बाणगंगा, २८ असोज । पशुपालन व्यवसायलाई प्रोत्साहन गर्ने र पशुपन्छीका लागि आवश्यक पर्ने हरियो घाँसको उपलब्धता सहज बनाउने उद्देश्यले मधुबन सामुदायिक वन उपभोक्ता समूहले आफ्ना उपभोक्ताहरूलाई घाँसको बीउ वितरण गरेको छ । वनले मंगलबार एक कार्यक्रमकाबीच कृषकहरूलाई बीउ वितरण गरेको हो ।
पछिल्लो समय पशुपालनमा आबद्ध कृषकहरूलाई हौसला प्रदान गर्न र दानाको परनिर्भरता कम गरी हरियो घाँसको उत्पादन बढाउन यो कार्यक्रम सञ्चालन गरिएको वनले जनाएको छ ।
कार्यक्रमबारे थप जानकारी दिँदै मधुबन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपक सापकोटाले भने, ”हामीले हाम्रा वन उपभोक्ता तथा पशुपालक कृषकहरूलाई व्यावसायिक रूपमा अगाडि बढ्न प्रोत्साहन गर्न यो पहल गरेका हौं । यसले एकातिर गाईबस्तुका लागि आवश्यक पौष्टिक हरियो घाँसको अभाव टार्न मद्दत पुग्छ भने अर्कोतर्फ कृषकहरूको दाना खर्चमा पनि कमी ल्याउँछ।”
सामुदायिक वनको यस किसिमको रचनात्मक कार्यले यस क्षेत्रका पशुपालक कृषकहरूमा उत्साह थपेको छ भने यसले हरियाली प्रवर्द्धन र वन तथा कृषिको अन्योन्याश्रित सम्बन्धलाई थप बलियो बनाउने विश्वास गरिएको छ।

