यस्तो छ सैनामैनाको नीति तथा कार्यक्रम – पूर्ण पाठ सहित

सामाजिक सुरक्षा भत्ता घरमै, एक शिक्षक एक ल्यापट


appharu

५ असार २०७८, शनिबार २२:२८ मा प्रकाशित

पालिका पत्र, सैनामैना ।

स्वास्थ्य र कृषिलाई प्राथमिकता दिंदै रुपन्देहीको सैनामैना नगरपालिकाले आर्थिक बर्ष २०७८।७९ को बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कोरोना महामारीले थपेको चुनौतिलाई मध्यनजजर गर्दै स्वास्थ्य पुर्वाधारको बृद्धि र स्तरोन्नतिलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको नगर प्रमुख चित्रबहादुर कार्कीले बताए । कोरोना महामारीको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्न जोखिम भत्ताको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महामारी लामो समयसम्म रहिरहने अवस्था रहेमा नगरपालिका भित्रै सञ्चालनमा रहेको कोभिड १९ अस्थायी अस्पतालमा आइसोलेसन कक्ष, दक्ष जनशक्ति, सुविधा र उपकरण थप गरी क्षमता विस्तार गरिने र कोरोना भाइरसविरुद्धको खोप सबै नगरवासीलाई उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ । नगरपालिकाले पर्रोहा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरि मुर्गियामा विशेषज्ञ सेवा, अत्याधुनिक उपकरण र सुविधा सहितको १५ शैया क्षमताको आधारभुत अस्पताल बनाउने भएको छ ।

यस्तै नगरपालिका सबै स्वास्थ्य संस्थाहरुमा व्यवस्थित फिबर क्लिनिक सञ्चालन गर्ने,स्वास्थ्य चौकी नभएका वडाहरुमा आधारभुत स्वास्थ्य चौकी भवन निर्माण गरी सञ्चालनमा ल््याउने,सालझन्डी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालन गर्ने,गर्भवती तथा सुत्केरी पोषण कोशेली कार्यक्रम, जेष्ठ नागरिकको घरमै स्वास्थ्य सेवा कार्यक्रम, हेलो आमा कार्यक्रममार्फत जेष्ठ नागरिक, गर्भवती, सुत्केरी आमाहरुलाई सुरक्षित स्वास्थ्य तथा परामर्श सेवा प्रदान गरिने नगर प्रमुख कार्कीले बताए ।

यस्तै महिलाहरूको नियमित पाठेघर परिक्षण,स्तन क्यान्सर रोकथाम तथा नियन्त्रण गर्न स्तन क्यान्सर शिविर सञ्चालन,महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र ८४ वर्ष उमेर काटेका जेष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य वीमा, हाल सञ्चालनमा रहेका शहरी स्वास्थ्य केन्द्रलाई व्यवस्थित गर्दै लगिने उल्लेख छ । महिला स्वास्थ्य स्वयंसेविकाहरुले गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै महिला स्वास्थ्य स्वयंसेविका अक्षय कोषमा रकम थपिने,एन्टीरेविज भ्याक्सिनर एक घर एक धारा कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै सामाजिक सुरक्षा भत्ता घर घरमै पुगेर दिने,व्यक्तगत घटना प्रणालीलाई घरघबाट सञ्चालन गरिने, सफा घर, टोल र शहर – सैनामैनावासीको एउटै रहर भन्ने नारालाई सार्थक बनाउन अन्तर स्थानीय तह संयुक्त फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने नीति छ ।
कक्षा कोठामा गरिने शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोगलाई प्रभावकारी वनाउन लागत साझेदारीमा एक शिक्षक एक ल्यापटप कार्यक्रम संचालन, शिक्षकलाई सूचना प्रविधिमैत्री वनाउन दक्ष शिक्षकहरुबाट तालिम,उत्कृष्ट शिक्षकलाई पुरस्कार,विद्यालयहरुमा विज्ञान प्रयोगशाला,पुस्तकालय तथा सूचना प्रविधिको पूर्वाधार विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगर भित्रका सवै विद्यालयहरुलाई एकै किसिमको रंगरोगन गरिने,पुर्वाधार विकास, पूर्व प्राथमिक कक्षा देखि कक्षा ३ सम्म रमाइलो र सजावटयुक्त बालमैत्री कक्षा व्यवस्थापन गरिने,प्राथमिक तहका सबै बालबालिकालाई विद्यालयमा निःशुल्क, स्वस्थवद्र्धक खाजा, स्वच्छ खानेपानीको व्यवस्था,सबै छात्रालाई आवश्यक पर्ने सेनेटरी प्याड निःशल्क उपलव्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रविधियुक्त कृषि र कृषिमा रोजगारी सिर्जनाका लागि भूमि बैंकको स्थापना गरी सामुहिक खेती, करार खेती र व्यवसायिक खेती गर्न प्रोत्साहन,कृषियोग्य जमिनमा बस्ति विकास र शहरिकरण लाई निरुत्साहित गरी व्यवसायिक कृषि मार्फत उत्पादन र उत्पादकत्वमा अभिवृद्धि गर्ने,शुन्य उपयोग बिहीन भूमिको नीति अवलम्बन गर्दै सडक छेउ, नदी, खोला किनारको जग्गा र उपयोग विहिन सार्वजनिक जमिनमा फलफुल लगायतका नगदे बालीको विरुवा रोप्ने र त्यसरी रोपिएका विरुवाको उत्पादनको हकभोग लिने गरी टोल विकास संस्था, व्यवसायिक कृषक र उद्योगलाई परिचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पशुपंक्षी व्यायीलाई आत्मनिर्भर बनाउन नश्ल सुधार कार्यक्रम, बाझोपन निवारण घुम्ती शिविर, पशुधन सुरक्षण कार्यक्रम, निःशुल्क खोप,पशुपालक किसानलाई अनुदान स्वरुप घाँसको विउ, विद्युतिय च्यापकटर र काउ म्याट वितरण गर्ने नीति तथा कार्यक्रmमा उल्लेख छ । कोरोनाका वैदेशिक रोजगारबाट घर फर्किएका बेरोजगार युवालाई कृषि तथा पशुपंक्षी व्यवसायमा आबद्ध गर्ने, युएनडीपी नेपाल र सैनामैना नगरपालिकाको साझेदारीमा कोरोना महामारीको कारणले स्वदेशी तथा बैदेशिक रोजगारी गुमाएका युवाहरुलाई उद्यमशिल बनाउन कोभिड १९ पूनःउत्थान सामाजिक तथा आर्थिक प्रतिकार्य परियोजनालाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

बेरोजगारहरुको सम्भावित पङ्क्तिलाई व्यवसायिक कृषि, भौतिक पूर्वाधार, स्थानिय पूर्वाधार, साना तथा मझौला उद्योग, उत्पादनमूलक उद्योग, निर्माण र सेवा क्षेत्रमा परिचालन गरिनेछ। प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सूचिकृत भएका बेरोजगार व्याक्तिहरुलाई श्रममा आधारित न्यूनतम रोजगारीमा संलग्न गराइने,कृषक तथा पशुपालक किसानलाई अपनत्व बोध गराउन नगरपालिकाबाट प्रदान गरिने अनुदानमा ५० प्रतिशत लागत सहभागिता गराउने नीति अवलम्बन गरिएको छ । नीति तथा कार्यक्रममा कृषक पाठशालालाई निरन्तरता,धानको विउ, कृषि यन्त्र, गहुको विउ, मकैको उन्नत विउ वितरण लगाएतका कार्यक्रमहरुलाई निरन्तरता,कृषियोग्य जमिनमा सिचांईको पहुँच पुर्याउन साना सिँचाई कार्यक्रम, बेमौसमी तरकारी खेती उत्पादनको लागि प्लाष्टिक टनेल बनाउन प्रोत्साहन र हरेक किसानलाई प्राविधिक सेवा प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रमको सञ्चालन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले गरेका थिए ।

हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्णपाठ

सैनामैना नगरपालिकाको गरिमामय नगरसभामा आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा गौरवान्वित भएको छु। नेपालको संविधान जारी भई उक्त संविधानले व्यवस्था गरे बमोजिम हामीले स्थानीय सरकारको रुपमा रही चार वर्षको वार्षिक नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनमा ल्याई सकेका छौं। सम्पूर्ण विश्व कोभिड–१९ को महामारीबाट गुज्रिरहेको विषम परिस्थितिमा आ.व. २०७८÷७९ को नीति तथा कार्यक्रम पेश गर्दैछु। यस अवसरमा राष्ट्रिय स्वतन्त्रता, सामाजिक न्याय र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात शहीदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। राष्ट्रियता, लोकतन्त्र र जनजिविकाको आन्दोलनमा अगुवाइ गर्नुहुने सम्पूर्ण अग्रजहरुको योगदानको उच्च सम्मान सहित स्मरण गर्न चाहन्छु। देश भित्र र बाहिर कोभिड–१९ बाट ज्यान गुमाएका सम्पूर्ण नेपालीहरुमा हार्दिक श्रद्धान्जली प्रकट गर्दै संक्रमित सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

स्थानीय सरकार जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धि हो । स्थानीय जनताको पूर्ण लोकतन्त्र, सुशासनको प्रत्याभूति, जनताप्रति उत्तरदायी सरकार, भ्रष्टाचार मुक्त नगर निर्माण तथा सभ्य र सु–संस्कृत समाज एवम् आफ्नो कर्तव्य प्रति दृढ रहनु यस नगरपालिकाका आदर्श हुनेछन ।

नगरको अधिकार, श्रोत साधन, उत्तरदायित्व,पारदर्शिता र जवाफदेहिता सहितको स्थानीय सरकारको रुपमा स्थापित सैनामैना नगरपालिकाको आर्थिक समृद्धि र स्थानीय स्तरमा लोकतन्त्रको अभ्यासको क्रममा सहयोग गर्नुहुने राजनीतिक दल, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार एवम् सञ्चारकर्मी तथा सैनामैना नगरवासीहरु प्रति धन्यवाद ज्ञापन गर्दछु ।

कोरोना महामारीको दोस्रो लहर सुरुवातसंगै चालु आ.व को वैशाखबाट सुरु भएको निषेधाज्ञाका कारण विकास निर्माणका कार्यहरु लगाएतका अत्यावश्यक बाहेकका अन्य सेवाहरु अवरुद्ध भएको सबैलाई विधितै छ । महामारी बिरुद्धको लडाँईलाई उच्च प्राथमिकतामा राखि कोरोना संक्रमणको संभावित जोखिम न्यूनिकरणको लागि आवश्यक सुरक्षा मापदण्ड अपनाउँदै विकास निर्माणका कार्यहरु सुचारु रहेका छन्। अनुमानित राजश्व संकलनमा भारी मात्रामा गिरावट आएको छ । महामारी र बन्दाबन्दी कारण चालु आ.व मा अपेक्षित उपलब्धि हासिल गर्न सकिएको छैन । संक्रमितको पहिचान, अक्सीजन सहितको आईसोलेसन सञ्चालन भईरहेकै छन्।सक्रमणको दर घट्दै गएको हुदा आगामी आ.व. २०७८÷७९ मा स्थिति केही सहज हुने आकलन गरिएको छ। जोखिम न्यूनिकरण गर्दै आर्थिक,सामाजिक,पूर्वाधार विकास गर्ने र सेवा प्रवाह गर्ने चुनौती सिर्जना भएको छ।
राज्यको पुनर्संरचना संगै संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह गरी तीन तहका सरकारको हक, अधिकार र कर्तव्य संविधानतः निर्दिष्ट गरिएका छन् । संविधानले तोकेका एकल तथा साझा अधिकार क्षेत्रभित्र रही संघीय सरकार र प्रदेश सरकारले दिएको नीति नियमको परिधिभित्र रही यस गरिमामय सभामा आर्थिक वर्ष २०७८/७९को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु ।

नगरसभाका सदस्यज्यू एवम् उपस्थित महानुभावहरु,
अब म आ.व. २०७८/७९ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु।

स्वास्थ्य तथा सरसफाई
१. विद्यमान कोभिड १९ को महामारीले स्वास्थ्य क्षेत्रको विस्तार र सबलिकरण गर्नुपर्ने पाठ सिकाएको छ।आगामी आर्थिक वर्षमा स्वास्थ्य संस्थाहरुको स्तरोन्नति, पूर्वाधार विकास, जनशक्ति व्यवस्था र सेवाको समतामूलक पहुँच एवं गुणस्तर वृद्धि गर्न स्वास्थ्य क्षेत्रको पुनःसंरचना गरिनेछ। कोरोना महामारीको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्न जोखिम भक्ताको व्यवस्था मिलाईनेछ। महामारी लामो समयसम्म रहिरहने अवस्था रहेमा नगरपालिका भित्रै सञ्चालनमा रहेको कोभिड-१९ अस्थायी अस्पतालमा कक्ष, दक्ष जनशक्ति, सुविधा र उपकरण थप गरीक्षमता विस्तार गरिनेछ ।
२. कोरोना भाईरसविरुद्धको खोप समुदायस्तरमा लगाउने अभियान सुरु भईसकेको छ । आगामी आ.व. मा सबै नगरवासिहरुलाई खोप लगाउनआवश्यक प्रबन्ध मिलाईनेछ।
३. पर्रोहा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरि मुर्गियामा विशेषज्ञ सेवा, अत्याधुनिक उपकरण र सुविधा सहितको १५ शैया क्षमताको आधारभुत अस्पताल बनाउनेनिर्माण कार्यसुरुवात भईसकेको हुँदा तिव्रताका साथ निर्माण कार्य सम्पन्न गरिनेछ।
४. सबै स्वास्थ्य संस्थाहरुमा व्यवस्थित फिबर क्लिनिक सञ्चालन गरिनेछ। स्वास्थ्य चौकी नभएका वडाहरुमा आधारभुत स्वास्थ्य चौकी भवन निर्माण गरी सञ्चालनमा ल्याइनेछ।सालझन्डी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालन गरिनेछ।
५. गर्भवती तथा सुत्केरी पोषण कोशेली कार्यक्रम, जेष्ठ नागरिकको घरमा स्वास्थ्य सेवा कार्यक्रम, हेलो आमा कार्यक्रम मार्फत जेष्ठ नागरिक, गर्भवती, सुत्केरी आमाहरुलाई सुरक्षित स्वास्थ्य तथा परामर्श सेवा प्रदान गरिनेछ।महिलाहरूको नियमित पाठेघर परिक्षण गरिनेछ। महिलाहरूको स्तन क्यान्सर रोकथाम तथा नियन्त्रण गर्न स्तन क्यान्सर शिविर सञ्चालन गरिनेछ।
६. महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र ८४ वर्ष उमेर काटेका जेष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य वीमाको व्यवस्था मिलाइनेछ। हाल सञ्चालनमा रहेका शहरी स्वास्थ्य केन्द्रलाई व्यवस्थित गर्दै लगिनेछ। महिला स्वास्थ्य स्वयंसेविकाको कामलाई थप जिम्मेवार र उत्तरदायी बनाउन कार्यसम्पादनको आधारमा प्रोत्साहन गर्ने नीति लिइनेछ। महिला स्वास्थ्य स्वयंसेविकाहरुले गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै महिला स्वास्थ्य स्वयंसेविका अक्षय कोषमा थप रकमको व्यवस्था गरिनेछ।
७ . एन्टीरेविज भ्याक्सिनलाई संचालन गरिनुका साथै नगरपालिकाभित्र दीर्घरोगीहरुको उपचार गरी रोगको न्यूनिकरण गर्नुका साथैकुष्ठरोग खोजपड्ताल कार्यक्रम, आँखा शिविर, क्यान्सर शिविर जस्ता कार्यक्रम सञ्चालन गरिनेछ।
८. सम्पूर्ण नगरवासीहरुलाई सफा र स्वच्छ खानेपानीको व्यवस्था मिलाउन “एक घर एक धारा”कार्यक्रम सञ्चालन गरिनेछ। सबै नगरबासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन संघीय र लुम्बिनी प्रदेश सरकारको लगानीमा पाईपलाईन विस्तार, ओभरहेड ट्याङकी निर्माणको कार्य अगाडि बढाइनेछ।
९. लुम्बिनी प्रदेश सरकारको लगानीमा वडा नं ९ मा निर्माणाधीन अत्याधुनिक यात्रु प्रतिक्षालय सहितको रिफ्रेस सेन्टरको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याईनेछ।

