मेलम्चीका बाढी प्रभावितलाई तिलोत्तमाको राहत


appharu

23 June, 2021 12:06 pm मा प्रकाशित

पालिका पत्र / तिलोत्तमा ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा हालै आएको पहिरो सहितको बाढीले प्रभावित परिवारलाई रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पांच लाख रुपैयां दिने घोषणा गरेको छ ।

तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको वजेट सार्वजनिक गर्ने कार्यक्रममा बुधबार नगर प्रमुख बासुदेव घिमिरेले मेलम्चीका बाढी प्रभावित परिवारलाई राहतका लागि पांच लाख रुपैयां दिने घोषणा गरेका हुन् । ‘मेलम्चीमा बाढीले ठूलो धनजनको क्षति भएको छ, त्यसमा हामीले सक्दो सहयोग गर्नुपर्छ भनेर घोषणा गरिएको छ, अब एक दुई दिनमै रकम पठाउंछौं’–नगर प्रमुख घिमिरेले भने–‘जुनसुकै जिल्लाको पालिकामा विपद पर्दा हामीले सक्दो सहयोग गर्नुपर्छ भन्ने तिलोत्तमाको मान्यता छ ।’

मेलम्चीका बाढी प्रभावितलाई राहत स्वरुप आर्थिक सहयोग दिने निर्णय गर्ने लुम्बिनी प्रदेशका १०९ पालिका मध्ये तिलोत्तमा पहिलो पालिका भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले बताए । ‘नगरप्रमुखले नगर सभामा वजेट सार्वजनिक कार्यक्रममा गरेको घोषणा अनुसार प्रकृया पु¥याएर एक–दुई दिनभित्रै मेलम्ची नगरपालिकाको विपद व्यवस्थापन कोषको खातामा पांच लाख रुपैयां पठाउंछौं’–नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले भने–‘हाम्रो निर्णय अरु पालिकाले पनि अनुशरण गरेको खण्डमा मेलम्चीका बाढी प्रभावितलाई राहत पुग्छ भन्ने हाम्रो विश्वास हो ।’ मेलम्चीमा यही असार गते आएको बाढीले अर्बौंको भौतिक क्षति र ठूलो मानवीय क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्