ओमसतिया गाउँपालिकामा ठूलो आर्थिक अनियमितताको आशंका, अनिश्चित बन्यो बजेट


appharu

१३ असार २०७८, आईतवार ०९:१८ मा प्रकाशित

पालिका पत्र, बुटवल ।

रुपन्देहीको ओमसतिया गाउँपालिकाको बजेट विवादले अर्कै रुप लिन थालेको छ । जनप्रतिनिधिबीच बजेट बाँडफाँडमा कुरो नमिलेपछि रोकिएको भए पनि अहिले आएर राजनैतिक दलले नै सुरुदेखिको हरहिसाब माग गरेपछि बजेट विवादले अर्कै मोड लिन गएको हो ।

गाउंपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा ऐन कानून विपरित करोडौंका योजनामा ठूलो आर्थिक अनियमितताको आशंका गर्दै गाउंपालिकामा क्रियाशील पांच राजनीतिक दलले २०७४ सालदेखिको गाउंपालिकाको हरहिसाब सार्वजनिक गर्न माग गरेका हुन् ।

नेपाली कांग्रेस,माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमाले (माधव नेपाल पक्ष) र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै गाउंपालिका भित्र सञ्चालन हुने योजना र वजेट वडा अध्यक्षको सिफारिश र रेखदेखमा गर्नुपर्नेमा कार्यपालिका सदस्यलाई समेत सूचना लुकाएर स्वेच्छाचारी र अपारदर्शी ढंगले काम भएको आरोप लगाएका छन् । २०७४ देखिका योजना र खर्च भएको हिसाब सार्वजनिक नगरेसम्म बजेट पारित हुन नसक्ने समेत उनीहरुको चेतावनी छ ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार नीति तथा कार्यक्रम र वजेट कार्यपालिकाको वहुमतले अनुमोदन गरेपश्चात मात्रै गाउंसभामा पेश गर्नुपर्ने र न्यूनतम ७ दिनको सूचनापछि मात्रै गाउंसभा बोलाउन पाउने र गाउंसभा वैठकको कार्यसूचि कार्यपालिका सदस्यलाई २४ घण्टा अगावै उपलब्ध गराउनुपर्ने अनिवार्य कानूनी प्रावधानलाई गाउंपालिका अध्यक्षले पालना गर्नुपर्ने पांच दलको माग छ । गाउंपालिका अध्यक्षले २५ प्रतिशत कार्यपालिका सदस्यको उपस्थितिले पनि गणपूरक संख्या पुग्ने भन्दै प्रचार गरेर जबरजस्ती नीति तथा कार्यक्रम र वजेट पारित गर्न खोजिएको भन्दै पांच दलले भएकाले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउंदै संघीय कानूनसंग बाझिने गरी निर्णय नगर्न सचेत गराएका छन् ।

गाउंपालिकाको वडा नंं. ६ का अध्यक्ष शिवकुमार धवलले गाउंपालिका अध्यक्ष जनताको माग अनुसारका अत्याबश्यक योजना भन्दा आफूलाई चुनावमा सजिलो हुने गरी प्रचारमुखि योजना ल्याउन खोजेकाले बिरोध गरिएको बताउंछन् ।

गाउँपालिका अध्यक्ष हिरा केवटले भने वडा अध्यक्षहरुले वडामा २ करोड रुपैयाँको दरले बजेट माग गर्दै २५ करोडको वजेट ल्याउन माग गरेका तर गाउंपालिकाले १५ करोड हाराहारीमा मात्रै वजेट ल्याउने बताएपछि भने अनुसार वजेट नपाउने भएकाले बिरोधमा उत्रिएको दावी गरे । उनले गणपुरक संख्या पु¥याएर आज–भोलिमै वजेट पारित गर्ने तयारीमा आफू रहेको बताए ।

रुपन्देहीका १६ पालिकामध्ये १५ पालिकाले वजेट ल्याइसकेका छन् । ओमसतियाका अध्यक्ष केवट माओवादी केन्द्रबाट जिल्लामा निर्वाचित एक्लो अध्यक्ष हुन् । सर्वोच्चको फैसलाले एमाले र माओवादीलाई ब्युंताइदिएपछि उनी प्रदेश सभा सदस्य दधिराम न्यौपानेसंगै एमालेतिर लागेका छन् ।

उनी एमालेतिर लागेसंगै उनीविरुद्ध वहुमत कार्यपालिका सदस्य एकजुट भएका हुन् ।वडा अध्यक्षहरुसहित वहुमत कार्यपालिका सदस्य र गाउँपालिकाका अध्यक्ष हिरा केवट पक्षबीच बजेटको बाँडफाँड र योजना तथा कार्यक्रमको विषयलाई लिएर विवाद चुलिएपछि अहिलेसम्म नीति, कार्यक्रम र बजेट पारित हुन सकेको छैन । गाउँपालिका अधयक्षले एकलौटी गर्न खोजेको भन्दै कार्यपालिका सदस्य नै त्यसको विरोधमा छन् । बजेट कहिले पारित हुन्छ त्यसको अझै टुङगो छैन ।

प्रतिक्रिया दिनुहोस्