विपक्षी गठबन्धनले माग्यो मुख्यमन्त्री पोखरेलको राजीनामा


appharu

२ श्रावण २०७८, शनिबार ०६:१३ मा प्रकाशित

बुटवल ।
लुम्बिनी प्रदेशको विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा मागेको छ। विपक्षी गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी (उपेन्द्र यादवपक्ष) र राष्ट्रिय जनमोर्चाले पत्रकार सम्मेलन गरी नेकपा एमाले दलका नेता शंकर पोखरेल नेतृत्वको सरकार असंवैधानिक र अल्पमतमा रहेकाले राजीनामा दिन माग गरेको हो।

‘प्रदेश सरकार र सत्तापक्षका सांसदहरू प्रदेश सभाको बैठक बहिस्कार गरी हठात् मानसिकताबाट ग्रसित भई अधिवेशन अन्त्य गरी सोझै अध्यादेशबाट बजेट ल्याउने कार्य असंवैधानिक, अलोकतान्त्रिक स्वेच्छाचारी कदम हो,’ चार दलका नेताहरूले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘यस कदमको गठबन्धन दल घोर विरोध गर्दछ, यस परिघटनाले माननीय शंकर पोखरेल नेतृत्वको सरकार असंवैधानिक र अल्पमतको सरकार हो भन्ने प्रमाणित गर्छ।’

पत्रकार सम्मेलनमा कांग्रेस प्रमुख सचेतक फखरूद्दिन खानले सरकारले नैतिकता गुमाएकाले राजीनामा दिनुपर्ने बताए।
उनले प्रदेश प्रमुखले समेत पार्टीको कार्यकर्तासरह भूमिका निर्वाह गरिरहेको बताए।

माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले सरकार संसद् छलेर भागेकाले सरकार अल्पमतमा रहेको पुष्टि भएकाले राजीनामा दिनुपर्ने तर्क गरे।

प्रतिक्रिया दिनुहोस्