कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद, मोटरसाइकल पनि भेटियो


पालिका पत्र

23 September, 2026 7:17 pm मा प्रकाशित

कपिलवस्तु, असोज ७ । कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले १६ लाख ८० हजार रुपैयाँ बराबरका २४० थान ल्यापटप डिस्प्ले स्क्रिन प्यानल बरामद गरेको छ। इलाका प्रहरी कार्यालय कृष्णनगरबाट प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरको कमान्डमा खटिएको प्रहरी टोलीले बुधबार बिहान करिब २ बजे कृष्णनगर नगरपालिका–१२ हरिदवातर्फ गस्ती गर्ने क्रममा सडक छेउमा बेवारिसे अवस्थामा राखिएका ल्यापटप डिस्प्ले फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार बरामद डिस्प्लेको प्रतिथान अनुमानित ७ हजार रुपैयाँका दरले कुल मूल्य १६ लाख ८० हजार रुपैयाँ रहेको छ ।

प्रहरीले सोही स्थानबाट यूपी ५५ एडी ५६२१ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ। उक्त मोटरसाइकलको अनुमानित मूल्य १ लाख ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। डिस्प्ले र मोटरसाइकल गरी बरामद सामग्रीको कुल अनुमानित मूल्य १८ लाख ३० हजार रुपैयाँ पुगेको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न व्यक्ति भने घटनास्थलबाट फरार भएका छन् । बरामद ल्यापटप डिस्प्ले तथा मोटरसाइकल आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय कृष्णनगरमा ल्याइएको थियो ।

थप अनुसन्धानपछि प्रहरीले बुधबार दिउँसो ३ः४० बजे बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कृष्णनगर पठाएको जनाएको छ ।

प्रहरीले बरामद सामग्रीको स्रोत तथा घटनामा संलग्न व्यक्तिको पहिचानका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्