कपिलवस्तुमा चाडपर्व लक्षित सुरक्षा सतर्कता कडाः राति १० बजेपछि सांस्कृतिक कार्यक्रममा रोक


पालिका पत्र

14 October, 2026 6:16 am मा प्रकाशित

कपिलवस्तु, असोज २८ । दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सुरक्षा सतर्कता उच्च बनाएको छ । चाडपर्वका समयमा हुन सक्ने सम्भावित सुरक्षा जोखिम, धार्मिक तथा सामाजिक विवाद र अप्रिय घटनालाई न्यूनीकरण गर्न प्रशासनले कडा कदम चालेको हो ।

शान्तिसुरक्षा कायम राख्न र धार्मिक सहिष्णुता प्रवर्द्धन गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयमा आयोजित सर्वपक्षीय समन्वय तथा सद्भाव बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ।

चाडपर्वका अवसरमा सञ्चालन हुने धार्मिक, सांस्कृतिक तथा देउसीभैलोजस्ता कार्यक्रमहरू राति १० बजेपछि सञ्चालन गर्न रोक लगाइएको छ।

शैक्षिक वातावरण र सामाजिक मर्यादा जोगाउन मदरसा तथा विद्यालय आसपासका क्षेत्रमा मदिराको बिक्रीवितरण र सेवनमा पूर्ण रूपमा कडाइ गरिने भएको छ।

यस्तै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक (एसपी) मनोहरप्रसाद भट्टले धार्मिक र्‍याली, मूर्ति विसर्जन तथा सर्वसाधारणको बढी भीडभाड हुने संवेदनशील स्थानहरूमा विशेष सुरक्षा सतर्कता अपनाइने जानकारी दिनुभयो। साथै, शंकास्पद गतिविधि वा विवाद देखिएमा तुरुन्त सुरक्षा निकायलाई खबर गर्न उहाँले आग्रह गर्नुभएको छ।

चाडपर्वलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले सीमाक्षेत्रमा निगरानी तथा गस्ती तीव्र पारेका छन्। सशस्त्र प्रहरी बलका उपरीक्षक ९एसपी० गोपाल अधिकारीले अवाञ्छित गतिविधि रोक्न दुवै सुरक्षा निकायबीच एकीकृत सुरक्षा व्यवस्था मिलाइएको बताएका छन्।

बैठकमा सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना तथा अफवाहलाई कडा रूपमा नियन्त्रण गर्ने र कसैको पनि धार्मिक आस्थामा आँच आउन नदिने विषयमा विशेष जोड दिइएको छ । चाडपर्वका बेला ध्वनि प्रदूषण नियन्त्रण गर्न, आपसी सद्भाव कायम राख्न तथा कुनै पनि विवाद उत्पन्न भएमा त्यसलाई आपसी संवादबाटै समाधान गर्न सहभागीहरूले प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा जिल्ला समन्वय समिति कपिलवस्तुका उपप्रमुख राजेश कुर्मी, विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरू, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो । बैठकको सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्