सन्धिखर्क नगरपालिकाले सिमेन्ट उद्योगबाट ३० लाख र खानी रोयल्टीबाट १ करोड १७ लाख उठायो


पालिका पत्र

18 October, 2026 2:01 pm मा प्रकाशित

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सिमेन्ट उद्योगबाट ३० लाख १८ हजार रुपैयाँ स्थानीय विकास शुल्क र खानी तथा खनिजसम्बन्धी रोयल्टीबाट १ करोड १७ लाख ६५ हजार १६० रुपैयाँ आम्दानी गरेको जनाएको छ ।

नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार भूगर्भ सिमेन्ट उद्योगबाट स्थानीय विकास शुल्कबापत उक्त रकम प्राप्त भएको हो । त्यस्तै, खानी तथा खनिजसम्बन्धी रोयल्टी शीर्षकमा छुट्टै रकम प्राप्त भएको नगरपालिकाले स्पष्ट पारेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालका अनुसार सिमेन्ट उद्योगबाट प्राप्त स्थानीय विकास शुल्क र खानी तथा खनिजसम्बन्धी रोयल्टी फरक–फरक शीर्षकका आम्दानी हुन् । त्यसैले यी दुई रकमलाई एउटै शीर्षकको आम्दानीका रूपमा बुझ्न नहुने नगरपालिकाको भनाइ छ ।

नगरपालिकाको विवरणअनुसार स्थानीय विकास शुल्क र खानी रोयल्टी जोड्दा आर्थिक वर्ष २०८२/८३ मा यी दुई शीर्षकबाट कुल १ करोड ४७ लाख ८३ हजार १६० रुपैयाँ प्राप्त भएको देखिन्छ।

नगरपालिकाको आम्दानी विवरणलाई लिएर सामाजिक सञ्जालमा विभिन्न जिज्ञासा तथा टिप्पणी सार्वजनिक हुन थालेपछि नगरपालिकाले विज्ञप्ति जारी गर्दै आधिकारिक स्पष्टीकरण दिएको हो।

नगरपालिकाले दुवै शीर्षकको आम्दानीलाई स्पष्ट रूपमा छुट्याउँदै सार्वजनिक गरेको विवरणले राजस्वसम्बन्धी अन्योल हटाउन खोजेको छ ।

प्रतिक्रिया दिनुहोस्