सैनामैना नगरपालिकाको वजेट १ अर्ब २२ करोड


appharu

१० असार २०७८, बिहीबार १७:२४ मा प्रकाशित

पालिका पत्र, सैनामैना ।
रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ लागि १ अर्ब २२ करोड १९ लाख ४३ हजार ३४१ रुपैयाको बजेट प्रस्तुत गरेको छ ।

नवौं नगरसभाको तेस्रो वैठकमा सैनामैना नगरपालिका उप-प्रमुख विना रानाले कोरोना जोखिम नियन्त्रण र न्यूनिकरण,अधुरा आयोजनालाई पूर्णता, कृषि, पूर्वाधार विकास, पर्यटन र शिक्षा क्षेत्रलाई प्राथमिकता दिंदै वजेट सार्वजनिक गरेकी हुन् ।

प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ ५१ करोड ४८ लाख ५५ हजार विनियोजन भएको छ भने पुँजीगततर्फ ७० करोड ७१ लख २८ हजार ३४१ रुपैया विनियोजन गरिएको छ ।

त्यसैगरी आगामी आर्थिक वर्षका लागि अनमुान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये संघीय सरकारबाट अनुदान ९१ करोड ३८ लाख २ हजार, प्रदेश सरकारबाट ६ करोड ४१ लाख ३३ हजार ७ सय ४४, आन्तरिक श्रोतबाट आ.व. २०७७/७८ बाट मौजदात बाँक रकम सहित २४ करोड ४० लाख ७ हजार ५ सय ६७ रुपियाँ आम्दानी हुने अनमुान गरिएको छ ।

पुँजीगत खर्चमध्ये वडा नंं १ को लागि ७८ लाख ७९ हजार ७ सय ८३, वडा नं. २ को लागि ३८ लाख ३१ हजार ६ सय ४०, वडा नं. ३ को लागि ४१ लाख ३७ हजार ८ सय ४१, वडा नं.४ को लागि ५१ लाख ३५ हजार ६ सय ९६, वडा नं. ५ को लागि ५४ लाख ७२ हजार, ९ सय ३१, वडा नं. ६ को लागि ६१ लाख ८८ हजार ९ सय ५६ विनियोजन गरिएको छ ।

त्यसैगरी वडा नं.७ को लागि ४१ लाख ३१ हजार ३ सय २७, वडा नं. ८ को लागि ३२ लाख ५३ हजार २ सय ५०, वडा नं. ९ को लागि ५२ लाख २४ हजार ४ सय ७३, वडा नं. १० को लागि ६३ लाख ५९ हजार ७ सय ५५ र वडा नं. ११ को लागि ५३ लाख ८४ हजार ३ सय ४७ गरी जम्मा ५ करोड ७० लाख विनियोजन गरिएको छ ।

प्रस्तुत बजेटमा कोरोना रोकथाम तथा नियन्त्रण कोषमा १ करोड विनियोजन गरिएको छ भने फोहोरमैला व्यवस्थापन कोषमा ५० लाख विनियोजन गरिएको छ । त्यसैगरी स्वास्थ्य र सरसफाई क्षेत्रको लागि १० करोड ५० लाख ७२ हजार विनियोजन गरिएको छ । संस्कृति तथा पर्यटन क्षेत्रमा ६ करोड ४७ लाख छुट्याइएको छ ।

कृषि तथा पशु विकासतर्फ २ करोड ५६ लाख, १६ हजार रकम विनियोजन भएको छ । बजेटमा पर्रोहा परमेश्वर बोलबाध धाम मन्दिर निर्माणका १ करोड २ लाख र लागत साझेदारी सहित कूल ५ करोड ९२ लाख छुट्टाइएको छ ।

पर्रोहा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरि मुर्गियामा विशेषज्ञ सेवा, अत्याधुनिक उपकरण र सुविधा सहितको १५ शैयाको आधारभुत अस्पतालको निर्माण सम्पन्न गर्न ५ करोड बजेट व्यवस्था गरिएको छ । त्यसैगरी कोभिडका कारण भौतिक रुपमा स्कुलबाट अध्ययन अध्यापन बन्द रहेकोले बैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न १० लाख विनियोजन गरिएको छ ।

