ओमसतिया गाउँपालिकामा कर्मचारीबाट जालसाजी काम

सोझा किसानको बाख्रा फार्मको नाममा अनुदान लिएर आफै झ्वाम


appharu

२८ असार २०७८, सोमबार ०९:१३ मा प्रकाशित

पालिकापत्र/ओमसतिया ।
ओमसतिया गाउँपालिकाका कर्मचारीले जालसाजीपूर्ण काम गरेको खुलासा भएको छ । पशु शाखाका कर्मचारीले सोझा किसानको बाख्रा फार्मलाई देखाएर अनुदान लिई आफैले झ्वाम पारेको खुलेपछि गाउंपालिकामा खैलाबैला भएको छ । गाउंपालिकाको वडा नम्बर २ कर्मडाडा निवासी दुर्गाबहादुर थापा र मनमाया थापाको इसान बाख्रा पालन फर्मलाई प्रयोग गरेर कर्मचारीले आर्थिक अनियमितता गरेको रहस्य बाहिर आएको छ ।

दुर्गाबहादुर थापाको फोनमा गाउँपालिका पशु विभाग प्रमुख शंकर भण्डारीले २०७८ वैशाख १४ गते फोन गरेर गाउँपालिकाले बाख्रा खरिद गर्दै छ त्यसका लागि तपाईको फर्म प्रयोग गर्नुपर्ने भयो भने । भण्डारीले थप कुरा गर्दै भने गाउँपालिकाको खाताबाट केही रकम तपाईको फर्मको खातामा आउने छ तपाईले मलाई चेक सही गरेर दिनुहोस् । थापाले भण्डारीको उक्त कुरा सुनेपछि आफूसँग अहिले चेक र छाप नभएको तर बैंकमा रहेको भने । पहिले पनि छाप र कर चुक्ता लगाएतका डकुमेन्ट भण्डारीले मागरे लग्दै आएकोमा भण्डारीले धेरै आग्रह गरेपछि थापाले अर्को दिन आएर लैजान भने ।

फोनमा भण्डारीले थापालाई आफू नआउने तर गाउँपालिकाका कर्मचारी चक्रपाणी गैरेलाई गाउँपालिकाको खाताबाट आउने रकमको चेक लिएर पठाउने बताए । अर्को दिन आएर गैरेले गाउँपालिकाको चेक लिएर आएर फर्मको चेकमा गाउपालिकाबाट आएको चेकमा भएको रकम लेखी सही गर्न लगाएर चेक र छाप लगेको थापाले जानकारी दिए ।

२०७८ बैशाख १६ गते फर्मको नाममा रहेको ज्योती विकास बैंक लिमिटेडको खाता नं ०७१३१६००२६१४१८०००००३ मा ओमसतिया गाउँपालिकाको एनएमवी बैंक लिमिटेडको खाताबाट ४ लाख ६२ हजार ६ सय ५ रुपैया रकमको चेक जम्मा भएको देखिएको छ ।

रकम जम्मा भएको अर्को दिन अर्थात बैशाख १७ गते फर्मको खाताबाट आशिष बस्यालको नाममा ४ लाख ६२ हजार ६ सय ५ रुपैयाँ नै निकालिएको बैंकको स्टेटमेन्टमा देखिएको छ । थापाका अनुसार आफूहरुको फर्मको दुरुपयोग गरी गाउँपालिकाको रकम हिनामिना भएको छ । आफूहरुले कुनै किसिमको अनुदानको लागि गाउँपालिकासँग माग नगरेको र कर्मचारीसँग पनि यस विषयमा कुनै कुरा नगरेको तर शंकर भण्डारीले आफूहरुको फर्म मार्फत गाउँपालिकाको लागि बाख्रा खरिद गर्नुपरेको भनेपछि चेक दिएको बताए । थापाका अनुसार आफूहरुलाई बाख्रा खरिद गर्न निजी फर्म चाहिने प्रावधान रहेको नरहेको थाहा नभएकाले उक्त चेक दिएका हौ । गाउँपालिका र फर्मबीच यस विषयमा कुनै पनि खालको सम्झौता भएको देखिदैन ।

