संस्था झोलामा होइन, काममा देखिनुपर्छ’: वाणगंगा राइडर्स क्लबको अभियानको प्रशंसा


पालिका पत्र

8 August, 2026 4:36 pm मा प्रकाशित

कपिलवस्तु, २३ साउन। संस्था दर्ता गरेर झोलामै सीमित राख्ने प्रवृत्तिभन्दा काममार्फत आफ्नो पहिचान स्थापित गर्नुपर्नेमा जोड दिँदै वाणगंगा राइडर्स क्लब कपिलवस्तुको अभियानको प्रशंसा गरिएको छ । ‘स्वस्थ जीवन, स्वस्थ पर्यावरण र पर्यटक प्रवद्र्धन’लाई मूल नाराका रूपमा अघि बढाउँदै सक्रिय रहेको क्लबको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनमा सहभागी वक्ताहरूले संस्थाको गतिविधि, पारदर्शिता र सामाजिक अभियानको प्रशंसा गर्दै आगामी दिनमा अभियानलाई थप परिणाममुखी बनाउन सुझाव दिएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बोल्दै वाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी थारूले क्लबबाट सञ्चालित अभियान सकारात्मक र उत्कृष्ट रहेको बताउँदै स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्न आग्रह गरिन। उहाँले सकारात्मक सामाजिक अभियानमा स्थानीय सरकारको साथ रहने प्रतिबद्धता व्यक्त गरिन ।

यसैगरी कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेशबहादुर क्षेत्रीले स्वास्थ्य र वातावरणसँगै साइकल अभियानलाई स्थानीय पर्यटन तथा व्यवसायसँग जोड्नुपर्ने धारणा व्यक्त गरे ।

यस्तै इलाका प्रशासन कार्यालय बाणगंगाका प्रमुख बाबुराम शर्माले क्लबले देखाएको सक्रियता र पारदर्शिता अन्य सामाजिक संस्थाका लागि समेत उदाहरणीय भएको बताए । उनले संस्था केवल कागजमा वा झोलामा सीमित नराखी समाजमा देखिने गरी काम गर्नुपर्नेमा जोड दिँदै क्लबले आफ्नो कार्यसम्पादनबाट त्यसको उदाहरण प्रस्तुत गरेको उल्लेख गरे ।

क्लबका अध्यक्ष विष्णुप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाणगंगा कार्यक्रममा क्लबको वार्षिक कार्ययोजना, सांगठनिक तथा प्रगति प्रतिवेदनसँगै आर्थिक प्रतिवेदनसमेत प्रस्तुत गरिएको थियो ।

क्लबले साइकलमार्फत स्वस्थ जीवनशैलीको प्रवद्र्धन, वातावरण संरक्षण र स्थानीय पर्यटनको विकासलाई जोड दिँदै विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । कार्यक्रममा आगामी दिनमा यस्ता अभियानलाई स्थानीय सरकार, पर्यटन क्षेत्र तथा निजी क्षेत्रसँग सहकार्य गरी थप प्रभावकारी र परिणाममुखी बनाउनुपर्नेमा समेत जोड दिइएको थियो । कार्यक्रम शनिवार ठाकुरापुरमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्