अर्घाखाँचीका ६ स्थानीय तहले ल्याए ४ अर्ब ७० करोडको बजेट


appharu

११ असार २०७८, शुक्रबार १९:४६ मा प्रकाशित

विष्णु कुमार आले/अर्घाखाँची ।
अर्घाखाँचीका तीन नगरपालिका र तीन गाउँपालिकाले २०७८/०७९ का लागि ४ अर्ब ७० करोड ५१ लाख बढी बजेट सार्बजनिक गरेका छन् । शितगंगा नगरपालिका, सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, पाणिनी गाउँपालिका, मालारानी गाउँपालिका र छत्रदेव गाउँपालिकाले उक्त बजेट सार्बजनिक गरेका हुन् । जिल्लाका ६ ओटै स्थानीय तहले कोभिड १९ नियन्त्रणलाई पहिलो प्राथमिकता दिएर बजेट पारित गरेका छन् ।

सन्धिखर्क नगरपालिकाको बजेट

सन्धिखर्क नगरपालिकाले नगर प्रमुख खुत्रुके बचत योजना, उप–प्रमुख संचार प्रबर्द्धन योजना, डिजिटल कारोबार ब्यबस्था जस्ता महत्वाकांक्षी योजना सहित आर्थिक बर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ । कोरोना नियन्त्रण, कृषि, पशुपालन, स्वास्थ्य र पर्यटनलाई प्राथमिकतामा राखेर नगरले नीति तथा कार्यक्रम र बजेट सार्बजनिक गरेको हो ।

नगरपालिकाले नगर सभाबाट ९८ करोड ५० लाख रुपैयाँ विभिन्न शिर्षकमा विनियोजन गरेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए । नगर उप–प्रमुख ठाकुर कुमार विकले बजेट प्रस्तुत गर्दै सन्धिखर्क नगरपालिकाले पारित गरेका नीति तथा कार्यक्रमहरुमा कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन पूर्वाधार जस्ता योजनाहरु समेटिएको बताए । प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा एक वडा, एक पकेट कृषि बाली विकास कार्यक्रम, एक वडा, एक कृषि प्राविधिक, कृषि उत्पादन भण्डारणको ब्यबस्था, उचित बजार मुल्य, नगरभित्र रहेका धार्मिक साँस्कृतिक पर्यटकीय स्थलहरुलाई प्राथमिकता दिने उल्लेख छ ।

कोभिड-१९ को खोप खरिदको लागि बजेट बिनियोजन गर्दै स्वास्थ्यकर्मी तथा नागरिकको सेवा सुबिधालाई निरन्तरता दिने जनाइएको छ ।
कोभिडका कारणले अभिभावक गुमाएका सामुदायिक विद्यालयका लागि छात्रवृत्ति प्रदान गर्ने, सामुदायिक विद्यालय तथा प्राविधिक शिक्षामा अध्यनरत दलित बिपन्न विद्यार्थीको लागि २५ प्रतिशत छात्रवृत्ति दिने कार्यक्रम पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सडकको स्तरउन्नती, पुल, झोलुङ्गे पुल तर्फ संघिय र प्रदेश सरकारसँग समन्वय गर्ने जनाइएको छ ।

खेलकुदको बिकासका लागि बार्दी खेल मैदान र अर्घा खेल मैदानको उचित बिकास गर्दै खेल र खेलाडीहरुलाई प्रोत्साहन गरिने कार्यक्रममा उल्लेख छ । सन्धिखर्क नगरपालिकालाई ग्रिन सिटी नगरको रुपमा चिनाउन एक कर्मचारी एक विरुवा, एक जनप्रनिनिधि दुई विरुवा लगाउने अभियान चलाउने भएको छ । व्यवसायीलाई घर बहाल कर छुट, व्यवसाय कर छुट दिने नगरपालिकाले जनाएको छ ।

एकल पुरुषलाई पनि भत्ताः शितगंगा नगरपालिका

शितगंगा नगरपालिकाले ४० बर्ष पूरा गरेका एकल पुरूषलाई मासिक भत्ता दिईने नौलो योजनासहित आर्थिक बर्ष २०७८/०७९ को निति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । आगामी आर्थिक बर्षका लागि ८० करोड ९० लाख बराबरको बजेट प्रस्तुत गरेको नगर प्रमुख सुर्य प्रसाद अधिकारीले बताए ।

आगामी बर्ष चालु तर्फ ४४ करोड ६५ लाख र पुँजीगत तर्फ ३६ करोड २४ लाख बराबरको बजेट प्रस्तुत गरिएको छ । नगरसभाले करिव १ हजार योजनाहरु पास गरेको छ । नगरपालिकाले कृषि, सडक, स्वास्थ्यलाई प्राथमिकता दिने गरि बजेट ल्याएको छ ।

