जनमुक्तिले बाँड्यो पाँच सय परिवारलाई राहत


appharu

१ असार २०७८, मंगलवार १०:०४ मा प्रकाशित

पालिकापत्र, बुटवल ।
राष्ट्रिय जनमुत्ति पार्टी रुपन्देहीले जिल्लाका पांच सय परिवारलाई राहत वितरण गरेको छ । कोरोना महामारीका कारण जारी निषेधाज्ञाले ज्याला मजदुरी गर्न नपाएका बुटवल,भैरहवा र तिलोत्तमाका गरीब तथा विपन्न पांच सय परिवारलाई उक्त पार्टीले राहतस्वरुप खाद्यान्न बांडेको हो ।

पार्टीले जेठ २८ देखि ३१ गतेसम्म बुटवल उपमहानगरपालिकाका ५२,तिलोत्तमा नगरपालिकाका २ सय २८, सिद्धार्थनगर नगरपाकिलाका १०५, देवदहका एक सय र स्याङजाका १५ परिवारलाई खाद्यान्न बांडेको पार्टीका रुपन्देही उपाध्यक्ष टेकबहादुर गुरुङले बताए । निषेधाज्ञाका कारण दैनिक मजदुरी गर्न नपाएर समस्यामा परेका पांच सय परिवारलाई ६ लाख रुपैयां बराबरको चामल, आटा, खाने तेल, सोयाबिन र नुन बांडेको उपाध्यक्ष गुरुङले बताए । कोरोना महामारीको दोस्रो लहर शुरु भएसंगै पार्टीले जनमुक्ति जनसेवा अभियान सञ्चालन गरी जेठ १४ गतेदेखि बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका विरामी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सडक बालबालिकालाई खाना, भीम अस्पतालका कोरोना संक्रमितलाई फलफmूल वितरण गरिएको समग्र कार्यक्रमको समन्वयकर्ता एवं जनमुत्ति युवा महासंघका राष्ट्रिय अध्यक्ष शंकर गाहाले बताए ।

अभियान अन्तर्गत १८ दिनसम्म ७ हजार २ सय प्याकेट खाना, ४ हजार छ सय प्याकेट फलफुल, ११ हजार ७ सय बोतल पानी, ५ सय थान मास्क वितरण गरिएको थियो । यस कार्यमा बुटवल कोरोना अस्पतालमा जनमुक्ति युवा महासंघ तिलोत्तमाका अध्यक्ष बुद्ध थापा र भीम अस्पतालमा फलफूल वितरणमा जनमुक्ति युवा महासंघका लुम्बिनी प्रदेश अध्यक्ष डीबी थापाले संयोजन गरेका थिए । यस्तै खाना व्यवस्थापनमा मगर महासंघकी केन्द्रीय उपाध्यक्ष एवं पाल्पा तराई सम्पर्क मञ्चकी अध्यक्ष धनिसरा थापाले नेतृत्व गरेकी थिइन् । निःशुल्क खाना अभियानमा ५ लाख रुपैयां खर्च भएको पार्टीले जनाएको छ । पार्टीका नेता,कार्यकर्ता र विदेशमा रहेका शुभचिन्तकबाट स्वेच्छिक सहयोग संकलन गरी अभियान सञ्चालन गरिएको पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झमबहादुर गुरुङले बताए ।

अभियान समापनका अवसरमा बोल्दै जनमुक्ति पार्टीको केन्द्रीय अनुगमन तथा मूल्याङकन समितिका सचिव अशोक पुनले यो अभियानले जनताको सुखदुखमा जनमुक्ति पार्टी सधैं साथमा छ भन्ने पुष्टी गरेको र सबै तिरबाट राम्रो प्रतिक्रिया आएको बताए । अभियानलाई पार्टीका लुम्बिनी अध्यक्ष झमबहादुर गुरुङ, संघीय परिषद सदस्य छत्र दर्लामीले समेत प्रत्यक्ष निगरानी गरेर सफल बनाएको पार्टीकी नेतृ दिलमाया गुरुङले बताइन् ।

प्रतिक्रिया दिनुहोस्