दाङका दुई उपमहानगरको बजेट साढे पाँच अर्ब बढि


appharu

११ असार २०७८, शुक्रबार १९:५६ मा प्रकाशित

दाङ ।
जिल्लाका १० वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि बिहीबार बजेट प्रस्तुत गरेका छन्। तुलसीपुरले तीन अर्ब बढि तथा र घोराही उपमहानगरले दुई अर्ब बढि बजेट सार्वजनिक गरेका छन्।

तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेको छ। नगरसभाको नवौं अधिवेशनको तेस्रो बैठकमा बिहीबार उपप्रमुख माया शर्माले ‘समृद्ध तुलसीपुर सबैका लागि, सधैँका लागि’ भन्ने मूल नाराका साथ आ अनुमानित तीन अर्ब ३९ करोड ९६ लाख १५ हजार रुपैयाँ बजेट सार्वजनिक गरिन्।

उनले स्वास्थ्य, कृषि, रोजगार, गरिबी निवारण तथा शिक्षालाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको बताइन्। आन्तरिक श्रोतबाट ६० करोड, संघीय सरकारबाट प्राप्त हुने अनुदान र बाँडफाँडबाट २ अर्ब १७ करोड ९६ लाख १५ हजार, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र बाँडफाँडबाट ९ करोड, ७८ लाख १९ हजार र अन्य संघ संस्थाहरूबाट प्राप्त रकम २ करोड २५ लाख समेत जम्मा आय २ अर्ब १७ करोड ९६ लाख १५ हजार आय हुन गई १ अर्ब २ करोड न्यून आय हुन गएको रकम मध्ये नगर विकास कोषको ऋण सहयोगबाट ४० करोड, आन्तरिक ऋण तथा बहुवर्षीय दायित्वबाट ६० करोड र आन्तरिक बचतबाट २ करोड पूर्ति गर्ने व्यवस्था गरिएको उनले बताइन्।

यस्तै पुँजीगततर्फ नगर र वडास्तरीय पूर्वाधार विकास र अन्य शसर्त कार्यक्रम तथा विकास निर्माणका लागि एक अर्ब ६२ करोड १६ लाख १६ हजारको अनुमानित बजेट विनियोजन गरिएको छ। यसैगरी सामाजिक सुरक्षा तर्फ ४० करोड बजेट विनियोजन गरिएको छ।

त्यसैगरी चालुतर्फ प्रशासनिक खर्च र अन्य सञ्चालन खर्च लगायत कार्यक्रम खर्च तर्फ १ अर्ब ३५ करोड ६९ लाख ९२ हजार विनियोजन गरिएको छ। वित्तिय खर्च तर्फ २ करोड १० लाख विनियोजन गरिएको छ। उल्लेखित बजेट आर्थिक वर्ष २०७७र७८ को विनियोजित बजेटको तुलनामा २५ प्रतिशत र २०७८ जेठ मसान्त सम्मको खर्चको तुलनामा ६० प्रतिशतले बढी रहेको छ।

त्यस्तै घोराही उपमहानगरपालिकाले दुई अर्ब २० करोड २८ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नवौँ नगरसभामा नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले पुँजीगततर्फ १ अर्ब ७ करोड २५ लाख ९५ हजार रुपैयाँ र चालुतर्फ १ अर्ब १३ करोड २ लाख ८३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन्।

उपमहानगरले सामाजिक विकास, आर्थिक र पूर्वाधार विकासलाई प्राथमिकता दिदै बजेट विनियोजन गरेको छ। शिक्षा, युवा तथा खेलकुद, जनस्वास्थ्य प्रबर्द्धन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक गरि सामाजिक विकास अन्तर्गत ६९ करोड ७२ लाख ६४ हजार रुपैयाँ विनियोजन गरेको छ।

स्वास्थ्यतर्फ जनस्वास्थ्य प्रवर्द्धनका लागि ११ करोड ४१ लाख, कोरोना सङ्क्रमितको उपचार, व्यवस्थापन र मृत्यु भएका परिवारलाई आर्थिक सहयोगका लागि १ करोड ८० लाख विनियोजन गरेको छ। त्यस्तै शिक्षातर्फ स्नातक तहका अन्तिम वर्षका जेहनदार विद्यार्थीलाई पेड इन्टर्नसिप कार्यक्रमका लागि १० लाख, युवा तथा खेलकुदका लागि २५ लाख, डाक्टर र इन्जिनियर पढाउनका लागि १६ लाख, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांग दलित, मुस्लिम, पीछडावर्ग, मुक्त कम्लरी, द्वन्द्व पीडितहरूको उत्थानका लागि १ करोड २० लाख रुपैयाँ विनियोजन भएको छ।

आर्थिक विकास अन्तर्गत ४ करोड ६० लाख ४ हजार रुपैयाँ विनियोजन भएको छ। पूर्वाधार विकासतर्फ सडक कालेपत्रे, ग्राभेल तथा बाटो स्तरउन्नतिका लागि ४६ करोड १० लाख, भवन निर्माणका साढे ५ करोड, सिँचाइका लागि ४ करोड ६५ लाख, पुल कल्भर्टमा २ करोड ४० लाख, पर्यटन पूवाधारतर्फ एक करोड ३४ लाख, विद्युत बिस्तारका लागि ९३ लाख रुपैयाँ विनियोजन भएको छ।

त्यसैगरी, सरसफाइतर्फ १ करोड ५ लाख ५० हजार, खरको छानो विस्थापितका लागि साढे २ करोड, विपद व्यवस्थापन कोषमा एक करोड, जोखिमयुक्त जलाशय तारबार, हरियाली प्रबर्द्धन, भूक्षय रोक्ने जस्ता कार्यक्रमका लागि ६ करोड ४८ लाख २५ हजार रुपैयाँ विनियोजन भएको छ।

त्यस्तै लमही नगरपालिकाले १ अर्ब ८ करोड बढीको तथा बंगलाचुली गाउँपालिकाले ६१ करोड २७ लाख ६६ हजारको बजेट विनियोजन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्