५० बढी युवा व्यवसायी जनमुक्ति पार्टीमा प्रवेश

‘विद्या भण्डारी र केपी ओलीका कारण संघीयता बद्नाम भयो’


appharu

३० असार २०७८, बुधबार १७:३० मा प्रकाशित

पालिका पत्र,सिद्धार्थनगर ।
विभिन्न क्षेत्रमा आवद्ध ५० जना भन्दा बढी युवा व्यवसायीहरु राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेका छन् । बुधबार भैरहवामा आयोजित एक कार्यक्रममा रुपन्देही र नवलपरासीका युवा व्यवसायीलाई पार्टीका केन्द्रीय उपाध्यक्ष,महासचिव,उपमहासचिव,प्रदेश अध्यक्ष लगायतका नेताले पार्टीको सदस्यता दिंदै स्वागत गरेका छन् । राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीका युवा नेता मोजिब अलीको पहलमा भैरहवाका अरमान अन्सारी र दीपेन्द्र खनाल तथा नवलपरासी सुस्ताका समसाद अन्सारीको नेतृत्वमा उनीहरु पार्टी प्रवेश गरेका हुन् । सो कार्यक्रममा बोल्दै पार्टीका महासचिव केशव सूर्यवंशी मगरले गणतन्त्र,संघीयता, धर्म निरपेक्षता, समावेशीता, समानुपातिक प्रतिनिधित्व जस्ता एजेण्डाहरु राष्ट्रिय जनमुक्ति पार्टीले ३० वर्षदेखि उठाउंदै आएका एजेण्डा भएको बताउंदै आफ्नो दल विचार,सिद्धान्त र नैतिकताको बलमा टिकेको पार्टी भएको बताए । उनले निवर्तमान प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारी लगायतका संघीयता विरोधीहरुको हातमा शासन सत्ता हुंदा संघीयता बद्नाम भएको भन्दै संघीयताको सच्चा हिमायती राष्ट्रिय जनमुक्ति पार्टी भएको बताए । महासचिव सूर्यवंशीले भ्रष्टाचारलाई निर्मूल पार्नुपर्छ र भ्रष्टाचार प्रमाणित व्यक्तिलाई आजीवन जेल सजाय र समपत्ति राष्ट्रियकरण गर्ने कडा कानूनको माग र वकालत गर्ने पार्टी राष्ट्रिय जनमुक्ति पार्टी मात्रै भएको बताए ।
कार्यक्रममा नवप्रवेशी अरमान अन्सारीले देशका अन्य पार्टीहरु भन्दा जनमुक्ति पार्टीको सिद्धान्त र विचार मन परेर पार्टी प्रवेश गरेको भन्दै अब पार्टीलाई आउंदो चुनावमा जित दिलाउन लाग्ने बताए । कार्यक्रममा पार्टीका उपाध्यक्ष डा. हाजी मोहम्मद,पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झमबहादुर गुरुङ,जिल्ला अध्यक्ष प्रेम थापा मगर, प्रदेश सचिव बीके राना, जनमुक्ति युवा महासंघ लुम्बिनी अध्यक्ष डीबी थापा,नेता मोजिब अली लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्