एमाले छाडेको १२ घण्टामै रास्वपामा विश्वास जिसी, बाणगंगामा ७ सय जनाको पार्टी प्रवेश


पालिका पत्र

18 October, 2026 5:31 pm मा प्रकाशित

बाणगंगा, १ कात्तिक । कपिलवस्तुको बाणगंगा नगरपालिका–८ का नेकपा एमालेबाट निर्वाचित वडा सदस्य विश्वास जिसीले पार्टी परित्याग गरेको १२ घण्टा नबित्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधि नै पार्टी छाडेर रास्वपामा पुगेपछि बाणगंगाको स्थानीय राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा भएको छ ।

आइतबार आयोजित रास्वपाको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा जिसीसहित विभिन्न राजनीतिक दल परित्याग गरेका करिब ७ सय जना रास्वपामा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेमा एमाले, नेपाली कांग्रेस तथा नेकपासँग आबद्ध नेता–कार्यकर्ता र जनप्रतिनिधिसमेत रहेका छन् ।

पार्टी प्रवेश गर्ने प्रमुख व्यक्तिहरूमा एमाले सचिवालय सदस्य नेत्र गिरी, नेकपाका प्रदेश सदस्य अम्बिका पौडेल र देवराज अर्याल, बाणगंगा नगरपालिका–१० का नेपाली कांग्रेसका वडा सभापति राम नक्षेत्र चौधरी, बाणगंगा–२ का नेकपा वडा सचिव रामप्रसाद भट्टराई तथा मायादेवी गाउँपालिका–४ की जनप्रतिनिधि बसन्ती सिंजापती रहेका छन् ।

उनीहरूलाई कपिलवस्तु क्षेत्र न. १ का संघीय सांसद मोहनलाल आचार्य र कपिलवस्तु क्षेत्र न. २ का बिक्रम सिंह थापाले रास्वपामा स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् । एकै कार्यक्रममा विभिन्न दलका नेता, कार्यकर्ता र जनप्रतिनिधि रास्वपामा प्रवेश गर्नुलाई जिल्लामा पार्टीको संगठन विस्तारका रूपमा हेरिएको छ ।

गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित जिसीले पार्टी परित्याग गरेको केही घण्टामै रास्वपा रोज्नुले उनको राजनीतिक यात्रामा नयाँ मोड आएको छ। निर्वाचित जनप्रतिनिधिले नै दल परिवर्तन गरेपछि यसले एमालेको स्थानीय संगठन र बाणगंगा–८ को राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्नसमेत उठेको छ ।

त्यस्तै, नेपाली कांग्रेसका वडा सभापति, नेकपाका पदाधिकारी तथा अन्य जनप्रतिनिधिसमेत रास्वपामा प्रवेश गरेपछि जिल्लाका स्थापित राजनीतिक दलका लागि यो घटनाले चुनौती थपेको संकेत गरेको छ । यद्यपि, ठूलो संख्यामा भएको भनिएको पार्टी प्रवेशले आगामी निर्वाचन र स्थानीय राजनीतिक प्रतिस्पर्धामा कस्तो परिणाम ल्याउँछ भन्ने कुरा भने आगामी दिनमा स्पष्ट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्