अर्घाखाँची, असार ८ । शितगंगा नगरपालिकाले आर्थिक वर्ष २०८३ ०८४ का लागि ९६ करोड १ लाख ९५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरसभाको १९औँ अधिवेशन अन्तर्गत सोमबार सम्पन्न दोस्रो बैठकमा नगर उपप्रमुख गीता भाटले वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो ।
नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा सडक पूर्वाधार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, सामाजिक विकास तथा सुशासनलाई प्राथमिकतामा राखेको जनाएको छ। बजेटको मूल नारा “आधुनिक कृषि र पर्यटकीय क्षेत्रको स्थापना, समुन्नत शितगंगा हाम्रो चाहना” तय गरिएको छ ।
उपप्रमुख भाटले प्रस्तुत गर्नुभएको बजेट अनुसार नगर गौरव तथा वडा गौरवका सडक निर्माण, स्तरोन्नति र मर्मतका लागि १५ करोड ७९ लाख ३५ हजार रुपैयाँ विनियोजन गरिएको छ। त्यसमध्ये विभिन्न प्राथमिकताप्राप्त सडक आयोजनाका लागि मात्रै १२ करोड १९ लाख रुपैयाँ छुट्याइएको छ ।
खानेपानी क्षेत्रका योजनाका लागि २ करोड १० लाख ६० हजार रुपैयाँ तथा सिंचाइ क्षेत्रको विकासका लागि ३ करोड ४३ लाख ४५ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।

आर्थिक विकासतर्फ कृषि तथा पशु विकास कार्यक्रम सञ्चालन गर्न १ करोड ३० लाख ७७ हजार रुपैयाँ विनियोजन गरिएको छ। कृषि उत्पादन वृद्धि, मौसमी तथा बेमौसमी तरकारी खेती, मौरीपालन, कफी, अदुवा, बेसार, केरा तथा अन्य नगदे बालीको व्यवसायिक उत्पादनलाई प्रोत्साहन गर्ने योजना नगरपालिकाले अघि सारेको छ ।
पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक सम्पदा संरक्षणका लागि १ करोड १० लाख २५ हजार रुपैयाँ बजेट छुट्याइएको छ । सुपा देउराली, डमरुदह, बाणगंगा धाम, अमिता पार्क तथा शिव महादेव गुफालगायत धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासलाई प्राथमिकता दिइएको छ ।
सामाजिक विकासतर्फ महिला, दलित, अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति, युवा तथा ज्येष्ठ नागरिक लक्षित कार्यक्रमका लागि ८५ लाख ५९ हजार रुपैयाँ विनियोजन गरिएको छ । युवाको उद्यमशीलता विकास, क्षमता अभिवृद्धि तथा खेलकुद गतिविधिका लागि थप ५८ लाख १५ हजार रुपैयाँ बजेट व्यवस्था गरिएको छ ।
शिक्षा क्षेत्र सुधारअन्तर्गत कक्षा १२ सम्मको निःशुल्क शिक्षा कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । यसका लागि १६ लाख रुपैयाँ विनियोजन गरिएको छ । स्थानीय पाठ्यक्रमका पाठ्यपुस्तक निःशुल्क वितरण गर्ने कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ । साथै नगरभित्रका विद्यालय कर्मचारी, बालविकास सहजकर्ता तथा लेखापालहरूको तलबमा १० प्रतिशत वृद्धि गर्ने व्यवस्था गरिएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा कुल ९६ करोड १ लाख ९५ हजार रुपैयाँ आय हुने अनुमान गरेको छ । अनुमानित आयमध्ये संघीय सरकारबाट विभिन्न शीर्षकमा ८१ करोडभन्दा बढी, प्रदेश सरकारबाट ५ करोड ५२ लाख रुपैयाँ, आन्तरिक राजस्वबाट ६ करोड ५० लाख ४५ हजार रुपैयाँ तथा चालु आर्थिक वर्षको बचतबाट १ करोड ५० लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। बजेट संघीय तथा प्रदेश अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय र बचत रकमबाट व्यवस्थापन गरिने जनाइएको छ ।
नगरपालिकाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति, सेवा प्रवाह सुधार, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र वितरण र सुरक्षित आवास कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने जनाएको छ ।
नगर प्रमुख छविलाल पौडेलको अध्यक्षतामा सम्पन्न नगरसभामा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, नगर प्रवक्ता दामोदर न्यौपाने, कार्यपालिका सदस्य, वडा अध्यक्ष, नगरसभा सदस्य, कर्मचारी, पत्रकार तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
बजेटमाथि छलफलपछि नगरसभाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट पारित गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ ।


