हामी आयौं ‘पालिका पत्र’ लिएर


appharu

१ श्रावण २०७८, शुक्रबार ०८:१३ मा प्रकाशित

अहिलेको युग सूचना सञ्चार तथा प्रविधिको युग हो । सञ्चार प्रविधिको विकासका कारण आम नागरिकमा सूचनाको भोक लाग्ने लत नै बसिसकेको छ । मानिसहरु जतिसक्दो छिटो नयां सूचना, समाचार र ज्ञान लिन चाहन्छन् । अहिलेको युगमा सूचना, समाचार, ज्ञान, मनोरन्जन दिने सबैभन्दा सहज र छिटोछरितो माध्यम आम सञ्चार हो । त्यसमा पनि डिजिटल मिडिया अर्थात अनलाइन न्यूज पोर्टल । नेपालमा डिजिटल सञ्चार माध्यमको कमी छैन ।

तर हामीले अरुले भन्दा फरक बिटलाई प्राथमिकता दिएर अघि बढ्न आएका छौं । हामीले लामो संघर्ष र बलिदान पछि संविधान सभाबाट बनेको संविधानले नेपालको राजनीतिक इतिहासमा पहिलोपटक स्थानीय, प्रदेश र संघ गरी राज्यका तीन तहहरू हुने व्यवस्था गरे अनुसार पालिका अर्थात स्थानीय तहसंग सम्बन्धित विषयवस्तुलाई मुख्य प्राथमिकता र केन्द्रबिन्दुमा राखेर बिट पत्रकारिता गर्ने अठोट गरेर सबै पालिकाका खबर नारा सहित ‘पालिका पत्र’ लिएर पाठक–दर्शक श्रोतामाथ आएका छौं ।

किनभने पालिकाहरु नै संघीयताको जग र संघीय एकाइको रूपमा संवैधानिक व्यवस्था गरिएका मुलुकको विकास र समृद्धिका आधार स्तम्भ हुन् । जसअनुसार अहिले मुलुकमा ४६० गाउँपालिका, २७६ नगरपालिका, ११ उपमहानगरपालिका र ६ वटा महानगरपालिका छन् । सबै पालिकामा गरी कूल ६ हजार ७४३ वडा र ३७ हजार २० जना जनप्रतिनिधि छन् । हो हामीले यिनै पालिका र यिनका जनप्रतिनिधिलाई अझ बढी जिम्मेवार,इमान्दार र जवाफदेही र पारदर्शी बनाउन खबरदारी गर्ने अभियान शुरु गर्न लागेका हौं ।

सबै नीतिको माउ नीति राजनीति भने जस्तै समग्र नेपालको विकास र समृद्धिको आधारस्तम्भ पालिकाहरु नै हुन् । समावेशिताको नमूना पनि पालिकाहरु नै हुन् । मुलुकको राजनीतिको प्रारम्भ विन्दु पनि पालिका नै हुन् । त्यसैले पालिकाको महत्व वहुआयामिक छ । पालिकालाई संविधानले थुप्रै अधिकार दिएपनि कार्यान्वयनमा अझै चुनौति छन् । खासगरी साझा सूचिका अधिकारको बाँडफाँडमा अझै समस्या छ । केन्द्रले अझै पनि स्थानीय तहलाई संविधानले व्यवस्था गरेका कतिपय अधिकार दिन आलटाल गर्ने र अरुचि देखाइरहेको गुनासो व्यापक छ ।

हामी पालिकाहरुलाई पहिलो प्राथमिकता दिएर बिट पत्रकारिता गर्ने उद्देश्यका साथ पालिका न्यूज नेटवर्क प्रा.लि.द्वारा सञ्चालित पालिकापत्र डटकम www.palikapatra.com लिएर आएका छौं । सूचना तथा सञ्चार प्रविधिको द्रूत गतिमा भइरहेको विकासले हाल विश्व नै डिजिटल दुँनियामा बदलिएको हुँदा हामीले पनि डिजिटल पत्रकारिता रोजेका हौं । हाम्रो सरोकार र चासो पालिका सरकारहरु तथा पालिकाका सम्भावना, चुनौति एवं समस्याहरुमा हुने छ । स्थानीयस्तरका खबर, मुद्धा, कला, संस्कृति र सम्पदालाई राष्ट्रियकरण गर्दै संघीय र प्रदेश सरकारको ध्यान आकर्षित गर्न पालिकापत्र सदैव जागा हुनेछ । पालिकाका नीति, कार्यक्रम, वजेट, तिनको कार्यान्वयन, सुशासन र पारदर्शितामा हाम्रो निगरानी र खबरदारी हुनेछ ।