नीति तथा कार्यक्रममा खानेपानीको पाईप र तटबन्धनका लागि जालि खरिदका लागि यो आर्थिक बर्षमा बढि बजेट विनियोजन गरेको छ । नीति तथा कार्यक्रममा खानेपानीको बिद्युत महसुलमा ७५ प्रतिशत अनुदान नगरपालिकाले दिने गरि बजेट प्रस्तुत गरिएको छ । जनताको आर्थिक भार कम गर्न बिद्युुत महसुल नगरपालिकाले तिर्ने गरि बजेट ल्याईएको उप–प्रमुख टीका रेश्मीमगरले बताए ।

यस्तै आगामी आर्थिक बर्षको बजेटमा एकल पुरुष र महिलालाई पनि भत्ता दिने गरि बजेट ल्याइएको छ । ३५ बर्ष पुगेका अविवाहित महिला र ४० बर्ष पुगेका एकल पुरुषहरुलाई पनि नगरले मासिक भत्ताको ब्यवस्था गर्ने भएको हो । तर त्यस्ता नागरिकलाई मासिक कति रकम भत्ता उपलब्ध गराउने भन्ने बारे उल्लेख गरिएको छैन ।

यस्तै नगरपालिकाले ‘ग’ वर्गका अपाङगता भएका ब्यतिहरुको आत्मबल बढाउन उनिहरुलाई पनि मासिक भत्ताको ब्यवस्था गरेको जनाएको छ ।

भौगोलिक दृष्टिकोणमा ६ सय ३० बर्ग किलोमिटरमा फैलिएको नेपालकै ठूलो नगरपालीका भएपनि नेपाल सरकारले १ सय भन्दा कम क्षेत्रफल भएको अन्य नगरपालीकाको तुलनामा बजेट पठाउँदा बिकासको गति अगाडि बढ्न नसकेको नगरप्रमुख अधिकारीको भनाई छ । तर अहिलेसम्म अनुदान प्राप्त बजेट समुन्द्रमा खहरेखोला मिसिए जस्तै तितरवितर पारिको र एकीकरण बिकासमा जोड नदिएका कारण बिकास हुन नसकेको सरोकारवाला बताउँछन् ।

भूमिकास्थान नगरपालिकाः शिक्षा र पर्यटनलाई प्राथमिकता

जिल्लाको भूमिकास्थान नगरपालिकाले नवौँ नगरसभामा निती तथा कार्यक्रम प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को लागि नगर सभाले ८० करोड २७ लाख ६३ हजार बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख रेशम थापाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने नगर उप प्रमुख खडानन्द बेल्बासेले बजेट प्रस्तुत गरेका थिए ।

नगरपालिकाले पारित गरेका नीति तथा कार्यक्रमहरुमा कृषि , स्वास्थ्य, सडक, शिक्षा , पर्यटन पुर्वाधार जस्ता योजनाहरु समेटिएको छ ।
यस्तै स्वास्थ्य तर्फ कोभिड खोप खरिदको लागि बजेट बिनियोजन गर्दै स्वास्थ्यकर्मी तथा नागरिकको सेवा सुविधामा निरन्तरता दिने उल्लेख छ ।

शिक्षा स्वास्थ्यलाई प्राथमिकताः छत्रदेव गाउँपालिका

जिल्लाको छत्रदेब गाउँपालिकाले पनि आर्थिक बर्ष २०७८/७९ को लागि ६७ करोड ५१ लाख ७७ हजार बराबरको बजेट प्रस्तुत गरेको गाउँपालिकी उपाध्यक्ष तुल्सादेबी श्रेष्ठले जानकारी दिईन् ।

गाउँपालिकामा स्वास्थ्यमा १ करोड ७९ लाख, शिक्षामा ८८ लाख ,खानेपानीमा १ करोड ६९ लाख कृषि र पशुपालनमा ९२ लाख, साँस्कृतिक र पर्यटन क्षेत्रमा १ करोड ८४ लाख बजेट बिनियोजन गरेको छ ।

गाउँपालिकाले बल्कोट अस्पताल र स्वास्थ्य चौकी सामुदायिक स्वास्थ्य इकाईको सेवालाई गुणस्तरिय बनाउने, जनताको लिफ्टिङ खानेपानी आयोजनाको ३३ प्रतिशत विद्युत महसुल पालिकाले तिर्ने, एक घर एक धारा अभियानलाई निरन्तरता दिने गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेलले बताए ।

बाँदर, बँदेललाई नियन्त्रण गर्ने उद्देश्यले जङ्गलमा फलफूल खेती गर्ने र सामुदायिक वनमा जडीबुटी लगाउने जस्ता कार्यक्रम बजेटमा उल्लेख गरिएको छ ।