१० . “सफा घर, टोल र शहर सैनामैनावासीको एउटै रहर”भन्ने नारालाई सार्थक बनाउन २०७५ साल जेठ ६ गते देखि फोहरमैलाको अल्पकालीन व्यवस्थापन कार्यभईरहेकोमा यसलाई थप व्यवस्थित गर्दै लगिनेछ।फोहरको दीर्घकालीन व्यवस्थापनका लागि सैनामैना नगरपालिका वडा नं. १०, एक्लापहाडमा बुटवलउपमहानगरपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकाको सहकार्यमा अन्तर स्थानीय तह संयुक्त फोहोर प्रशोधन केन्द्र निर्माण गर्न वातावरणीय प्रभाव मूल्यांकन(भ्क्ष्ब्) स्वीकृति लिई जग्गा भोगाधिकार लिने प्रक्रिया अघि बढाइएको छ।वैकल्पिक उर्जा प्रबर्धन केन्द्रले यस कार्यमा निर्माणकर्ता छनौट गर्ने अवधिसम्म प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। आ.व २०७८÷७९ मा पुर्वाधार निर्माणको कार्य सुरुवात गरिनेछ ।

११ .नगरपालिकामा पूर्ण सरसफाई कायम गर्नका लागि आ–आफ्नो टोलमा सरसफाई गर्न टोल विकास संस्था र खानेपानी संस्थालाई परिचालन गरिनेछ। सरसफाईमा उत्कृष्ट कार्य गर्ने टोल विकास संस्थालाई पुरस्कृत गरिनेछ। वडा स्तरीय सरसफाई समितिले अनुगमन गर्ने गरि प्रत्येक खानेपानी संस्थाले आफ्नो बार्षिक आम्दानीको न्यूनतम १५ प्रतिशत रकम नगर सरसफाईमा खर्च गर्नुपर्ने नीति लिइएको छ।

शिक्षा, युवा तथा खेलकुद
१२. ̎प्रविधिमा आधारित अपनत्व सहितको गुणस्तरीय शिक्षा, सैनामैनाको प्रतिबद्धता ̎ भन्ने नारालाई साकार पार्न विद्यालयलाई सूचना प्रविधियुक्त वनाउने कार्यलाई निरन्तरता दिइने छ। कक्षा कोठामा गरिने शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोगलाई प्रभावकारी वनाउन लागत साझेदारिमा एक शिक्षक एक ल्यापटप कार्यक्रम संचालन गरिने छ। शिक्षकलाई सूचना प्रविधि मैत्री वनाउन प्रविधिमैत्री दक्ष शिक्षकहरुबाट अन्य शिक्षकहरुमा सीप हस्तानतरण गर्ने व्यवस्था मिलाइनेछ।
१३. विद्यालयको शैक्षिक गुणस्तर परीक्षण गरी उत्कृष्ट ठहरिएका ३ वटा विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गरिनेछ। विद्यालयको शैक्षिक गुणस्तर परीक्षणको आधारमा उत्कृष्ट ठहरिएका शिक्षकलाई पुरस्कृत गरिनेछ। वालवालिकाहरुको सिकाइ कृयाकलाप अभिवृद्धि गरी शैक्षिक गुणस्तर सुदृढिकरण गर्न विद्यालयहरुमा विज्ञान प्रयोगशाला,पुस्तकालय तथा सूचना प्रविधिको पूर्वाधार विकास गरिने छ। आधारभूत तहको स्थानीय पाठ्यक्रम निर्माण गरी क्रमशः लागु गरिने छ। विद्यार्थी प्रतिभा पहिचान गरी उत्कृष्ट प्रतिभाहरुलाई प्रोत्साहन गरिने छ । कोभिड १९ का कारण भौतिक रुपमा उपस्थित भई विद्यालय सञ्चालन हुन नसकेको अवधीभर बैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गरिनेछ।
१४ नेपाल सरकारको नीति तथा कार्यक्रम अनुरुप विद्यालय बाल विकासका शिक्षक÷शिक्षिका र विद्यालयका कर्मचारिहरुको न्यूनतम पारिश्रमिक सुनिश्चित गरिनेछ।
१५. विद्यार्थीको चाप बढी भएका विद्यालयको भौतिक पूर्वाधार विकासमा जोड दिइनेछ। नगर भित्रका सवै विद्यालयहरुलाई एकै किसिमको रंगरोगन गर्न प्रोत्साहन गरिने छ। पूर्व प्राथमिक कक्षा देखि कक्षा ३ सम्म रमाइलो र सजावट युक्त वालमैत्री कक्षा व्यवस्थापन गरिनेछ।प्राथमिक तहका सबै बालबालिकालाई विद्यालयमा निःशुल्क, स्वच्छ र स्वास्थ्यवर्धक खाजा, स्वच्छ खानेपानीको व्यवस्था गरिनेछ। विद्यालयमा अध्ययनरत सवै छात्राहरुलाई आवश्यक पर्ने सेनेटरी प्याड निशुल्क उपलव्ध गराईनेछ ।
१६. “स्वास्थ्यका लागि खेलकूद,राष्ट्रका लागि खेलकूद“ अभियानलाइ सार्थक बनाउन नगरस्तरीय खेलकूद समिति गठन भइ संचालनमा आएको छ। नगर भित्र संचालन हुन सबै किसिमका खेलहरुलाई नगरस्तरीय खेलकूद समिति मार्फत एकद्वार प्रणालीवाट सञ्चालन गरिनेछ। बिद्यालयका विद्यार्थीहरु सहभागी हुने नगरस्तरीय खेल सप्ताहलाई निरन्तरता दिइने छ।
१७. संघिय आयोजनाको रुपमा रहेका निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदान र मुर्गियास्थित फुटबल रङ्गशाला निर्माणको लागि पर्याप्त श्रोतको सुनिश्चितता गर्न संघिय सरकारसंग पहल गर्नुका साथै समयमै निर्माण कार्य सम्पन्न गर्न सहजिकरण गरिनेछ।
१८. नगरपालिकाभित्र वडा नं. २,६ र ११ मा खुला व्यायामशाला स्थापना गरी सञ्चालनमा ल्याईनेछ।

आर्थिक विकास
“भूमी बैँकमार्फत प्रविधियुक्त कृषि, स्वरोजगारीमा बृद्धि, सैनामैनाको आर्थिक समृद्धिʺ भन्ने अभियानलाई साकार पार्न भूमि बैंकको स्थापना गरी सामुहिक खेती, करार खेती र व्यवसायिक खेती गर्न प्रोत्साहन गरिनेछ।कृषियोग्य जमिनमा बस्ति विकास र शहरिकरण लाई निरुत्साहित गरी व्यवसायिक कृषि मार्फत उत्पादन र उत्पादकत्वमा अभिवृद्धि गरिनेछ। शुन्य उपयोगबिहीन भूमिको नीति अवलम्बन गर्दै सडक छेउ, नदी, खोला किनारको जग्गा र उपयोग विहिन सार्वजनिक जमिनमा फलफुल लगायतका नगदे बालीको विरुवा रोप्ने र त्यसरी रोपिएका विरुवाको उत्पादनको हकभोग लिने गरी टोल विकास संस्था, व्यवसायीक कृषक र उद्योगलाई परिचालनगरिनेछ।

