चालन भइरहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले थारु समुदायको मौलिक परम्परा र संस्कृतिको संरक्षण गर्दै कानुनसम्मत अभ्यासलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले यस तालिमले बडघरहरूको भूमिका अझ प्रभावकारी बनाउँदै समुदायस्तरमा देखिने समस्याको समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यस्तै उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले बडघर प्रथा प्रभावकारी भए पनि कतिपय विषय वर्तमान कानुनी व्यवस्थासँग मेल नखाने अवस्था देखिएको उल्लेख गर्दै यसलाई व्यवस्थित र कानुनसम्मत ढङ्गले अगाडि बढाउन आवश्यक रहेको बताइन् । उनले लोपोन्मुख अवस्थामा रहेका थारु समुदायका संस्कृतिको संरक्षणमा पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा सहभागी बडघरहरूले तालिमबाट आफूहरूको नेतृत्व क्षमता वृद्धि हुने र समुदायमा देखिने विभिन्न समस्या समाधान गर्न थप सहज हुने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा वडा नं. ५ का अध्यक्ष अनवर मोहम्मद मुसलमान तथा थारु अगुवा प्रजापति चौधरीलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्