दलित र कुमाल बालबालिकाको शिक्षा विमाः पाणिनी गाउँपालिका
जिल्लाको पाणिनी गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । गाउँपालिकाका अध्यक्ष अच्युत गौतमद्वारा प्रस्तुत नीति तथा कार्यक्रमले पाणिनिको कृषि क्षेत्रलाई विशेष जोड दिएको छ ।

गाउँपालिकाको ११ औ गाउँ सभा तथा आर्थिक वर्ष २०७८÷०७९ को लागि गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतमले ६३ करोड़ बराबरको वजेट प्रस्तुत गरेकी हुन् ।

नीति तथा कार्यक्रम पेश गर्दै कृषकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले दुध उत्पादनका आधारमा दिइदै आएको अनुदानलाई निरन्तरता दिदैँ मासु तथा अण्डा उत्पादनको आधारमा पनि अनुदान दिने व्यवस्था मिलाएको गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले जानकारी दिए ।

कृषि तथा पशुपालन व्यवसायलाई समयानुकूल आधुनीकिकरण गर्दै लैजानेमा उक्त नीति तथा कार्यक्रम केन्द्रित रहेको उनले बताए । त्यस्तै पाणिनिका ऐतिहासिक एवम् धार्मिक स्थलहरुको प्रबर्द्धन र विकासमा जोड दिदै पाणिनीको पर्यटनमा विशेष ध्यान दिने कुरा कार्यक्रममा उल्लेख छ ।

पाणिनीको शैक्षिक पुर्वाधार विकास, शिक्षक, कर्मचारी तथा शिक्षक दरवन्दी मिलानजस्ता शैक्षिक क्षेत्रमा पनि विशेष पहल गरिने बताइएको छ ।
कोभिड १९ को असहज अवस्थाबाट सबै क्षेत्र अस्तव्यस्त भएको सन्दर्भमा त्यसलाई पुरानै अवस्थामा फर्काउन विशेष पहलकदमी गरिने,युवा स्वरोजगारजस्ता कार्यक्रमहरुलाइ सशक्त ढंगले अघि बढाइने भएको छ ।

त्यस्तै गाउँपालिकाभित्र रहेका सबै क्षेत्रमा सिचाईका आयोजनाहरु सञ्चालन गर्ने, जलाधार क्षेत्र पहिचान गरी संरक्षण गर्ने विषयलाई पनि निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

मालारानी गाउँपालिकाः २५ शैयाको अस्पताल निर्माणमा जोड

जिल्लाको मालारानी गाउँपालिकाको ११ औ गाउँ सभाले आर्थिक वर्ष २०७८/०७९ को लागी ८० करोड ३३ लाख २४ हजारको बजेट प्रस्तुत गरेको छ ।

आगामि २ बर्ष भित्र संघिय सरकारको समन्वयमा पालिका भित्र १५ सैयाको अस्प्ताल निर्माण कार्य सम्पन्न गर्ने गरि बजेटको व्यबस्था भएको पालिका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिए ।

यस्तै कोभिड अस्पताललाई स्तरउन्नती गरि अब देखी पालिका भित्र एक्सरे सेबा समेत सञ्चालनको अन्तीम तयारीमा रहेको समेत आचार्यले बताए । हेफर ईन्टरनेशन्लको सहकार्यमा गाउँमै स्वरोजगार हुने गरि कार्यक्रम तथा बजेटको व्यबस्था गरेको छ ।

पालिका कोरोना महामारी नियन्त्रण, कोरोनाका कारण रोजगारी गुमाएका नागरिकहरुलाई पालिकामा स्वरोजगार बनाउने जस्ता निती कार्यक्रमको प्रस्तुत भएको छ । पालिकाले एमबिबिएस, इन्जिनियर र कृषि भेटनरी अध्ययान गर्ने लक्षित बर्गलाई छात्रबृत्ति दिने गरि बजेट बिनियोजन गरेको छ ।

यस्तै कृषि भेटनरी र जेटिए अध्ययान गरेर बसेका व्यक्तिहरुलाई स्वरोजगार बनाउनको लागि बजेट बिनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत रमेश पन्थीले बताए । जनताको जनजिबिका संग प्रत्यक्ष सरोकार राख्ने गरि आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरिएको गाउँपालिकाकी उपाध्यक्ष प्रमिला क्षेत्रीले बताईन् ।

मालारानी गाउँपालिकाले ५ बर्षे आबधिक योजना समेत निर्माण गरेको छ । आगामी आर्थिक बर्षको निती तथा कार्यक्रमहरु सोही आबधिक योजना अनुसार आएको पालिकाका योजना अधिकृत नेत्रप्रसाद खनालले जानकारी दिए । प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, सडक, शिक्षा र खानेपानी योजना प्राथमिकतामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्