एकता बचाउन अन्तिमसम्म प्रयास गर्ने एमालेको निर्णय


appharu

१८ जेष्ठ २०७८, मंगलवार १५:३८ मा प्रकाशित

काठमाडौं ।
नेकपा एमालेले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने र लचकता अपनाउने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकमा पार्टी एकता बचाउन भैरहेका छलफलबारे विवेचना गर्दै एकता बचाउन प्रयास जारी राख्ने निर्णय भएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

‘पार्टीको आन्तरिक एकताका लागि भइरहेका छलफलबारे विवेचना भयो, एकता बचाउन नेतृत्व तहबाट अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने बारेमा छलफल भएको छ’, ज्ञवालीको भनाइ छ ।
त्यस्तै एमाले बैठकमा प्रतिनिधि सभा विघटनपछिका राजनीतिक घटनाक्रम र सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्नेगरी भइरहेका बहसमाथि समिक्षा भएको छ ।

साथै बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उप निर्वाचनको समेत बैठकमा समिक्षा भएको छ ।

बैठकमा स्पष्टिकरण सोधेका १२ जना नेतालाई कारवाहीबारे बैठकको एजेण्डा नै नभएको प्रवक्ता ज्ञवालीले बताए । उनले एमाले वार्ताका लागि गठित कार्यदल अस्तित्वमा नरहेको भन्दै आवश्यक परे कार्यदललाई पुनर्गठन गर्न सकिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्