कपिलवस्तु, २३ असोज । कपिलवस्तुको बाणगंगा नगरपालिका–८, मधुवन सरिताकोलोनीस्थित मनकामना मन्दिरमा देवीभागवत नवाह ज्ञान महायज्ञ–२०८३ आयोजना हुने भएको छ। धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक जागरणसँगै सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले असोज २५ गतेदेखि कात्तिक ३ गतेसम्म महायज्ञ सञ्चालन गर्न लागिएको हो ।
देवीभागवत नवाह ज्ञान महायज्ञ सम्पादन मूल समितिका अनुसार महायज्ञमा अन्तर्राष्ट्रिय रूपमा प्रसिद्ध कथा वाचिका आरतीकृष्णप्रियाको मुखारविन्दबाट संगीतमय देवीभागवत कथा वाचन हुनेछ। महायज्ञ अवधिभर धार्मिक प्रवचन, पूजापाठ, मन्त्रजाप, भजनकीर्तन तथा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरिनेछ ।
महायज्ञको शुभारम्भ असोज २५ गते बिहान १० बजे शोभाकलश यात्राबाट हुनेछ। सोही दिन दिउँसो २ बजे देवीभागवत नवाह ज्ञान महायज्ञको समुद्घाटन गरिने आयोजकले जनाएको छ ।
असोज २६ गतेदेखि दैनिक बिहान ६ देखि ८ बजेसम्म मण्डप पूजा तथा बिहान ८ देखि ११ः३० बजेसम्म मूलपाठ, स्तोत्री, चण्डीपाठ र मन्त्रजापलगायतका धार्मिक अनुष्ठान सञ्चालन हुनेछन्। त्यसैगरी, दिउँसो १२ः३० देखि ४ः३० बजेसम्म संगीतमय कथा वाचन, साँझ ४ः३० बजे सन्ध्याकालीन आरती, पुष्पाञ्जली तथा प्रसाद वितरण गरिनेछ। साँझ ७ः३० बजेदेखि राति १० बजेसम्म भजनकीर्तनको कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।
आयोजक समितिले महायज्ञलाई धार्मिक आस्था र परम्पराको संरक्षणसँगै आध्यात्मिक चेतना अभिवृद्धि गर्ने अवसरका रूपमा लिएको छ। यस्ता धार्मिक अनुष्ठानले समाजमा आपसी सद्भाव, एकता र सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
महायज्ञमा सहभागी भई देवीभागवत कथा श्रवण गर्न तथा विभिन्न धार्मिक अनुष्ठानमा सहभागिता जनाउन आयोजकले आमाबुवा, दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनलाई आग्रह गरेको छ ।

