एमालेलाई समर्थन गर्ने जनमोर्चाका सांसद थापा पदमुक्त


appharu

२१ जेष्ठ २०७८, शुक्रबार ०७:२६ मा प्रकाशित

काठमाडौं ।
राष्ट्रिय जनमोर्चा (राजमो) गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले पदमुक्त गरेको छ । बिहीबार जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलले उनलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेअनुसार सभामुखले बैठकमा कारबाहीसम्बन्धी पत्र पढेर सुनाइसकेका छन्।

राजमोका केन्द्रीय महासचिव मनोज भट्ट र राजमोकी दलको नेता पियारी थापाले पार्टीको निर्णय उल्लंघन गरेको भन्दै थापाको प्रदेशसभा सदस्य पद खारेजीका सचिवालयमा पत्र बुझाएका थिए ।

राजमोले यसअघि थापालाई आजीवन केन्द्रीय सदस्य हुन नपाउने र एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन समेत गरिसकेको थियो ।

दलको निर्देशन उल्लंघन गरी थापा विपक्षी गठबन्धनका तर्फबाट गण्डकी प्रदेश सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावको विपक्षीमा उभिएका थिए । थापाले अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेपछि गण्डकीमा एमालेको सरकार जोगिएको थियो । अविश्वासको प्रस्तावमाथि मतदान हुने अघिल्लो दिनमै पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

तर थापाले अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेपछि बहुमत नपुग्दा प्रदेश प्रमुख सीता पौडेलले संसद्मा सहभागी सबैभन्दा ठूलो दलको हैसियतले एमालेका दलका नेता गुरुङलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्

प्रतिक्रिया दिनुहोस्