देउवालाई विश्वासको मत दिन एमाले नेता खनालको अपील


appharu

३ श्रावण २०७८, आईतवार १३:३३ मा प्रकाशित

पालिका पत्र, काठमाडौं ।

पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अपिल गरेका छन् । भारतको दिल्लीस्थित एपोलो अस्पतालबाट आइतबार प्रेस विज्ञप्ति जारी गर्दै खनालले देउवालाई विश्वासको मत दिन अपील गर्दै आफ्नो मत पनि देउवा सरकारकै पक्षमा हुने स्पष्ट पारेका हुन् । आज बस्ने प्रतिनिधि सभा वैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यसूचि छ ।

‘यो सरकार संविधानको धारा ७६ (५) बमोजिम बनेको र यसले ३० दिनभित्रमा विश्वासको मत प्राप्त गर्नुपर्छ । अन्यथा मुलुकको स्थिति फेरी संकटग्रस्त हुनेछ । त्यसैले म नेकपा (एमाले) का संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनै पनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु,’ खनालले वक्तव्यमा भनेका छन्, ‘मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा हुने कुरा पनि यो वक्तव्य मार्फत प्रष्ट पार्न चाहन्छु ।’

गत असार २७ गते सर्वोच्च अदालतको फैसलाले निकै लामो समयदेखि गलत बाटोमा गइरहेको नेपालको लोकतान्त्रिक आन्दोलनको प्रवाहलाई ठिक बाटोमा ल्याएको र संविधानको संरक्षण भएको पनि खनालले बताएका छन् । ‘५ वर्षको निम्ति निर्वाचित भएको प्रतिनिधि सभालाई असंवैधानिक रुपले गरिएको विघटनलाई बदर गरी फेरि पुनः स्थापित गरिएको छ । त्यसैले यो नेपालको संवैधानिक–राजनीतिक इतिहासमा एउटा ऐतिहासिक फैसला हो,’ खनालको भनाइ छ ।

खनालले वक्तव्यमा आफ्नो स्वास्थ्यमा क्रमशः सुधार आइरहेको पनि जानकारी दिएका छन् । यसअघि माधव नेपाल पक्षका सांसदहरु विरोध खतिबडा,मेटमणी चौधी,रामकुमारी झांक्री लगायतले पनि सार्वजनिकरुपमा देउवालाई विश्वासको मत दिन अपील गरिसेका छन् । माधव नेपाल पक्षका २६ सांसदले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै राष्ट्रपतिलाई हस्ताक्षर बुझाएका थिए भने ओलीले संसद विघटन गरेपछि पुनस्थापना गर्न माग गर्दै २३ जना नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदसंगै सर्वोच्च अदालतमा गएका थिए । जसमा एमालेका २३ जनासहित १४६ सांसद थिए । यही बलियो प्रमाण र कारण सवोृच्चले संसद पुनस्थापना गर्ने फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्