सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले नियन्त्रणमा लिएको दाबी गरिएको छ।
स्रोतका अनुसार पार्टीको निर्वाचन समीक्षा तथा पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका पौडेललाई वीरेन्द्रनगरस्थित एक होटलबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याउने तयारी गरिएको छ। उनीमाथि सेयर कारोबार, सम्पत्तिको स्रोत तथा विगतमा चर्चामा आएको ललिता निवास जग्गा प्रकरणसँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको सरकारी पक्षको दाबी रहेको बताइएको छ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलमा चलिरहेको कार्यक्रममा प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको स्रोतहरूले जनाएका छन्। यद्यपि पक्राउको कारण र अनुसन्धानको प्रकृतिबारे सम्बन्धित निकायले औपचारिक जानकारी सार्वजनिक गरेको छैन।
यसबीच सरकारले २०६३ सालपछि सार्वजनिक पदमा रहेका पूर्वकर्मचारी, राजनीतिज्ञ तथा अन्य व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन गरेको छ। आयोगले सम्पत्ति विवरण बुझाउने समयसीमा थप गरेको सन्दर्भमा पौडेलमाथिको अनुसन्धानलाई चासोका साथ हेरिएको छ।
स्रोतहरूका अनुसार पौडेलका परिवारसँग जोडिएको ललिता निवास जग्गा प्रकरणका केही पक्षहरू पुनः अनुसन्धानको दायरामा ल्याउने तयारी भइरहेको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि यसबारे आधिकारिक पुष्टि हुन बाँकी छ।
पौडेल नियन्त्रणमा परेपछि अनुसन्धान टोलीले ललितपुरको भैँसेपाटीस्थित उनको निवासमा समेत आवश्यक कागजात तथा प्रमाण संकलनका लागि खोजतलास गरेको बताइएको छ।
यस्तै, सम्पत्ति शुद्धीकरण, बैंकिङ, बिमा तथा धितोपत्रसम्बन्धी विभिन्न मुद्दामा अनुसन्धानको दायरामा रहेका केही व्यवसायीहरूसँगको सम्बन्धबारे पनि अनुसन्धान केन्द्रित हुन सक्ने स्रोतहरूको दाबी छ। तर यी विषयमा सम्बन्धित निकायबाट कुनै औपचारिक धारणा सार्वजनिक भएको छैन।
घटनाबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल प्रहरी तथा नेकपा एमालेले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेपछि थप विवरण आउने अपेक्षा गरिएको छ।


