तिलोत्तमामा व्यक्तिको जग्गा सरकारीकरण गरिएको भन्दै मगर संघले ग-यो विरोध, विवादित जग्गामा गाड्यो झण्डा र बोर्ड


appharu

८ असार २०७८, मंगलवार २२:२५ मा प्रकाशित

पालिका पत्र / तिलोत्तमा ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नंं १ मगर टोलमा तीन पुस्तादेखि जोतभोग हुंदै आएको व्यक्तिको जग्गालाई सरकारीकरण गरिएको भन्दै नेपाल मगर संघ तिलोत्तमा नगर समितिले विरोध गरेको छ । साथै संघले उक्त जग्गामा नेपाल मगर संघको झण्डा र बोर्ड गाडेको छ । व्यक्तिको जग्गा सार्वजनिकरण गरी स्वास्थ्य केन्द्र बनाउन थालिएकोमा विरोध सभा गर्दै मगर संघले उक्त जग्गा रोक्का गरिएको सूचनासहितको बोर्ड गाडेको हो ।

विरोध सभामा बोल्ने वक्ताहरुले स्वर्गीय कलादेवी सारु मगरको नाममा रहेको कित्ता नंं ७४ को ११ कठ्ठा जग्गा २०१६ सालदेखि कलादेवीका तीन छोराले जोतभोग गर्दै आएको भएपनि लालपुर्जा बनाउन छुटेकोमा हाल उक्त जग्गालाई वडा कार्यालयले सरकारीकरण गरी स्वास्थ्य केन्द्र बनाउन थालेकोमा आपत्ति जनाएका छन् । उनीहरुले तीन पुस्तादेखि भोगचलन हुंदै आएको जग्गामा जबरजस्ती स्वास्थ्य केन्द्र बनाउन खोजे मगर संघले रोक्ने चेतावनी दिएका छन् ।

उक्त स्थानका पुराना बासिन्दा बाबुलाल थापाले सारु परिवार २०१६ सालदेखि जोतभोग गर्दै आएको जग्गाको टोकन पनि निस्केको र कित्ताकाट पनि भएको तर तत्कालीन उप प्रधानपञ्च बलराम खरेलले टोकन र कागजपत्र लगेर नदिंदा लालपुर्जा बन्न नपाएको दावी गरे । ‘अरु सबैले लालपुर्जा बनाए, तर सारु परिवार सोझा भएकाले लालपुर्जा बनाउन सकेनन्’–थापाले भने–‘यतिका वर्ष जोतभोग गरेको जग्गालाई अहिले आएर सार्वजकिरण गर्नु अन्याय हो ।’

विरोध सभामा नेपाल मगर संघ तिलोत्तमा नगर समिति अध्यक्ष लिला रानामगर, सल्लाहकार राजु राना, नेपाल मगर महिला संघ तिलोत्तमा अध्यक्ष राधिका श्रीस,नेपाल मगर युवा संघ तिलोत्तमा अध्यक्ष प्रेम जीएम लगायतले बोल्दै सारु परिवारले न्याय नपाउंदासम्म मगर संघ न्यायिक लडाई लडिरहने बताए । उनीहरुले स्वास्थ्य केन्द्र अन्यत्र बनाउन सकिने भन्दै उक्त जग्गा सारु परिवारले नपाए मगर संघले सामाजिक काममा प्रयोग गर्ने बताए । विवादमा परेको जग्गाको समस्या समाधानका लागि नगरभित्र क्रियाशील ६ वटै राजनीतिक दलबीच छलफल हुनुपर्नेमा वडा अध्यक्ष तामनाथ पाण्डेले एमाले र नेपाली कांग्रेससंग मात्रै छलफल गर्न खोजेको मगर संघको भनाई छ । राष्ट्रिय जनमुक्ति पार्टीले जग्गा विवादको समस्याबारे समाधानको पहलका लागि आग्रह गर्दा वडा अध्यक्ष पाण्डेले ‘हरुवा’ पार्टीसंग छलफल गर्न आवश्यक नभएको भन्दै दम्भ देखाएको बाबुलाल थापाले बताए ।

नगरपालिकाले स्वास्थ्य केन्द्र बनाउने भनी गत वर्ष चैतमा शिलान्याश गरेपनि विरोध भएपछि काम शुरु भएको थिएन । केही दिन अघि स्वास्थ्य केन्द्र बनाउन भन्दै वडा कार्यालयले इट्टा झारेपछि फेरि विरोध भएको हो । सरकारी कार्यालयहरुमा धाउंदा न्याय नपाएपछि जग्गा धनी पक्षले मगर संघलाई गुहारेकाले संघले न्यायका लागि आवाज उठाएको मगर संघ तिलोत्तमाका सचिव प्रेम कनौजेले बताए ।

प्रतिक्रिया दिनुहोस्