मन्त्रिपरिषद्को पहिलो बैठक, जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय


पालिका पत्र

१३ चैत्र २०८२, शुक्रबार २१:३९ मा प्रकाशित

नवनियुक्त प्रधानमन्त्री शाह काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्टररासस

काठमाण्डौ – नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गएको भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले कारबाहीका लागि सिफारिश गरेकामध्ये सुरक्षा निकायका हकमा अर्को अध्ययन समिति गठन गर्ने र अन्यको हकमा तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलगायतलाई कारबाही सिफारिश गरेको थियो । तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाइएको यो प्रतिवेदन सङ्घीय संसद् सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय भएको थियो ।

बैठकले नवयुवा आन्दोलनलगायत विभिन्न आन्दोलनमा शहादत प्राप्त गरेकाहरूलाई श्रद्धाञ्जली दिने निर्णय पनि गरेको छ ।

साथै बैठकले सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई तोक्ने निर्णय गरेको छ ।

बैठकले शासकीय सुधारका योजना स्वीकृत गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्