पशुपंक्षी व्यवसायीलाई आत्मनिर्भर बनाउन नश्ल सुधार कार्यक्रम, बाझोपन निवारण घुम्ती शिविर, पशुधन सुरक्षण कार्यक्रम, निःशुल्क खोप कार्यक्रम लगाएतका कृषक हरुको क्षमता अभिवृद्धी गर्ने तालिमसत्र्चालन गरिनेछ।व्यवसायी पशुपालक किसानलाई अनुदान स्वरुप घाँसको विउ, विघुतिय च्यापकटर र काउ म्याट वितरण गरिनेछ।
अनुत्पादक क्षेत्रमा खर्च कटौती गरिनेछ। तालिम, गोष्ठी, सेमिनार जस्ता कार्यक्रमहरु कम गरिनेछ । उत्पादन वृद्धि, आयआर्जन वृद्धि र थप रोजगारी सिर्जनामा सघाउ पुर्याउने कार्यक्रमलाई प्रोत्साहन गर्ने गरि बजेट विनियोजन गर्ने निति लिईएको छ ।
कोरोना भाईरसको कारण बैदेशिक रोजगारबाट घर फर्किएका बेरोजगार युवालाई कृषि तथा पशुपंक्षी व्यवसायमा आबद्ध गर्ने नीति लिईएको छ।ग्ल्म्ए नेपाल र सैनामैना नगरपालिकाको साझेदारीमा कोरोना महामारीको कारणले स्वदेशी तथा बैदेशिक रोजगारी गुमाएका युवाहरुलाई उद्यमशिल बनाउन कोभिड १९ पूनःउत्थान सामाजिक तथा आर्थिक प्रतिकार्य परियोजनालाई निरन्तरता दिईनेछ।बेरोजगारहरुको सम्भावित पङ्क्तिलाई व्यवसायिक कृषि, भौतिक पूर्वाधार, स्थानिय पूर्वाधार, साना तथा मझौला उद्योग, उत्पादनमूलक उद्योग, निर्माण र सेवा क्षेत्रमा परिचालन गरिनेछ।प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सूचिकृत भएका बेरोजगार व्याक्तिहरुलाई श्रममा आधारित न्यूनतम रोजगारीमा संलग्न गराइनेछ।
कृषक तथा पशुपालक किसानलाई अपनत्व बोध गराउन नगरपालिकाबाट प्रदान गरिने अनुदानमा ५० प्रतिशत लागत सहभागिता गराउने नीति अवलम्बन गरिएको छ । कृषक पाठशालालाई निरन्तरता दिईनेछ।धानको विउ, कृषि यन्त्र, गहुको विउ, मकैको उन्नत विउ वितरण लगाएतका कार्यक्रमहरुलाई निरन्तरता दिईनेछ।कृषियोग्य जमिनमा सिचांईको पहुँच पुर्याउन साना सिँचाई कार्यक्रम सञ्चालन गरिनेछ।कृषकहरुलाई बेमौसमी तरकारी खेती उत्पादनको लागि प्लाष्टिक टनेल बनाउन प्रोत्साहन गरिनेछ। हरेक किसानलाई प्राविधिक सेवा प्रदान गरिनेछ।
कृषिमा उत्पादकत्व वृद्धि गर्न कृषि कार्यमा सुधार, बजारिकरण, यान्त्रिकरण, एकीकृत वैज्ञानिक कृषि प्रणाली लागु गर्दै करार खेती, सहकारी तथा सामुहिक खेतीलाई प्रोत्साहन गरिनेछ। सरकारबाट दिइने अनुदानमा सहकारी तथा सामूहिक खेती प्रणालीलाई प्राथमिकता दिइनेछ। कृषियोग्य जमिनको चक्लावन्दी गरी व्यवस्थित गर्न गैरकानुनी खण्डिकरणलाई नियन्त्रण गर्ने नीतिगत व्यवस्था गरिने छ ।
कृषकलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने, कृषि सामग्रीमा अनुदान तथा सहयोग गर्ने, कृषकको उत्पादनको बजारीकरण गर्ने देखि कृषकको आम्दानीको बचत गर्ने सम्मका कार्यको सुनिश्चितता हुने गरि सहकारी संस्थाको सबलीकरण गर्दै कृषकहरु लाई सहकारी संस्थामा आबद्ध गरिनेछ।विष्टिकृत सहकारी संस्था मार्फत दुग्ध प्रशोधन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याईनेछ।
लम्टैयामा निर्माणाधिन औद्योगिक ग्रामको दोस्रो चरणको निर्माण कार्य सम्पन्न गरी नगरभित्रका उद्यमी तथा सहकारीलाई औद्योगिक ग्राममा साना तथा मझौला उद्योग स्थापना गरी सञ्चालन गर्न तोकिएको मापदण्ड बमोजिममागको आधारमा आवश्यक पर्ने जग्गाउपलब्ध गराईनेछ।घरेलु तथा साना उद्योग स्थापनामा जोड दिदै स्थानीय स्तरमा उत्पादित बस्तुहरुलाई बजारीकरणको उचित व्यवस्थापन गरी दिगो आर्थिक वृद्धि हासिल गर्ने नीति लिइनेछ।
सहकारीको माध्यमबाट एकीकृत कृषि, उद्योग तथा व्यापारको क्षेत्रमा लगानी गर्ने नीति लिइनेछ। सहकारीहरुले अनुत्पादक क्षेत्रमा गर्ने लगानीलाई निरुत्साहित गरिनेछ। एकिकरण गरिएका सहकारीहरुलाई औद्योगिक ग्राम क्षेत्र भित्र उद्योग सञ्चालनको लागि जग्गा उपलव्ध गराइनेछ। सहकारी शिक्षा अभिबृद्धि गरी अधिकतम कृषि÷पशु व्यवसायीलाई सहकारीमा आबद्ध गरिनेछ।

मुर्गियामानिर्माणाधिन शीत भण्डारको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउनुका साथै कृषकहरुले उत्पादन गरेको बिउ भण्डार गर्ने प्रबन्ध मिलाउन बासँगढीमा बिउ भण्डार केन्द्र स्थापना गरिनेछ।

