लुम्बिनीमा जसपा समायोजन समिति गठन,साउनभित्र प्रदेश र जिल्लाहरुको समायोजन गरिने


appharu

९ असार २०७८, बुधबार १६:३५ मा प्रकाशित

पालिका पत्र / बुटवल ।
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश र जिल्ला समितिहरु समायोजनका लागि ६ सदस्यीय समिति गठन भएको छ । दुई पार्टीहरु केन्द्रमा एकीकरण भएको एक वर्ष पूरा भएपनि प्रदेश र जिल्लामा समाजोजन हुन सकेको थिएन । पार्टीका केन्द्रीय सदस्य दानबहादुर चौधरीको अध्यक्षतामा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुको उपस्थितिमा गोबिन्दप्रसाद चौधरीको संयोजकत्वमा समायोजन समिति सर्वसम्मत गठन भएको हो । जसमा पुर्व राजपाबाट ३ जना र पुर्व समाजवादी पार्टीबाट ३ जना सदस्य छन् । सदस्यहरुमा अतिउल्लाह मुसलमान,उमाशंकर यादव,कमल खनाल,अशोककुमार यादव र यज्ञ पोखरेल रहेका छन् ।
समितिले साउनभित्र प्रदेश समिति र १२ वटै जिल्ला समिति समायोजनको काम पूरा गर्ने निर्णय गरेको समतिका सदस्य अशोककुमार यादवले बताए । ‘पार्टीबाट केही साथीहरु केपी ओलीको प्रतिगामी र असंवैधानिक निर्णयको पछि लागेर जानुभयो, अब उहांहरु वाहेकका साथीहरुलाई समेटेर समायोजनको काम अघि बढ्छ’–यादवले भने–‘समायोजनसंगै पार्टी संगठन विस्तार र सुदृढिकरणले गति लिन्छ र आउंदो चुनावसम्म पार्टी निर्णायक शक्तिका रुपमा उदय हुन्छ ।’
समायोजन समितिका संयोजक गोबिन्दप्रसाद चौधरीले हिमाल,पहाड र तराई मधेशका सबै वर्ग, समुदाय र क्षेत्रलाई समेटेर अघि बढेको जसपा नै मुलुकको अग्रगामी र वैकल्पिक शक्ति भएकाले कसैको भ्रममा नपरी समायोजनमा सहभागी हुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्