तिलोत्तमाको अभियान : हरेक वर्ष ५० हजार बृक्षरोपण,फलफूलका विरुवामा ५० प्रतिशत अनुदान


appharu

१० असार २०७८, बिहीबार ०९:०२ मा प्रकाशित

पालिका पत्र / तिलोत्तमा ।
ग्रीन तिलोत्तमा : क्लिन तिलोत्तमा अभियान चलाएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनुदानमा फलफूलका विरुवा वितरण सुरु गरेको छ । हरेक वर्ष ५० हजार विरुवा रोप्ने नीति लिएको तिलोत्तमामा चालु आर्थिक वर्षमा २० हजार फलफूल र ३० हजार वनस्पतिजन्य विरुवा रोप्ने योजना छ । विरुवा रोपणमा नगरबासीलाई प्रोत्साहन गर्न नगरपालिकाले फलफूलका विरुवामा ५० प्रतिशत अनुदान दिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।

नगरपालिकाले २०७७ चैत २४ र २०७८ वैशाख ७ गते सार्वजनिक सूचना प्रकाशित गरी नगरबासीसँग फलफूलका विरुवाको लगत माग गरेकोमा सोही मागअनुसार फलफूलका विरुवामा अनुदान दिइएको जनाएको छ । नगरपालिकाले आँप, लिची, कटहर, कागती, अनार, एभोकाडो, ड्रागन फ्रुट, मेवा, अम्बा, अमलालगायतका फलफूलका विरुवामा अनुदान उपलब्ध गराएको हो । नगरपालिकाले वनस्पतिजन्य विरुवा भने निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

तिलोत्तमा नगरपालिकाले नगर सरसफाई र हरियाली प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ । सोही अनुसार यो वर्ष पनि वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिइएको नगर प्रमुख घिमिरेले बताए । पर्यावरण संरक्षण अहिलेको अपरिहार्य आवश्यकता भएको बताउँदै उहाँले वनस्पतिजन्य विरुवा रोपणमा विभिन्न संघ संस्था, सामुदायिक वन, पार्कसँग सहकार्य गरिएको बताए ।
फलफूलका विरुवा रोपणले एकातिर हरियाली प्रवद्र्धन हुने र अर्कोतिर फलफूलको उपलब्धतालाई बढाईं नगरबासीको स्वास्थ्यमा टेवा पु¥याउने भएकाले अनुदानको व्यवस्था मिलाइएको नगर उपप्रमुख जागेश्वरीदेवी चौधरीले बताइन् । रोपिएका विरुवाको उचित हेरचाह गर्न नगरपालिकाले सबैमा अपील गरेको छ । तिलोत्तमाले सडक किनारमा वृक्षरोपण गर्ने, घरनक्सा पास गर्दा पाँच विरुवा अनिवार्य रोपणदेखि जन्म दिनमा कम्तिमा एउटा विरुवा रोप्न नगरबासीलाई आह्वान गर्नेलगायतका हरियाली प्रवद्र्धनका काम गर्दै आएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्