नगरसभाका सदस्यज्यू तथा उपस्थित महानुभावहरु,
भूमि तथा भवन व्यवस्थापन
सैनामैना नगरपालिकाभित्र रहेका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको निवेदन संकलन भैसकेको छ भने संकलन भएका निवेदनहरुको अनलाईन प्रणालिमा प्रविष्ट गर्ने कार्य अन्तिम अवस्थामा रहेको छ। नापि गर्ने प्रयोजनका निम्ति सैनामैना नगरपालिका भित्र कुल ९६ ठाउमा कन्ट्रोल प्वाईन्ट स्थापना गरि म्न्एक् जडान गर्ने कार्य समेत भईसकेको छ। चालु आ.व को असारभित्र सैनामैना नगरपालिकाभित्र फरक फरक नापि टोलिले एकैसाथ नापि गर्ने कार्य सुरुवात गर्नेछन्। २०७८ कार्तिक महिनाभित्र नगरपालिकाभित्रमा सबै भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासयुक्त जग्गाको नापि गर्ने, नक्सा श्रेस्ता तयार गर्ने कार्य समाप्त गरि २०७८ पुष महिनाभित्र सबै सैनामैना नगरवासी भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र पूर्जा वितरण गरिनेछ।
नगरपालिका क्षेत्रभित्र निर्माण गरिने सम्पूर्ण सरकारी तथा सार्वजनिक भवनहरु भवन निर्माण संहिताको आधारमा रही बालमैत्री, अपाङ्गमैत्री, भूकम्प प्रतिरोधात्मक, वातावरण तथा सरसफाईमैत्री र अग्नी सुरक्षित वनाइनेछ। सैनामैना भवन निर्माण संहिता समयानुकूल परिमार्जन गरी लागू गरिनेछ।
वडा नं ४ मा संघीय सरकारको सहयोगमा सीप विकास प्रतिष्ठानको निर्माण कार्य आरम्भ गरिनेछ। सैनामैना ३ को पूर्वी र पश्चिम गंगानगरमा पक्की घर निर्माण गर्दा जग्गाधनी पूर्जा भएको र नभएको दुवै प्रकृतिको जग्गामा भविष्यमा होमस्टेको रुपमा प्रयोग गर्न सकिने गरी नगरपालिकाबाट स्विकृत नक्शा बमोजिम आवाश निर्माण गर्नुपर्ने नीति लिईएको छ।
नगरपालिकाभित्रका ६,८,१० र १४ मिटर कालोपत्रे भएका सडकमा निजि र सरकारि पूर्वाधार निर्माण गर्दा निर्माण सामाग्री सडकमा मगmउष्लन गर्न नपाईने नीतिगत व्यवस्था गरिएको छ।
नगरपालिकाको वडा नं. ५,६,७,८ र ९ क्षेत्र भित्र नाप नक्सा गर्न छुटेका गाउँ ब्लक जग्गाहरुको नाप नक्सा तयार गरी जग्गाधनी प्रमाणपत्र पूर्जा उपलब्ध गराइनेछ।
आ.व २०७८/७९ मा घर नक्सा डिजिटाईजेसन गर्ने कार्यको सुरुवात गरिनेछ। आ.व २०७८÷७९ को पहिलो चौमासिकभित्र नगर पाश्र्वचित्र, सडक सम्पत्ति सुधार योजना, नगर सडक यातायात गुरुयोजना र भु–उपयोग योजना सहितको नगर गुरुयोजना सार्वजनिक गरी कार्यान्वयनमा ल्याईनेछ।
नगरको व्यवस्थित शहरीकरणका लागि भवन निर्माण मापदण्डलाई थप प्रभावकारी रुपमा लागु गर्न घरधनी, निर्माण व्यवसायी तथा डकर्मीहरुलाई चरणवद्धरुपमा उपलब्ध गराइएको तालिमलाई निरन्तरता दिइनेछ। यसरी तालिम लिएका व्यवसायीलाई मात्र नगरपालिकामा भवन निर्माणको अनुमति दिने व्यवस्था गरिनेछ । भवन निर्माण संहिता तथा भवन निर्माण मापदण्डको बारेमा व्यापक जनचेतना जगाउने कार्यक्रम ल्याइनेछ। भवन मापदण्ड लागुहुनु पूर्व सम्पन्न भएका घरको नक्शाङ्कन गरी नक्शा नियमित गरिनेछ।
व्यवस्थित शहरीकरण मार्फत सर्वसुलभ वातावरण मैत्रि दिगो र सुन्दर नगर विकास गर्दै भू–उपयोग योजनामा आधारित व्यवस्थित एवं योजनाबद्ध शहरी विकास गर्ने निति लिईएको छ । नगरक्षेत्रभित्र हुने जग्गा प्लटिङ्ग गर्न कार्यलाई व्यस्थित एवम् नियमन गरिनेछ।
हालसम्म पनि बिद्युत लाइन जडान नभएका स्थानहरुको पहिचान गरी ती स्थानहरुमा विद्युत लाइन जडानको व्यवस्था गरिनेछ। कतिपय स्थानहरुमा लाइन जडान भए पनि लो भोल्टेजको कारणले उत्पन्न हुने समस्या समाधान गर्न नेपाल विद्युत प्राधिकरण, विद्युत वितरण केन्द्र बुटवलसँग समन्वय गरी विद्युत आपूर्तिलाई नियमित गरिनेछ। बिद्युत क्षेत्रको समग्र समस्याहरुलाई एकीकृत रुपमा समाधान गर्ने गरी विद्युत प्राधिकरणको सहकार्यमा सैनामैना वडा नं. ९ मा शुरु गरिएको बिद्युत सब–स्टेशनको ८० प्रतिशत पूर्वाधार निर्माणको कार्य आ.व २०७८÷७९ भित्र सम्पन्न गरिनेछ । आ.व २०७८/७९ भित्र सम्पूर्ण नगरबासीको विद्युत सम्मको पहुँच सुनिश्चित गरिनेछ। विपन्नताको कारणले विद्युत मिटर जडान गर्न नसक्ने परिवारलाई निशुल्क विद्युत मिटर जडान गरिनेछ।
आ.व २०७८/७९ भित्र सबै वडा कार्यालयको प्रशासनिक भवन निर्माण गरिनेछ।
जटिल प्रकृतिका, आधुनिक उपकरण प्रयोग गरिने र दक्ष जनशक्ति आवश्यकता पर्ने खालका पूर्वाधार निर्माणका कार्यहरु ठेक्कामा लगाई समपन्न गरिनेछ। उपभोक्ता समितिको क्षमता अभिबृद्धि गर्नको लागि गठन भएका उपभोक्ता समितिका पदाधिकारीहरुलाई क्षमता विकासको तालिम सञ्चालन गरिनेछ।

जेष्ठ नागरिक,महिला, बालबालिका तथा अपाङ्ग
“सामाजिक न्याय र समताका लागि सकरात्मक विभेद”को नीति अनुरुप हाल सञ्चालन गरिदै आएको क्षमता विकास तथा स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिदै विधवा तथा एकल महिला, द्वन्द्वपीडित तथा हिंसापीडित महिला, बेरोजगार तथा अति पिछडिएका व्याक्ति र बिपन्न समुदायको लागि रोजगारमूलक तालिमलाई निरन्तरता दिदै थप प्रभावकारी बनाइनेछ। अपांग र बालवालिका लक्षित कार्यक्रमहरु सम्बन्धित लक्षित समुदायको परामर्शमा तय गरी प्रभावकारी रुपमा लागु गर्ने नीति अवलम्बन गरिनेछ। अपाङ्ग परिचयपत्र वितरणको लागि घुँम्ति शिविर सञ्चालन गरिने छ ।
महिलाहरुको सशक्तिकरण गर्नको लागीʺमहिलासँग उपप्रमुखˮ कार्यक्रम सञ्चालन गरिनेछ।महिलासँग उपप्रमुख कार्यक्रम मार्फत विपन्न, बेरोजगार, पिछडिएका महिलालाई उद्यमि बनाउनको लागि शिपमुलक तालिम प्रदान गर्नुका साथै आवश्यक पुजिगँत सहयोग गरिनेछ।
प्रदेश सरकारसँगको सहकार्यमा निर्माणाधिनवडा नं. १ मा प्रदेश स्तरको जेष्ठ नागरिक संरक्षण ग्राम र अपाङ्ग संरक्षण ग्रामलाई बहुवर्षिय आयोजनाको रुपमा निर्माण कार्य सञ्चालन गरिनेछ। हरेक वर्ष जेष्ठ नागरिकहरुलाई गरिदै आएको सम्मान कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
वडा समिति, टोल विकास सँस्था, आमा समूह, स्थानीय क्लब, समुदाय र सुरक्षा निकायको सहकार्यमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम मार्फत समाजमा विद्यमान समस्याको रुपमा देखिएको लागु पदार्थ सेवन र दुर्व्यसन न्यूनिकरणका लागि प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गरिनेछ। बाल संरक्षण गृह, सुधार केन्द्र, रिफ्रेस सेन्टर स्थापना गरी सञ्चालन गर्न चाहने सामाजिक संस्था र निजी क्षेत्रलाई आवश्यक सहयोग गर्ने नीतिलाई निरन्तरता दिइनेछ। नगरस्तरिय युवापरिषद, बालक्लब, स्काउटलाई सिर्जनशिल काममा परिचालन गरिनेछ।

