अर्घाखाँचीमा चालक–सहचालकका लागि निःशुल्क स्वास्थ्य परीक्षण सुरु, भाडा दरसूची अनिवार्य राख्न निर्देशन


पालिका पत्र

5 August, 2026 8:37 pm मा प्रकाशित

अर्घाखाँची, साउन २० ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डमा सञ्चालन हुने सार्वजनिक सवारीका चालक तथा सहचालकका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरेको छ ।

शितगंगा नगरपालिकाको सहयोग तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीको व्यवस्थापनमा शितगंगा नगरपालिका–३ ठाडाबाट कार्यक्रम शुभारम्भ गरिएको हो । ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक लिलबहादुर कुँवरका अनुसार ठाडामा तीन दिनसम्म स्वास्थ्य परीक्षण सञ्चालन गरिनेछ । त्यसपछि कार्यक्रम सन्धिखर्कसहित जिल्लाका अन्य स्थानमा पनि विस्तार गरिने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले सार्वजनिक सवारी चालकहरूले यात्रुको समयको सम्मान गर्दै जिम्मेवारीपूर्वक सेवा दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले केही सवारी साधनबाट यात्रुसँग मनपरी भाडा असुल्ने गुनासो प्राप्त भइरहेको उल्लेख गर्दै सबै सवारी सञ्चालन समितिलाई सवारी साधनमा अनिवार्य रूपमा भाडा दरसूची टाँस्न निर्देशन दिनुभयो। निर्देशनको पालना नगरे कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि उहाँले दिनुभयो ।

कार्यक्रममा ट्राफिक प्रहरी, स्थानीय जनप्रतिनिधि, विभिन्न सवारी सञ्चालन समितिका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

ट्राफिक प्रहरीले चालक तथा सहचालकको नियमित स्वास्थ्य परीक्षणले सुरक्षित, जिम्मेवार र दुर्घटनारहित यातायात सेवा प्रवाहमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्