बाणगंगा–८ मा सिंचाइ गुरुयोजना निर्माणको तयारी, इन्भेन्टरी सर्भे गरिने


पालिका पत्र

23 September, 2026 6:51 pm मा प्रकाशित

कपिलवस्तु, असोज ७ । बाणगंगा नगरपालिका–८ मा व्यवस्थित सिंचाइ गुरुयोजना निर्माणका लागि आवश्यक इन्भेन्टरी सर्भे तथा भावी सिंचाइ योजना तर्जुमा गर्ने विषयमा बैठक सम्पन्न भएको छ ।

वडा अध्यक्ष बाबुराम अर्यालको अध्यक्षतामा सम्पन्न बैठकमा वडा क्षेत्रभित्र रहेका विभिन्न प्रकारका सिंचाइ प्रणालीको अवस्था र विवरण संकलन गर्ने विषयमा छलफल गरिएको हो । बैठकमा वडामा सञ्चालित सतह सिंचाइ, पोखरी सिंचाइ, लिफ्ट सिंचाइ, भूमिगत सिंचाइ (बोरिङ) लगायतका संरचनाको अवस्था, पहुँच र आवश्यकताबारे तथ्यांक संकलन गर्ने विषयमा छलफल भएको थियो ।

उपलब्ध सिंचाइ संरचनाको अवस्था पहिचान गरी आवश्यकताका आधारमा आगामी दिनमा नयाँ योजना निर्माण तथा पुराना संरचनाको व्यवस्थापन र विस्तार गर्ने उद्देश्यले इन्भेन्टरी सर्भे अघि बढाउन लागिएको जनाइएको छ ।

बैठकमा वडा सदस्यहरू, वडा सचिव, वडाभित्रका विभिन्न टोलका अध्यक्ष तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवीलगायतको सहभागिता रहेको थियो ।

बैठकलाई सम्बोधन गर्दै वडा अध्यक्ष बाबुराम अर्यालले वडाभित्र रहेका सम्पूर्ण सिंचाइ प्रणालीको यथार्थ विवरण संकलन गरी व्यवस्थित सिंचाइ गुरुयोजना निर्माण गर्ने उद्देश्यले प्रक्रिया अघि बढाइएको बताउनुभयो । उहाँले उपलब्ध सिंचाइ संरचनाको अवस्था पहिचानसँगै सिंचाइ सुविधा आवश्यक भएका क्षेत्रमा प्राथमिकताका आधारमा आगामी योजना निर्माण गरिने बताउनुभयो ।

उहाँका अनुसार गुरुयोजनाले वडामा रहेका सिंचाइ संरचनाको व्यवस्थित अभिलेखीकरणसँगै आवश्यक स्थानमा सिंचाइ सुविधा विस्तार र व्यवस्थापनका लागि आधार तयार गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्