नगरसभाका सदस्यज्यू तथा उपस्थित महानुभावहरु,
सँस्कृति तथा पर्यटन
कोरोना भाईरसको महामारीका कारण पर्यटन व्यवसाय ठप्प भएका छन्।पर्यटन व्यवसायको पुनःउत्थान गर्नको निम्ती नगरपालिकाबाट आवश्यक नीतिगत सहयोग गरिनेछ।
पर्रोहा परमेश्वर बोलबमधाम मन्दिरको निर्माण कार्य समपन्न गरि मन्दिरलाई हिन्दु धर्मावलम्विको प्रमुख पर्यटकिय स्थलको रुपमा विकास गरिनेछ।सैनामैना नगरपालिका वडा.नं. ८ मा लुम्बिनी सांस्कृतिक शहर निर्माणको लागि प्रारम्भिक अध्ययन भईसकेको छ।यसको लागि जग्गा एकिकृत गर्ने सहितको परियोजना नगर विकास कोषको साझेदारीमा अगाडि बढाईनेछ।
नेपालका विभिन्न पर्यटकीय स्थल मध्ये महत्वपूर्ण गन्तव्य स्थलको रुपमा रहेको सैनामैना क्षेत्रको इतिहास, भूगोल, धर्म र संस्कृति झल्कने खालका कार्यक्रमहरु कार्यान्वयनमा ल्याइने छ ।सैनामैना क्षेत्र, पर्रोहा परमेश्वर वोलवमधाम, मलमला, महेरवादेवी, कोटियाथान लगायतका मठ मन्दिर, डिउहार, मस्जिद, गुम्बा, चर्चहरुको संरक्षण तथा संवर्धन गर्दै नगरपालिका क्षेत्रभित्र रहेका पर्यटकीय गन्तव्यको पहिचान र विकासका लागि ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाहरुको संरक्षण गरी पर्यटन प्रवर्धन गर्न पूर्वाधार निर्माण तथा प्रचार प्रसारमा जोड दिइनेछ भने जवरजस्ती धर्म परिवर्तन गर्ने गराउने कार्यलाई निरुत्साहित गरिनेछ।
नगरपालिकाभित्रका सबै सम्पूर्ण संस्कृतिहरुको संरक्षण गरिनेछ।
पर्यटन पूर्वाधार निर्माण र प्रचार प्रसार गर्न सैनामैना नगरपालिका वडा नं. २ मा निर्मित थारु होमस्टेको सभाहल र पाहुना घर औपचारिक रुपमा सञ्चालनमा ल्याइनेछ । यस नगरमा आदिवासीको रुपमा बसोबास गर्दै आएका थारु समुदायको संस्कृतिको संरक्षण र संवर्धन गर्न वडा नं ५ को कोटियाथानमा थारु संग्राहलय निर्माण कार्य आरम्भ गरिनेछ। कोभिड–१९ को महामारी रोकथाम भएमा उद्योग बाणिज्य संघ तथा व्यापार संघबाट प्रत्येक वर्ष हुदै आएका कृषि तथा पर्यटन महोत्सव, भड्छा महोत्सव, आदिवासी जनजाती महोत्सव र माघी मेलाको संचालनलाई निरन्तरता दिइनेछ ।
राष्ट्रिय स्वतन्त्रता, सामाजिक न्याय र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्नुहुने शहिदहरुको सम्झनामा शहिद दिवस र राष्ट्रियता, लोकतन्त्र र जनजिविकाको आन्दोलनमा अगुवाइ गर्नुहुने सम्पूर्ण अग्रजहरुको योगदानको उच्च सम्मानको लागि वि.पि स्मृती दिवस र पुष्पलाल स्मृतीदिवसको दिन सिर्जनात्मक कार्यक्रमको आयोजना गरि मनाइनेछ।

नगरसभाका सदस्यज्यू तथा उपस्थित महानुभावहरु,

पूर्वाधार विकास
बहुवर्षिय आयोजनाहरु तोकिएको समयावधिभित्रै सम्पन्न गर्ने गरि स्रोत सुनिश्चित गरिनेछ।ठेक्का लागेर बन्दाबन्दीका कारण सम्पन्न हुन नसकेका संघ र प्रदेशका एकल वा साझेदारीका आयोजनाहरुको म्याद थप गर्न संघिय र प्रदेश सरकारसंग अनुरोध गरि अधुरा आयोजनाहरुको निर्माण कार्य सम्पन्न गरिनेछ।
“नगरको समृद्धिको आधार, फराकिलो र व्यवस्थित सडक पूर्वाधार”भन्ने नारालाई आत्मसाथ गरी सडक निर्माण तथा बिस्तार गर्ने कार्यलार्इ निरन्तरता दिइनेछ। नगरपालिकाका गौरवका योजना अन्तर्गत विस्तृत सर्भे तथा डिजाइन इष्टिमेट भइसकेका सडक तथा पुलहरुको निर्माण कार्य आरम्भ गरिनेछ। नगर यातायात गुरु योजना संसोधन गरी गुरुयोजनाले तोकेको मापदण्ड र प्राथमिकताको आधारमा स्तरोन्नति भएका कच्ची सडकहरुलाई क्रमशः कालोपत्रे गर्ने र सो बाहेकका मुख्य मुख्य सडक र गाउँ भित्रकापरम्परागतसडकहरुकोस्तरोन्नतिगर्नेकार्यलाईनिरन्तरतादिइनेछ।योजनाहरुलाई बजेटको कमी हुन नदिने तथा समयावधि भित्रै सम्पन्न गर्ने कुरामा उच्च प्राथमिकताका साथ सम्पन्न गर्ने तर्फ आवश्यक पहल गरिनेछ।
संघीय सरकारको साबिक राष्ट्रिय प्राथमिकता प्राप्त योजना र प्रदेश सरकारबाट कार्यान्वयन भइरहेकोसैनामैना नगरपालिकाको गौरवकोरुपमा रहेको सैनामैना चक्रपथमा पर्ने बाकि पुलहरुको ठेक्का लागिसकेको छ।आ.व २०७८÷७९ भित्र सैनामैना चक्रपथ पूर्ण रुपमा निर्माण गरि सञ्चालनमा ल्याईनेछ।
नगरपालिकाको पूजिँगत बजेटको न्युनतम ३ प्रतिशत बजेट सडक मर्मत तथा संभार गर्ने कार्यको लागि विनियोजन गरिनेछ। म्ँक्ष्म् को प्राविधिक सहयोगमा तयार भएको सडक सम्पत्ति व्यवस्थापन तथा संरक्षण कार्ययोजनाले तोकेको प्राथमिकता र मापदण्ड बमोजिम नगरभित्रका सडक मर्मत तथा संभार गर्ने कार्य प्राथमिकताका साथ अगाडि बढाइनेछ।
सडकको दिगो विकासको लागि नगर भित्रका कालोपत्रे सडकमा गुणस्तर कायम गर्न ३० फिट वा सो भन्दा बढी चौडाई भएका सडकहरुमा अस्फाल्ट कंक्रिट प्रविधि अपनाइनेछ। सडकको सर्भे डिजाइन गर्दा सोमा पर्ने विद्युत पोल, तार, नाली खानेपानी पाइप विस्तार समेत समावेश गरी एकिकृत डिजाइन इष्टिमेट तयार गरी कार्यान्वयनमा ल्याइनेछ। लागत सहभागितालाई स्थान विशेष तथा योजनाको प्रकृति अनुकूल परिमार्जन गर्दै लगिनेछ।
निर्माणाधिन फूलवारी पार्क, वोलबम पर्यावरणीय पार्क र मलमला पार्कमा श्रोत वृद्धि गर्न पहल गरिनेछ। वडा नं. ११ को राजापानी पर्यटकीय क्षेत्र,वनकट्टीमा ग्रिनपार्क र वडा नं. ९ मा वालउद्यानको डि.पि.आर. सम्पन्न भइसकेको हुँदा संघीय र प्रदेश सरकारसँग स्रोत व्यवस्थापनको लागि पहल गर्नुका साथै सामुदायिक वन र नीजि क्षेत्रको साझेदारिमा निर्माण गर्ने नीति लिईएको छ।
वडा नं. ३ को साविक मुर्गिया हाटबजार र दूर्गा मन्दिर क्षेत्रलाई समावेश गरी शैलपुत्रि पार्क निर्माणको डि.पि.आर. तयार भईसकेको छ। यसलाई संघीय आयोजनामा समावेश गरि निर्माण गर्न पहल गरिनेछ।
पूर्व–पश्चिम लोकमार्गको बुटवल–सालझण्डी खण्डमा ६ लेनकोसडक विस्तार गर्न म्भकष्नल बलम द्यगष्मि प्रक्रिया मार्फत ठेक्का अगाडी बढाउन नेपाल सरकारसँगसमन्वयगरिनेछ।
नेपाल सरकार र लुम्बिनी प्रदेशको सहलगानीमा वडा नं. ३ मा अवस्थित लामीरहको बहुउद्देश्यीय बाधकोपहिलो चौमासिक भित्र बहुवर्षिय ठेक्का व्यवस्थापन गराई निर्माण कार्य सुरुवात गरिनेछ।
संघ, प्रदेश र सैनामैना नगरपालिकाको सहकार्यमा नगरपालिकाभित्रका नदिहरुमा तटबन्ध निर्माण गरी जनधनको क्षति हुन नदिन नदी नियन्त्रण सम्बन्धी कामलाई अघि बढाईनेछ।
सार्वजनिक निजी साझेदारी मार्फत निजी क्षेत्रलाई विकास साझेदारको रुपमासहभागी गराईनेछ।
नगरपालिका क्षेत्रभित्र रहेका परम्परागत कुलो तथा नदीमा बाँध बाँधी हुदै आएको सतह सिंचाइको लागि निर्मित कच्ची कुलाहरुलाई पक्की र पक्की कुलाहरुलाई मर्मत गरिनेछ। प्रयोगमा नआएका सिंचाइका डिप ट्यूवेलहरुलाई प्राथमिकताका साथ मर्मत गरी प्रयोगमा ल्याइनेछ ।
मुर्गिया–लुम्विनी सडकको मुर्गिया– सुर्यपुरा खण्डमा पुल स्तरउन्नत गरिनेछ।विश्वबैँकबाट म्एच् तयार भइसकेको सैनामैना मेजर सडकको बाँकि रहेको ९ किलोमिटर सडक कालोपत्रे, बाँकि रहेका पुल, कल्भट निर्माण कार्य प्रदेश सरकारको सहयोगमा अगाडि बढाइनेछ।
शवदाह गृह रसामाजिक संस्कार स्थललाई थप व्यवस्थित गरिनेछ।

