कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएपछि फरार भएका चालकलाई प्रहरीले हवाई फायर गरेर नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार २०८३ असोज २८ गते अपराह्न ४ः३५ बजे मायादेवी गाउँपालिका–१ स्थित पिचुर्खी चोकमा बाटोमा खेलिरहेका चार वर्षीय उसेद खानलाई भारतीय नम्बर प्लेटको होन्डा युनिकर्न मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको थियो ।
दुर्घटनापछि मोटरसाइकल चालक फरार भएका थिए । चालकको खोजीका लागि इलाका प्रहरी कार्यालय पकडीबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालन गरिएको थियो। प्रहरीले स्थानीयसँग सोधपुछ गर्नुका साथै घटनास्थल आसपासका सीसीटीभी फुटेज विश्लेषण गरेर अनुसन्धान अघि बढाएको थियो ।
खोजतलासका क्रममा असोज २९ गते बिहान १ः४५ बजे शुद्धोधन गाउँपालिका–६ कर्मास्थित ड्यामसाइड नजिक लुकाएर राखिएको १५० सीसीको होन्डा युनिकर्न मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ । मोटरसाइकलको अगाडिको भाइजर फुटेको अवस्थामा रहेको थियो । उक्त मोटरसाइकलको नम्बर एमएच ४७ जेड ४९४१ रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल फेला परेपछि प्रहरीले चालकको खोजी तीव्र बनाएको थियो । सोही क्रममा मायादेवी गाउँपालिका–१ बर्रोहियाका २० वर्षीय रियाज अहमद मुसलमानलाई प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । तर, उनी खेतमा हामफालेर भाग्न खोजेपछि प्रहरीले हवाई फायर गरेको थियो । त्यसपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका मुसलमानलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

