एसियन थाई फुड्सले कपिलवस्तुमा सुरु गर्‍यो दोस्रो कारखाना


पालिका पत्र

8 May, 2025 10:15 pm मा प्रकाशित

एसियन थाई फुड्स प्रा.लि.ले कपिलवस्तु नगरपालिका–६ गोबरीमा नयाँ उद्योग सञ्चालनमा ल्याएको छ। मोरङमा दुई दशकअघि स्थापना भएको यस कम्पनीले कपिलवस्तुमा दोस्रो शाखा विस्तार गरेको हो।

अढाई बिघा क्षेत्रफलमा फैलिएको यस उद्योगमा प्रारम्भमा ‘प्रीति’, ‘टुपीएम’ र ‘रमपम’ ब्रान्डका चाउचाउ उत्पादन सुरु गरिएको छ। कम्पनीका प्रबन्धक महेश जाजुका अनुसार यी चाउचाउहरू हाल ३० भन्दा बढी देशहरूमा निर्यात भइरहेका छन्।

उद्योगमा चाउचाउसँगै अन्य स्न्याक्स र मसला उत्पादन गर्ने मेसिनहरू पनि रहेका छन्, जसबाट आगामी ६ महिनापछि थप उत्पादनहरू सुरु गरिने योजना रहेको छ।

कपिलवस्तु स्थानले देशको मध्य भागमा पर्ने, अन्य स्थानहरूमा सामान ढुवानी गर्न सहज हुने र राम्रो सडक पहुँच भएकाले वितरणमा पनि सहजता हुने कम्पनीको भनाइ छ ।

हालसम्म उद्योगमा ४० करोड रुपैयाँको लगानी भइसकेको छ भने चालु पुँजीका लागि थप २० करोड रुपैयाँ आवश्यक पर्ने प्रबन्धक जाजुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्