मुख्यमन्त्री पोखरेलकै गृह जिल्लामा महानगरको विरोध !


appharu

३ असार २०७८, बिहीबार १५:२९ मा प्रकाशित

पालिका पत्र/घोराही ३ असार ।

लुम्बिनी प्रदेश सरकारले दाङ, बांके र रुपन्देहीमा तीनवटा महानगर बनाउने गरी आगामी आर्थिक वर्षको वजेट सार्वजनिक गरेसंगै यस विषयमा वहस र टिकाटिप्पणी शुरु भएको छ ।

बांके र रुपन्देहीमा विरोधका स्वर खासै नसुनिएपनि दाङमा भने महानगर बनाउने विषय यथार्थ धरातलमा आधारित भन्दा पनि राजनीतिक (चुनावी) स्वार्थ र सस्तो लोकप्रियताका लागि भएको टिप्पणी मुख्यमन्त्री शंकर पोखरेलकै गृह जिल्लामा उठेको छ । विपक्षी गठबन्धन कांग्रेस, नेकपा माओबादी केन्द्र र नेकपा एमालेको माधव नेपाल समुहले मुख्यमन्त्रीले आफ्नो राजनीतिक स्वार्थका लागि दाङमा महानगरको योजना बनाएको टिप्पणी गर्छन् ।

‘बुटवल–भैरहवा र नेपालगन्ज कोहलपुर जोडेर महानगर बनाउने कुरा उपयुक्त छ’–विपक्षीहरु भन्छन्–‘ दाङमा अहिलेका उपमहानगरपालिकामा नै ग्रामीण भेग धेरै छन्,अनि महानगर कसरी सम्भव हुन्छ, यो करको भार थोपर्ने र आफ्नो राजनीतिक रोटी सेक्ने दाउ मात्रै हो ।’ विपक्षीहरुले दाङमा उपमहानगर बनाउन अझै एक दशक लाग्ने तर्क गर्छन् ।

प्रदेश सरकारको योजना कुनै हालतमा लागु नहुने उनीहरुको भनाइ छ । उपमहानगर हुँदा पनि विकासको दृष्टिकोणले सबै क्षेत्र पछि रहेको अवस्थामा अहिले फेरि महानगर बनाउने निर्णय स्वभाविक र उपयुक्त नभएकाले यसको सशक्त बिरोध हुने बिपक्षी गठबन्धनको दाबी छ । नेपाली कांग्रेसबाट घोराहीको मेयरमा चुनाब लडेका कांग्रेसका दाङ क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति भुपबहादुर डांगीले महानगर बनाउने योजना तत्कालका लागि उपयुक्त नभएको बताए ।

‘घोराही उपमहानगर हुँदा यो हालत छ, घोराही र तुलसीपुर मिलाएर महानगर भए कुन हालत हुने हो’–नेता डांगीले थपे– ‘मुख्यमन्त्री शंकर पोखरेलले यो निर्णय जनतामाथि कर बढाउने र आफ्नो राजनीतिक भविष्य जोगाउने दाउ मात्र हो ।’ माधव नेपाल पक्षका एमाले दाङका अध्यक्ष टिकाराम खड्काले महानगर बनाएर कर असुल्ने मात्र माध्यम बनाउन नहुने बताए ।

‘बिना पुर्वाधारको घोषणा मात्रैले महानगर बन्नै सक्दैन, कर असुल्ने मात्र माध्यम बनाउनु हुदैन, पहिले पुर्वाधार निर्माण गरौं, त्यसपछि बनाउंला महानगर’–खड्काले थपे । ओली समुहका जिल्ला नेताहरुले भने प्रदेश सरकारको महानगर बनाउने योजनाको समर्थन गरेका छन् । एमाले दाङका सचिब मनोहर बुढथोकीले महानगर बनाउने योजनाले दाङको विकासमा फड्को मार्ने बताउंछन् ।

घोराही उपमहानगरपालिकाका प्रबक्ता भरत अर्यालले महानगर घोषणा गरेर मात्रै नहुने भन्दै पुर्बाधार पनि बिकास गरेर लगेमा यसले सार्थकता पाउने बताए । घोराही उपमहानगरकै कतिपय ठाउंमा अझै पनि बिजुली, पानी, सडक पुग्न नसकेको भन्दै अध्ययन गरेर भौगोलिकरुपमा बिकास गर्ने गरि महानगरको योजना लागू गर्नुपर्ने उनले सुझाए ।

‘उपमहानगर भनेर के गर्ने, हाम्रै बजार क्षेत्रमा बत्ति, पानी, सडक पुग्न सकेको छैन, सरकारले पुर्बाधार पनि त्यहि किसिमले तयार गरेर महानगरको अबधारणामा लगेको भए राम्रो हुन्थ्यो’– घोराही १८ का वडा अध्यक्ष अर्यालले भने–‘उपमहानगर भएपनि बिकासको दृष्टिकोणले अहिले पनि जनता ठगिएकै छन, सरकारको घोषणा मात्रै गरेर भएन, ब्याबहारिकरुपमा कार्यान्वयन कसरी भएको छ, तयो महत्वपूर्ण हो ।’ तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले ठुला शहरको रुपमा बिकास गर्न महानगरपालिका अबधारणा ठिक रहेको बताएका छन् ।

उनले महानगर बनाउने प्रदेश सरकारको योजनाको स्वागत गर्दै अध्ययन प्रतिबेदनका अनुसार मेघा सिटि बनाउने योजना अनुरुप यो काम सही भएको दाबी गरे । ‘महानगर २ किसिमको हुन्छ, एउटा भौगोलिक, अर्को सांस्कृतिक । अध्ययन भइरहेकै छ, अध्ययन प्रतिबेदनका आधारमा हुने महानगरपालिका ठिक हुन्छ’–पाण्डेले भने ।

प्रतिक्रिया दिनुहोस्