असार १८। लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री सरकारी गाडीको नम्बर प्लेट छोपिएको अवस्थामा रिसोर्टमा बसेको घटना सार्वजनिक भएपछि सरकारी सवारी साधनको प्रयोग र पारदर्शितामाथि प्रश्न उठेको छ।
घटना गत वैशाख १५ गतेको हो। एक सरकारी कार्यक्रमका लागि महँगो रिसोर्टमा पुगेका प्रमुख सचिव काप्रीले सरकारी गाडी प्रयोग गरेका थिए। कार्यक्रममा उनले कर्मचारीहरूलाई राजनीतिक दबाब वा आग्रहका आधारमा निर्णय नगर्न निर्देशन दिएका थिए।
कार्यक्रमपछि उनी सोही रिसोर्टमा बसेका थिए। भोलिपल्टसम्म उनी प्रयोग गर्ने लु १ झ ५१५ नम्बरको सरकारी गाडीको नम्बर प्लेट कार्टुनले छोपिएको अवस्थामा भेटिएको थियो। सरकारी गाडीको नम्बर प्लेट किन छोपियो भन्ने विषयमा प्रश्न उठेको छ।
यस विषयमा जनआस्थाले सोधेको प्रश्नमा प्रमुख सचिव काप्रीले आफूलाई गाडीको नम्बर सम्झना नभएको प्रतिक्रिया दिएका छन्। उनले भने, “हेर्नैपर्छ। मलाई गाडीको नम्बर याद भएन। म कुनै रिसोर्ट गएकोजस्तो पनि लाग्दैन।”
यद्यपि, लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी तथा उपसचिव ऋषिदेव अर्यालले उक्त गाडी प्रमुख सचिव काप्रीले प्रयोग गर्ने सरकारी सवारी भएको पुष्टि गरेका छन्।
उनले भने, “त्यो गाडी हाम्रै कार्यालयको हो। प्रमुख सचिव काप्री सर चढ्नुहुन्छ।”
सरकारी सवारी साधनको नम्बर प्लेट छोपिनुको कारणबारे सम्बन्धित निकायबाट आधिकारिक स्पष्टीकरण भने आएको छैन। उक्त घटनाले सरकारी स्रोत–साधनको प्रयोग, जवाफदेहिता र पारदर्शिताका विषयमा थप प्रश्न उठाएको छ।