नगरसभाका सदस्यज्यू तथा उपस्थित महानुभावहरू,

वन, वातावरण तथा विपद व्यवस्थापन
नगर क्षेत्रभित्र रहेका सार्वजनिक स्थल र नदि किनारहरुमा स्थान अनुकूल वृक्षारोपण गर्ने नीति लिइनेछ। टोल विकास संस्था, स्थानीय समुदायको सहयोगमा सामुदायिक वन संरक्षण गर्न,वृक्षारोपण गरिएका बोट विरुवाहरु कटान हुन नदिन, जगंली जीव जन्तुको अवैध शिकार, चोरी निकासी तथा ओसारपसार रोक्न गस्ती परिचालन गरिनेछ। वन संरक्षणको लागि नगरक्षेत्रका विभिन्न सामुदायिक वनहरुमा तारवार गरिने कार्यलाई निरन्तरता दिइनेछ । जथाभावी वनक्षेत्र प्रवेश गर्न निषेध गरिनेछ। पूर्व– पश्चिम लोकमार्गको उत्तरतर्फ रहेका सबै फर्निचर उद्योगलाई पूर्व– पश्चिम लोकमार्गको दक्षीणतर्फ स्थानान्तरण गर्नुपर्ने नीतिलाई कडाईपूर्वक लागु गरिनेछ।
मापदण्ड पूरा गरी नाली सहित कालो पत्रे सम्पन्न भइसकेका सडकको छेउछाउमा मध्यम खालको बहुवर्षिय स्मृति वृक्ष रोप्ने कार्यलाईसुरुवात गरिनेछ ।
जीविकोपार्जनका लागि वनजंगलको अवधारणालाई सार्थक तुल्याउन नगरपालिकाभित्र रहेका सामुदायिक वनमा नकारात्मक प्रभाव नपर्ने गरी कार्ययोजना बनाइ सामुदायिक तथा निजी क्षेत्रको लगानीमा फन पार्क, रिसोर्ट र पिकनिक स्थलको स्थापना गरी सञ्चालन गर्ने नीति लिईएको छ।
नगरपालिका र सामुदायिक वनको सहकार्यमा सघन वृक्षारोपण कार्यक्रम सञ्चालन गरिनेछ।
बढ्दो जनसंख्याको कारण नगरका सार्वजनिक स्थल र प्राकृतिक सम्पदाहरुको अतिक्रमण बढ्दै गएकोले यसलाई नियमन र नियन्त्रण गर्न प्रत्येक वडाका वडाध्यक्षको संयोजकत्वमा गठित सार्वजनिक जग्गा संरक्षण उपसमितिलाई क्रियाशिल बनाई सम्बन्धित वडामा रहेको सार्वजनिक जग्गा, ताल, पोखरी, गौचरण लगायतका सार्वजनिक महत्वका क्षेत्रको संरक्षण तथा सम्बर्दन गरिनेछ ।
“विपद् न्यूनिकरणको लागि पूर्व तयारीमा जुटौं”भन्ने अभियानलाई साकार पार्न विपद् व्यवस्थापन समितिलाई अझै प्रभावकारी बनाइनेछ। नगर विपद् प्रतिकार्ययोजना बनाई नेपाली सेना, नेपाल प्रहरी, टोल विकास संस्था,नेपाल स्काउट, स्थानीय क्लब र रेडक्रससँग सहकार्य गरी विपद न्यूनिकरण एवम् व्यवस्थापनको क्रियाकलापलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।
सम्भावित जोखिमको पहिचान गरि अन्तर स्थानीय तह विपद् व्यवस्थापन केन्द्रको सबलिकरण र विस्तार गरिनेछ।

राजश्व प्रशासन
कोरोना भाईरस महामारीको कारण निशेधाज्ञा अवधिभर सञ्चालन हुन नसकेका व्यवसायहरुलाई राहत स्वरुप निशेधाज्ञा अवधिभरको घर बहाल कर र व्यवसाय करमा छुट तथा सहुलियत दिने नीति अवलम्बन गरिएको छ।
करको दर कम र दायरा फराकीलो बनाईनेछ। प्रगतिशिल कर प्रणालि लागु गरिनेछ।
घर जग्गा बहाल कर असुली कार्यको शुरुवातका लागि सम्पत्ति कर, व्यवसाय कर र वडा कार्यालयबाट प्रवाह हुने सेवाहरुसँग एक आपसमा आवद्ध गरी असुली प्रक्रियालाई अनिवार्य, व्यवस्थित र प्रभावकारी रुपमा परिचालन गर्न राजश्वसँग सम्वन्धित राजश्व शाखाका कर्मचारी, वडाका कर्मचारी, वडा समितिका पदाधिकारी र टोल विकास संस्थाका पदाधिकारीहरुलाई तालिमको व्यवस्था मिलाइनेछ।
नगरपालिकाले हालको संबैधानिक तथा कानूनी ब्यवस्था अनुसार राजश्व संकलनको लागि करका दरहरु कायम भइसकेको र थप दायरा निर्धारण गरी त्यसको प्रचार प्रसार गर्न आवश्यक देखिएकोले राजश्व प्रक्षेपण गर्नुभन्दा पहिले नै सरोकारवालाहरुसँग पर्याप्त परामर्श गरी करको दर भन्दा दायरा फराकिलो वनाइनेछ। करदाताले तिर्नुपर्ने कर रकम सम्वन्धि जानकारी उपलब्ध गराउन कर शिक्षा सम्वन्धी सचेतना कार्यक्रम संचालन गर्ने नीति लिइएकोछ।