तीन तहको सरकार अन्तर्गत अहिले घरघरको सिंहदरबार भनेर चिनिने स्थानीय सरकार र यहाँका जनप्रतिनिधि बिभिन्न ठाउँमा चुक्दा, भ्रष्टाचारमा लिप्त हुँदा, समग्रमा घोषणा पत्र अनुसार काम नगर्दा आम नागरिकमा एक प्रकारको निरासा पैदा गरेको छ । कतिपय स्थानीय सरकारले संघीय र प्रदेश सरकारलाई नै चुनौति दिने गरी राम्रो काम गरेका छन् भने कतिपय स्थानीय तहले आफ्नो स्पिड समात्न अझै पनि सकेका छैनन् । राम्रो गतिमा अगाडी बढेका पालिका, पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य र कर्मचारीलाई समाचार, सूचना, अन्तर्वार्ता, विचार, लेख आदिबाट थप प्रोत्साहन गर्ने र गलत परिपाटीको डेरा जमाएर जनउत्तरदायी नभई भ्रष्टाचार लगायतमा लिप्तहरुलाई खरो खबरदारी गरी जनतामाझ सार्वजनिक गर्ने मुख्य उदेश्यसहित पालिका पत्रको यात्रा प्रारम्भ भएको छ ।

संविधानले व्यवस्था गरे अनुसार स्थानीय सरकारलाई आफ्नो शासन आफैं गर्ने अधिकार सम्पन्न बनाउन पालिकापत्रको निरन्तर पैरवी हुनेछ । पालिका र जनप्रतिनिधिले गरेका असल काम, जनपक्षीय निर्णयहरुलाई हामीले खुला हृदयले साथ दिनेछौं । संगसंगै स्थानीय तहहरुमा हुने बेथिति, अनियमितता र भ्रष्टाचारमाथि पनि हामीले उत्तिकै निर्मम ढंगले प्रहार गर्नेछौं । संघीयता, लोकतान्त्रिक गणतन्त्र, संविधान, कानून र विधिको शासन, सुशासन, खुला अर्थतन्त्र, सामाजिक न्यायको सवालमा हामीले कसैसंग कुनै सम्झौता गर्ने छैनौं ।

पत्रकारिता अध्ययन गरेरै एक दशकदेखि पत्रकारिताका सबै अनुभव (रेडियो, टेलिभिजन, पत्रपत्रिकामा अनलाइन) हासिल गरेका दरिलो टिम रहेको र प्रत्येक जिल्ला–जिल्लामा सोही मुताविकका अनुभवी संवाददाताहरु जागा रहेकाले हामीले लिएको लक्ष्यमा हामी पक्कै पनि सफल हुने छौँ ।

जनताको जीवनस्तरमा देखिने सुधार र परिवर्तनसहित सबै पालिकाको समन्यायिक विकास र समृिद्धमा हामीले सबै पालिका र पालिकावासी सचेत नागरिकसंग हातेमालो गर्दै हाम्रो यात्रा अघि बढाउने छौं । सबै सरोकारवाला पक्ष र पाठकका रचनात्मक सुझाव र आलोचनालाई हामी सधैं स्वागत गर्ने छौं । र सञ्चारमाध्यमलाई दीगो बनाइराख्न यहाँहरु सबैबाट साथ र सहयोग पाउने नै छौं भन्ने अपेक्षा मात्र हैन विश्वास लिएका छौं ।

प्रतिक्रिया दिनुहोस्