अध्यादेशको पालना गर्न काठमाडौं प्रशासनको अपील


appharu

१० जेष्ठ २०७८, सोमबार १६:४३ मा प्रकाशित

काठमाडौं ।
सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि ल्याएको अध्यादेशको पालना गर्न सर्वसाधरण नागरिकलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अपील गरेको छ ।

प्रशासनले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै कोभिड–१९ रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन सरकारले ल्याएको अध्यादेश अनिवार्य पालना गर्न सर्वसाधरण नागरिकसँग अपील गरिएको हो ।

कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को प्रावधानको पालना नभए कानुन अनुसार कारबाही हुने प्रशासनले चेतावनी दिएको छ ।

अध्यादेश बमोजिक कसैले कुनै काम गर्न बाधा अवरोध सिर्जना गर्न नहुने र गरेको पाइएमा एक वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने सार्वजनिक सूचनामा उल्लेख छ । अध्यादेश बमोजिक जारी भएका मापदण्डको पालना गर्नुपर्ने र पालना नगरेमा छ महिनासम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

कुनै व्यक्तिले अध्यादेश उल्लंघन गरेमा एक लाख रुपैयाँसम्म र कुनै संस्थाले उल्लंघन गरेमा पाँच लाख रुपैयाँसम्म प्रमुख जिल्ला अधिकारीबाट तत्काल जरिबाना हुनसक्ने सूचनामा उल्लेख छ ।

मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छे एक सय रुपैयाँ, मानिसको आवतजावत रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा अध्यादेश उल्लंघन गरेमा पटकैपिच्छे दुईसय रुपैयाँ, सवारी साधानको आवतजावतमा रोक लगाएको अवस्थामा सम्बन्धित अधिकारीको अनुमति विना वा सुरक्षाकर्मीलाई सूचना नदिई वा बिरामी ओसारपसार गर्ने अवस्थामा बाहेक सवारी साधन चलाएमा पटकैपिच्छे दुई पाङ्ग्रे सवारी साधनमा भए दुई हजार रुपैयाँ र अन्य सवारी साधन भए पाँच हजार रुपैयाँ तत्कालै सुरक्षाकर्मीले जरिबाना गर्न सक्ने सूचनामा जनाइएको छ ।

अध्यादेश विपरितको काम गर्ने संस्था वा व्यवसायीमाथि उललेख भएको सजायको अतिरिक्त प्रजिले छ महिनासम्मको लागि बन्द गर्न आदेश दिन सक्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्