ज्येष्ठ नागरिक, अपांग, महिला र बालबालिकाको क्षेत्रमा ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।त्यसैगरी एक शिक्षक एक ल्यापटप कार्यक्रम संचालनको लागि ५० लाख विनियोजन गरिएको छ । शिक्षकलाई सूचना प्रविधि मैत्री वनाउको लागि प्रविधिमैत्री दक्ष शिक्षकहरुबाट अन्य शिक्षकहरुमा सीप हस्तान्तरण गर्ने व्यवस्था मिलाउन ९ लाख विनियोजन भएको छ ।

सालझण्डीस्थित वनकट्टी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालन गर्न ५ लाख, गर्भवती तथा सुत्केरी पोषण कोशेली कार्यक्रमको लागि ३ लाख, जेष्ठ नागरिकको घरमा स्वास्थ्य सेवा कार्यक्रमको लागि २ लाख, हेलो आमा कार्यक्रम मार्फत जेष्ठ नागरिक, गर्भवती, सुत्केरी आमाहरुलाई सुरक्षित स्वास्थ्य तथा परामर्श सेवा प्रदान गर्न १ लाख ५० हजार विनियोजन भएको छ ।

महिलासंग उपप्रमुख कार्यक्रमबाट महिलाहरूको स्तन क्यान्सर रोकथाम तथा नियन्त्रण गर्न स्तन क्यान्सर शिविर र पाठेघरको मुखको क्यान्सर शिविर सञ्चालन गरिने बजेटमा उल्लेख छ ।

महिला स्वास्थ्य स्वयंसेविकाहरुले गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य वीमा गर्न १ लाख ४२ हजार विनियोजन भएको छ भने महिला स्वास्थ्य स्वयंसेविकाको कामलाई थप जिम्मेवार र उत्तरदायी बनाउन कार्यसम्पादनको आधारमा प्रोत्साहन गर्न महिला स्वास्थ्य स्वयंसेविका अक्षय कोषमा १ लाख थप रकम विनियोजन भएको छ ।

हाल सञ्चालनमा रहेका शहरी स्वास्थ्य केन्द्रलाई व्यवस्थित गराउन १४ लाख ९६ हजार, सरसफाईमा उत्कृष्ट कार्य गर्ने टोल विकास संस्थालाई पुरस्कृत गर्ने तथा फोहोरमैला व्यवस्थापन कोषमा ५० लाख विनियोजन गरिएको छ ।

स्वास्थ्य र सरसफाई क्षेत्रको लागि कुल रु. १० करोड ५० लाख ७२ हजार विनियोजन भएको छ । सवै विद्यालयहरुलाई एकै किसिमको रंगरोगन गर्न १० लाख विनियोजन भएको छ । विद्यालयमा अध्ययनरत सवै छात्राहरुलाई आवश्यक पर्ने सेनेटरी प्याड निःशुल्क उपलव्ध गराउन ३७ लाख ५७ हजार बजेट व्यवस्थापन भएको छ । यस्तै कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा खुवाउन १ करोड ७७ लाख विनियोजन भएको छ ।
नमूना विद्यालय तथा विद्यालय पुर्वाधार कार्यक्रमका लागि ४ करोड १२ लाख रुपैयां विनियोजन भएको छ ।

यस्तै खेलकुद क्षेत्रमा नगर खेलकुद विकास समितिमार्फत एकद्वार प्रणालीबाट खर्च गर्ने गरी ४७ लाख, लागत सहभागितामा वडा नंं २,६ र ११ मा खुला ब्यायामशाला बनाउन १० लाखका दरले ३० लाख विनियोजन गरिएको छ । शिक्षा,युवा तथा खेलकुदका लागि कूल २३ करोड ६१ लाख रुपैयां वेट विनियोजन भएको छ ।

त्यसैगरी थारु समुदायको मन्दिर (डिउहार) निर्माण, भड्छा महोत्सव, बौद्ध गुम्बा निर्माण, औद्योगिक प्रदर्शनी महात्सवे, आदिबासी जनजाति महोत्सव र पार्क निर्माणको लागि ५१ लाख बजेट विनियोजन भएको छ । पूर्वाधार विकासतर्फ कूल २९ करोड ३३ लाख ४४ हजार रकम विनियोजन भएको छ । नगरका वडा नंं १,२,४ र ५ को भवन बनाउन ४ करोड ८४ लाख वजेट विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्