थापा दम्पतीले ओमसतीया गाउँपालिका बाट २०७६ फागुन १३ गते अनुदानमा बोयर जातको पाठा पाएका थिए । उक्त अनुदान पाउनको लागि थापाले गाउँपालिकासँग दुईपक्षीय सम्झौता गरेको देखिन्छ । एउटा पाठाको लागि दुईपक्षीय सम्झौता गर्ने गाउँपालिकाले कुनै निजी फर्ममा गाउँपालिकाको खाताबाट रकम जम्मा गर्दा कुनै पनि सम्झौता गरेको देखिदैन ।

गाउँपालिकामा कुनै पनि अनुदानको लागि वडा मार्फत सिफारिश हुनुपर्दछ तर थापा दम्पतीले ओमसतिया गाउपालिका वडा नं २ मा पनि कुनै किसिमको अनुदानको लागि माग गर्न आएको देखिदैन । दुर्गा बहादुर थापाका अनुसार शंकर भण्डारीले गाउँपालिकाले बाख्रा किन्नुपर्ने भएकोले आफूहरुको फर्म प्रयोग गर्ने बताएकोले आफूहरुलाई केही थाहा नभएकोले होला चेक र छाप दिएको जानकारी दिए ।

थापाका अनुसार आफूहरुले भण्डारीको कुरा पत्याएर चेकमा सही गरेर दिएको तर गत असार १७ गते फर्मको खाता रहेको ज्योती विकास बैंक भैरहवा शाखामा पुग्दा शाखा प्रबन्धकले तपाईहरुको फर्ममा त अनुदानको रकम आएको रहेछ बधाई छ भन्दा आफूहरु आश्चर्य चकित भएको देखेपछि पुरै कुरा बुझ्दा शाखा प्रबन्धकले तपाईहरुको फर्मको खाता प्रयोग गरी अनुदानको रकम दुरुपयोग भएको देखियो भनेपछि आफूहरु माथि जालसाँची भएको महसुस भयो । आफूहरुको फर्म दुरुपयोग गरी गाउँपालिका कर्मचारीले मिलेमतोमा गरी जालसाझी भएको थाहा हुने बित्तिकै थापा दम्पत्ती गाउपालिका वडा नं २ अध्यक्ष ज्ञानेश श्रेष्ठकोमा आइपुगे । अहिले थापा दम्पत्तीले उक्त घटनाको विरुद्ध उजुरी दर्ता गर्ने क्रममा छन् । उजुरीमा शंकर भण्डारी र चक्रपाणी गैरेसँग भएको घटना विवरण सबै उल्लेख छ ।

वडा अध्यक्ष ज्ञानेश श्रेष्ठका अनुसार गाउँपालिकाको कर्मचारीको नियत ठिक भएको देखिदैन । संघीय, प्रदेश अथवा गाउपालिकाबाट आउने कुनै पनि किसिमका अनुदानको लागि वडाले सिफारिश गर्नुपर्ने हुन्छ आफूले कुनै पनि किसिमको सिफारिश नगरेको श्रेष्ठले प्रष्ट पारे । श्रेष्ठले बाख्रा खरिद गर्न कुनै निजी फर्म प्रयोग गर्नु पर्दैन अहिलेसम्म गाउँपालिकाले कति जनाको निजी फर्म प्रयोग गरेर बाख्रा खरिद गर्यो प्रश्न गरे ।

शंकर भण्डारी र चक्रपाणी गैरेले थापा दम्पत्तीले गाउँपालिकाबाट बोयर जातको पाठा अनुदान पाएपछि बाख्राको स्वास्थ चेकजाच गर्न आउने क्रममा नजिक भएका थिए । उक्त चिनजानकै दुरुपयोग गरी भण्डारी र गैरेको मिलेमतोमा गाउँपालिकाको बजेटमाथि अनियमितता भएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्