नगरसभाका सदस्य ज्यूहरु,

न्याय प्रणाली
स्थानीय तहलाई संविधानत्त प्राप्त न्यायिक अधिकारलाई जनताले प्रत्यक्ष अनुभुति गर्ने गरी सबलिकरण गरिनेछ।गाउँघर समाजमा उत्पन्न विवादको सूचिकृत मेलमिलापकर्ता तथा सहजकर्ता मार्फत सम्भव भएसम्म दुवै पक्षलाई मेलमिलाप र समझधारी गराई विवाद निरुपण गरिनेछ। न्यायिक समितिमा दर्ता भएका मुद्धाको निष्पक्ष छानविन गरि न्याय निरुपण गरिनेछ। न्याय प्रणालीलाई पहुँचयोग्य र सरलिकृत बनाईनेछ।
न्यायिक समितिका पदाधिकारी तथा नगर कार्यपालिकाबाट सूचिकृत मेलमिलापकर्ता तथा सहजकर्ताहरुलाई समयानुकूल पूनर्ताजगी तथा क्षमता विकास सम्बन्धी तालिम प्रदान गरिनेछ ।न्यायिक समितिको क्षेत्राधिकार भित्र पर्ने मुद्धाहरुको निष्पक्ष छानबिन गरी पिडित पक्षलाई न्यायको प्रत्याभुती हुनेगरी समयमै मुद्धा मामिलाको छिनोफानो गरिनेछ।

सुशासन तथा सेवा प्रवाह
स्थानीय सरकारको काम कारवाहीलाई प्रभावकारी वनाउँदै निर्माण गरिएका ऐन कानूनहरुलाई कार्यान्वयनमा ल्याइ विषयगत क्षेत्रका अत्यावश्यक कानून तर्जुमा गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।सेवाप्रवाहलाई सरलिकृत बनाउन अधिकतम सूचना प्रविधिको प्रयोग गरिनेछ।
नगरपालिका तथा वडा कार्यलयमा डिजिटल नागरिक वडापत्र राखिनेछ। सेवाप्रवाहलाई प्रक्रियामूखी नभई परिणामूखी बनाईनेछ।नगरपालिकाको खर्च प्रणालीलाई सरलिकृत गरिनेछ। जनतालाई सरल विधिबाट समयमै सेवा प्रदान गर्ने गरी नगरपालिकाका शाखाहरुको स्पष्ट कार्यविवरण बनाई लागु गरिनेछ।
जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी तालिम प्रदान गरी नगरवासीलाई सहज रुपमा सेवा प्रवाह गर्न संस्थागत सुदृढिकरण गरिनेछ । नगरपालिकाको सङ्गठन संरचना पुनरावलोकन गरी जनशक्ति पूर्ति गर्ने कार्यलाई प्राथमिकता दिइनेछ । नागरिकलाई सूचना दिन मोवाइल एप्लिकेसनहरुको प्रयोगलाई प्रभावकारी बनाइनेछ । पारदर्शिता तथा जवाफदेहिता कायम गरी नागरिकमैत्री सेवा प्रवाहको व्यवस्था गरिनेछ। नगरपालिकाबाट जनतालाई प्रदान गरिने सेवाहरु छिटो छरितो, चुस्त, दुरुस्त र प्रभावकारी बनाउन कम्प्युटरकृत सेवा प्रणालीको बिकास गर्दै लगिनेछ।
नियमित रुपमा सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण गर्ने प्रबन्ध मिलाईनेछ । सुचनाको हक प्रत्याभुत गराउन सुचनाको वर्गिकरण गरि नियमित रुपमा नगरपालिकाको आधिकारिक मार्फत सुचना प्रवाह गरिनेछ।
सञ्चारकर्मीलाई उच्च मनोबलका साथ जनतालाई सुसुचित गर्न प्रोत्साहन गरिनेछ। जनतासँग जनप्रतिनिधि जस्ता कार्यक्रमलाई निरन्तरता दिईनेछ। उत्कृष्ट सञ्चाकर्मिलाई सम्मान गरिनेछ। पत्रकारितामैत्रि नगरपालिकाको विकास गरिनेछ।
कर्मचारीलाई कामप्रति उत्प्रेरित गर्न र मनोवल उच्च राख्न कार्य सम्पादनमा आधारित प्रोत्साहन सुविधा उपलव्ध गराइनेछ। साथै कर्मचारी र शिक्षकलाई प्रदान गरिदै आएको पुरस्कारलाई निरन्तरता दिइनेछ । नगरपालिकामा कार्यरत अस्थायी र करार सेवाका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनेछ।साविकका स्थानीय निकाय (जि.वि.स., नगरपालिका, गा.वि.स)का स्थायी कर्मचारिको तह मिलान र स्तरवृद्धि गरिनेछ।
८० वर्ष माथिका जेष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका लाभग्राहीहरुलाई बैंकमार्फत घरमै भत्ता वितरणको व्यवस्थालाई थप प्रभावकारी बनाईनेछ।सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको फोटो सहितको विवरण अनलाइन प्रणालीमा अद्यावधिक गरिनेछ।
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली पूर्ण रुपमा कार्यान्वयनमा ल्याइनेछ जसको लागि एम आई एस अपरेटर, फिल्ड सहायक, वडा सचिव तथा अन्य कर्मचारी सेवा प्रदायकलाई आवश्यक तालिम प्रदान गरिनेछ। अनलाइन प्रणाली लागु हुनु अघिका बाकि रहेका घटना दर्ताहरु विवरणलाई डिजिटाइजेशन गरी अनलाइन प्रणालीमा प्रविष्टी गरिनेछ।
उपभोक्ताहरुको हितलाई मध्यनजर राखि गुणस्तरीय उपभोग्यवस्तुहरुको उपयोग र बिक्री वितरण गर्ने कार्यलाई मर्यादित र व्यवस्थित गर्न बजार अनुगमनलाई निरन्तरता दिइनेछ।संघीय सरकारको मालपोत तथा नापी कार्यालय स्थानीय तहलाई हस्तान्तरण गर्ने नीति अनुरुप मालपोत तथा नापी कार्यालय नगरपालिकाको मातहतमा ल्याई गुणस्तरिय सेवा प्रवाह गरिनेछ।
नगरपालिका भित्र रहेका टोल विकास संस्थाको क्षमता अभिवृद्धि गरी नगरपालिकाको विकास र जनचेतनामूलक कार्यमा प्रत्यक्ष सहभागी गराईनेछ। उत्कृष्ट कार्य गर्ने टोल विकास संस्थालाई पुरस्कृत गर्ने नीति लिइनेछ । टोल विकास संस्थालाई दिदै आएको अनुदानलाई निरन्तरता दिईनेछ।
यस नगरपालिकाको विदेशी मुलुक चीनको गान्सु प्रान्तको क्यानन् स्वायत्त क्षेत्र सँग भगिनी सम्बन्ध कायम भैसकेको छ। आर्थिक, सामाजिक, सास्कृतिक क्षेत्रको अनुभव साटासाट तथा आवश्यक सहयोग आदान प्रदान हुने गरी भगिनी सम्बन्धको मजबुतीकरण गरिनेछ। थप मुलुकसँग अन्तरराष्ट्रिय स्तरको सम्बन्ध कायम गर्ने नीति अवलम्बन गरिनेछ ।
सुशासन प्रबर्द्धन तथा भ्रष्टचार नियन्त्रणका लागिʺम भ्रष्टचार गर्दिनँ, म भ्रष्टचार हुन दिन्नँ, म देश र जनताका लागि ईमान्दार भएर काम गर्नेछुʺ भन्ने प्रतिज्ञासहितको कार्यसंस्कृतिको प्रवर्द्धन गरिनेछ।

चित्र बहादुर कार्की
नगर प्रमुख

प्रतिक्रिया दिनुहोस्