भैरहवा भन्सार कार्यालयले उठायो लक्ष्यभन्दा बढी राजश्व


appharu

४ श्रावण २०७८, सोमबार ०९:०३ मा प्रकाशित

बुटवल ।
भैरहवा भन्सार कार्यालय गत आर्थिक वर्षमा राजश्व संकलनको लक्ष्य पूरा गरेको छ । विगत ३ वर्षदेखि लक्ष्यअनुसार राजस्व संकलनमा असफल हुँदै आएकोमा आर्थिक वर्ष २०७७/०७८ मा भन्सार कार्यालयले लक्ष्यभन्दा १३ प्रतिशत बढी अर्थात् १ सय १२ दशमलव ५४ प्रतिशत राजस्व संकलन गरेको हो ।

कार्यालयले आर्थिक वर्ष २०७७/०७८ लागि ९९ अर्ब ६५ करोड ७६ लाख राजस्व संकलन गर्ने लक्ष्य पाएकोमा १ खर्ब १२ अर्ब ५४ करोड २५ लाख राजस्व संकलन भएको कार्यालयले जनाएको छ । जुन लक्ष्यको १२ दशमलव ९३ प्रतिशत बढी हो ।

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले गत आर्थिक वर्षमा आर्थिक गतिविधि बढेको र आयातमा समेत वृद्धि हुँदा लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएको बताए । गत आर्थिक वर्षमा सबैभन्दा बढी राजस्व भैरहवा भन्सार कार्यालयले मोटरसाइकल आयातबाट संकलन गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मोटरसाइकल आयात गरेबापत १८ अर्ब ६० करोड ३८ लाख ९९ हजार राजस्व संकलन गरेको छ ।

यस्तै, एमएस विलेटबाट ५ अर्ब २८ करोड ३७ लाख ४ हजार रुपैयाँ र ग्लेज टाइलबाट २ अर्ब ८७ करोड ४४ लाख ५० हजार राजस्व संकलन भएको छ । त्यसैगरी हाइस्पिड डिजलबाट २ अर्ब ६३ करोड, सिंगल क्याब पिकअपबाट २ अर्ब ६२ करोड, डबल क्याब पिकअपबाट २ अर्ब ४७ करोड राजस्व संकलन भएको छ ।

यता गत आर्थिक वर्षमा कार्यालयबाट १ अर्ब ९२ करोड मूल्य बराबरको भटमासको तेल निर्यात भएको छ । त्यस्तै १ अर्ब २८ करोडको सेन्थेटिक यार्न, ५२ करोडको पिना, ३६ करोडको स्टीलका भाडाकुडा, ३४ करोडको चोकर र भुस, २७ करोडको जडीबुटी निर्यात भएको छ ।

भैरहवा भन्सार हुँदै यी वस्तुसहित विशेष खोटो रोजिन, बोरा झोला अन्य कपडा, प्लास्टिकको नली पाइप, रेसाको कपडा, दालचिनीलगायतका वस्तु निर्यात हुने गरेका छन् । साथै भारतबाट नेपालतर्फ गाडी, ट्रक, मिनी ट्रक, मार्बल, पेट्रोललगातका वस्तु बढी मात्रामा आयात हुने गरेको छ ।

लक्ष्यअनुसार राजश्व उठाउन ३ वर्षपछि सफल

विगत ३ वर्षदेखि लक्ष्य अनुसारको राजस्व संकलनमा असफल हुँदै आएको भैरहवा भन्सार कार्यालय गत आर्थिक वर्षमा संकलन लक्ष्य पार गरेको छ । आर्थिक वर्ष २०७४/०७५ मा ८१ अर्ब ४३ करोड ७७ लाख ९२ हजार लक्ष्य तोकिएकोमा ८६ प्रतिशत मात्र अर्थात् ७० अर्ब २८ करोड ९३ लाख ५ हजार राजस्व संकलन भएको थियो ।

यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा ९३ अर्ब ९५ करोड ९७ लाख ७३ हजार संकलनको लक्ष्य पाएकोमा ८८ प्रतिशत अर्थात् ८२ करोड ३० लाख ५३ लाख ३३ हजार मात्र संकलन भएको थियो । सबैभन्दा कम राजस्व आर्थिक वर्ष २०७६/०७७ मा संकलन भएको थियो । अहिलेसम्मकै सबैभन्दा बढी १ खर्ब ६ अर्व ८८ लाख ८६ हजार लक्ष्य तोकिएकोमा कार्यालयले ६६ प्रतिशत मात्र राजश्व असुल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्