बाणगंगा, साउन २०।
जग्गा खरिद गर्ने तयारीमा रहेका सर्वसाधारणलाई बाणगंगा नगरपालिकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । पछिल्लो समय नगर क्षेत्रमा जग्गाको स्वामित्व, नक्सा, बाटो र वर्गीकरणसम्बन्धी समस्या देखिन थालेपछि नगरपालिकाले सार्वजनिक अपिल जारी गर्दै कानुनी प्रक्रिया पूरा नगरी गरिने जग्गा कारोबार जोखिमपूर्ण हुने चेतावनी दिएको हो ।
नगरपालिकाको भूमि शाखाले बुधबार जारी गरेको सूचनामा वास्तविक जग्गाधनीको जानकारीबिनै अन्य व्यक्तिले जग्गा बिक्री गर्ने प्रयास, सार्वजनिक बाटो तथा संरचना मिचेर गरिने प्लटिङ, नापी नक्सा र वास्तविक फिल्ड अवस्थाबीच देखिने फरक तथा सरकारी र सार्वजनिक जग्गालाई निजी भन्दै कारोबार गर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गरिएको छ ।
नगरपालिकाका अनुसार पछिल्लो समय जग्गाको आकर्षण बढेसँगै कतिपय स्थानमा मापदण्डविपरीत प्लटिङ गर्ने, बाटोको अवस्था लुकाउने र भविष्यमा विवाद सिर्जना हुने गरी कारोबार गर्ने गतिविधि देखिएका छन्। यस्ता कारोबारले सर्वसाधारण लगानीकर्ता मात्र होइन, स्थानीय पूर्वाधार व्यवस्थापनमा समेत चुनौती थप्ने देखिएको छ ।
नगरपालिकाले जग्गा खरिद गर्नुअघि केही आधारभूत विषय अनिवार्य रूपमा जाँच गर्न आग्रह गरेको छ । जसमा जग्गाको वास्तविक स्वामित्व, कित्ता नम्बर, नापी नक्सा, फिल्ड अवस्था, सार्वजनिक बाटो, कुलो, खोल्सा, सडकको ‘राइट अफ वे’, उच्च भोल्टेज विद्युत् लाइनको अवस्था तथा सरकारी वा सार्वजनिक जग्गासँगको सम्बन्ध प्रमुख छन् ।
विशेषगरी पोखरी, दलदल, खोल्सा, गहिरो खाल्डो वा पानीको प्राकृतिक बहाव क्षेत्र पुरेर तयार पारिएका जग्गामा भविष्यमा भौतिक तथा कानुनी समस्या आउन सक्ने भन्दै नगरपालिकाले त्यस्ता स्थानमा थप सावधानी अपनाउन आग्रह गरेको छ ।
सूचनामा आवास, कृषि वा व्यावसायिक प्रयोजनका लागि खरिद गरिने जग्गा नगरपालिकाको भू–उपयोग वर्गीकरणअनुसार भए–नभएको, निर्माण भएको घरको नक्सापास स्थिति, लालपुर्जा, नक्सा र वास्तविक क्षेत्रफलबीचको एकरूपता तथा कुनै किसिमको सीमा विवाद भए–नभएको यकिन गर्नुपर्ने उल्लेख छ ।
सरकारी जग्गा निजी भन्दै कारोबार गर्ने जोखिम
नगरपालिकाले ऐलानी, प्रति, गोचर तथा अन्य सरकारी वा सार्वजनिक जग्गा निजी भन्दै किनबेच गर्नु गैरकानुनी हुने स्पष्ट पारेको छ । यस्ता जग्गाको कारोबारमा संलग्न हुने व्यक्ति भविष्यमा कानुनी झमेलामा पर्न सक्ने भएकाले प्रमाणित विवरणबिना कुनै पनि निर्णय नगर्न आग्रह गरिएको छ ।
भूमि विज्ञहरूका अनुसार जग्गा खरिद गर्दा केवल लालपुर्जा हेरेर मात्र पुग्दैन । जग्गाको कानुनी हैसियत, भौगोलिक अवस्था, पहुँच मार्ग र भविष्यको उपयोग सम्भावनासमेत अध्ययन गर्न आवश्यक हुन्छ। नापी, मालपोत र स्थानीय तहका अभिलेखबीच मिलान नगरी गरिने कारोबारले वर्षौंसम्म विवाद निम्त्याउन सक्छ ।
नगरपालिकाको अपिल : ‘पहिले प्रमाणित गर्नुहोस्, अनि मात्रै लगानी गर्नुहोस्’
बाणगंगा नगरपालिकाले जग्गा खरिदकर्तालाई नगरपालिका, नापी कार्यालय र मालपोत कार्यालयबाट आवश्यक विवरण प्रमाणित गरेर मात्र अन्तिम निर्णय लिन आग्रह गरेको छ ।
नगरपालिकाले सुरक्षित र कानुनी जग्गा कारोबारका लागि नागरिक स्वयं सचेत हुनुपर्ने उल्लेख गर्दै भनेको छ-“हतारमा गरिएको जग्गा खरिद भविष्यमा ठूलो आर्थिक र कानुनी समस्याको कारण बन्न सक्छ, त्यसैले सबै पक्ष यकिन गरेर मात्र कारोबार गर्नुहोस् ।”
जग्गाको मूल्य बढ्दै गएको अवस्थामा कानुनी प्रक्रिया र प्रमाणिकरणलाई बेवास्ता गर्दा सर्वसाधारणको ठूलो लगानी जोखिममा पर्न सक्ने भएकाले नगरपालिकाको यो चेतावनीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।




