कपिलवस्तुमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित बन्यो वाणगंगा


appharu

५ जेष्ठ २०७८, बुधबार १५:२४ मा प्रकाशित

पालिका पत्र, कपिलवस्तु ।
०७७ को बैशाख अन्तिम साता मायादेवी गाउँपालिकाबाट देखिन थालेको कोरोना ०७८ को जेष्ठ पहिलो हप्तासम्म आइपुग्दा ४ हजार २ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुले मंगलबार साँझ उपलब्ध गराएको जिल्लाको कोरोना रिर्पोटमा यो तथ्य छ ।

०७८ बैशाखको दोस्रो हप्ता देखि जिल्लामा कोरोना भाइरसको दोस्रो लहर देखिएको हो । जेष्ठ ४ मंगलबार साँझसम्म जिल्लामा १ हजार ३३१ संक्रिय संक्रमितले उपचार गरिरहेका छन् । यी सबै संक्रमित दोस्रो लहरमा देखिएको कोरोनाबाट प्रभावित हुन् ।

पहिलो र दोस्रो लहर गरी कोरोना भाइरसलाई जित्नेको संख्या २ हजार ८१६ छ । १ सय ३७ जनाले भने ज्यान गुमाएका छन् ।

जिल्लाको कोरोना तथ्याङ्क हेर्दा १० स्थानीय तह रहेको कपिलवस्तुमा सबैभन्दा बढी प्रभावित वाणगंगा नगरपालिका छ । अहिलेसम्म वाणगंगाका १ हजार ४७ जनामा भाइरस पुष्टि भयो । यो अरु स्थानीय तहको भन्दा झण्डै आधाले बढी हो । जिल्ला सदरमुकाम रहेको कपिलवस्तु नगरपालिकामा ७ सय ९९ जनामा संक्रमण पुष्टि भएर दोस्रो प्रभावित स्थानीय तह बनेको छ ।

तेस्रो प्रभावित स्थानीय तह बुद्धभूमि नगरपालिका छ । जहाँ ६ सय ६२ जनामा संक्रमण देखिएको छ । सबैभन्दा कममा संक्रमण देखिनेमा भारतीय सीमावर्ती शुद्धोधन गाउँपालिका छ । जहाँ अहिलेसम्म १ सय १८ जनामा मात्र संक्रमण देखिएको छ ।

दुई सय भन्दा कम संक्रमित हुने पालिका महाराजगञ्ज नगरपालिका, मायादेवी गाउँपालिका र विजयनगर गाउँपालिका छन् । जहाँ क्रमशः १ सय ६३, १ सय ३८ र १ सय २० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै भारतीय सीमावर्ती कृष्णनगर नगरपालिकामा ३ सय ३५ जनामा संक्रमण पुष्टि हुँदा कृष्णनगरसंग जोडिएको शिवराज नगरपालिकामा ६ सय ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यी संक्रमित मध्ये दोस्रो लहरमा देखिएका बाहेक अरु सबै निको भैसकेका छन् ।

वाणगंगामा अझै ५ सय बढी संक्रिय संक्रमित

कोरोनाबाट बढी प्रभावित बनेको वाणगंगामा अहिले पनि ५ सय १३ जना सक्रिय संक्रमित छन् । जस मध्ये अधिकांश होम आइसोलेसनमा बसेर स्वास्थ्यलाभ गरिरहेका छन् भने गम्भीर प्रकृतिका ४ जना विरामीलाई सिद्धार्थ क्याम्पसमा बनाइएको नगरको आइसोलेसनमा उपचार भैरहेको नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो ।

यस्तै वाणगंगा पछि कपिलवस्तु नगरपालिकामा २ सय ५२ जना सक्रिय संक्रमित छन् । बुद्धभूमि नगरपालिकामा १ सय ८२ जना छन् भने शिवराज नगरपालिकामा १ सय ६२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेले जानकारी दिनुभयो ।

अहिले सबैभन्दा कम महाराजगञ्ज नगरपालिकामा ११ जना सक्रिय संक्रमित छन भने भारतीय सीमावर्ती विजयनगर गाउँपालिकामा १५ जना संक्रमित छन् । यस्तै भारतीय सीमावर्ती मायादेवी गाउँपालिकामा २१ जना, यशोधरा गाउँपालिकामा ३८ जना संक्रमित रहेका छन् । कृष्णनगर नगरपालिकामा ७८ जनामा संक्रमण पुष्टि भएको छ ।

मृतकको संख्या कपिलवस्तु नगरपालिकामा धेरै

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी कपिलवस्तु नगरपालिकामा मृतककोृ संख्या छ । यहाँ पुरुष २८ र महिला १५ गरी ४३ जनाले ज्यान गुमाएका छन् । यस्तै बुद्धभूमि नगरपालिकामा पुरुष १६ र महिला ८ गरी २ जनाले ज्यान गुमाएका छन् ।

वाणगंगा नगरपालिकामा पुरुष १८ र महिला ४ गरी २२ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अहिलेसम्म महाराजगञ्ज नगरपालिकामा २ जना पुरुषले मात्र ज्यान गुमाएका छन भने शुद्धोधन गाउँपालिकामा एक जना पुरुष र एक जना महिला गरी २ जनाले ज्यान गुमाएका छन् ।

शिवराज नगरपालिकामा पुरुष १० र महिला ५ गरी १५ जना, कृष्णनगर नगरपालिकामा पुरुष ९ र महिला २ गरी ११ जना, यशोधरा गाउँपालिकामा पुरुष ५ र महिला २ गरी ७ जना र मायादेवी गाउँपालिकामा पुरुष २ र महिला ४ गरी ६ जना संक्रमित ज्यान गुमाएका छन् ।

यी १० स्थानीय तह गरी अहिलेसम्म कपिलवस्तुमा १ सय ३७ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । जसमध्ये १ सय जना ५ जनाको यही बैशाख ९ देखि जेष्ठ ४ गतेसम्म निधन भएको हो । पहिलो लहरमा भन्दा दोस्रो लहरमा मृतकको संख्या जिल्लामा उलेख्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्