कपिलवस्तु, ३२ असार । बाणगंगा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेको स्वर्णबिन्दु प्राशन कार्यक्रमअन्तर्गत २० हजार ९४२ जना बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराएको छ ।
बाणगंगा नगरपालिका आयुर्वेद शाखाका प्रमुख तेजबहादुर सोमैका अनुसार कार्यक्रमबाट ११ हजार २३७ जना बालक र ९ हजार ७०५ जना बालिका लाभान्वित भएका छन् ।
६ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको यो कार्यक्रम २०८२ साल पुस २१ गतेदेखि २०८३ साल असार ३१ गतेसम्म सञ्चालन गरिएको थियो । कार्यक्रमअन्तर्गत प्रत्येक बिहान ६ बजेदेखि १० बजेसम्म खाली पेट स्वर्णबिन्दु प्राशन गराइँदै आएको थियो ।
आयुर्वेद शाखाका अनुसार नियमित रूपमा स्वर्णबिन्दु प्राशन गराउँदा बालबालिकाको स्मरणशक्ति र एकाग्रता वृद्धि हुने, शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पर्ने तथा पाचन प्रणालीलाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । साथै, यसले रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी विभिन्न संक्रमणबाट बच्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि स्वर्णबिन्दु प्राशन कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । बालबालिकाको समग्र स्वास्थ्य सुधारमा कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गर्दै आयुर्वेद शाखाले अभिभावकलाई आफ्ना बालबालिकालाई नियमित रूपमा कार्यक्रममा सहभागी गराउन आग्रह गरेको छ ।



