ओली समूहद्धारा १० बुँदे एकता प्रस्ताव कार्यान्वयनको घोषणा

माधव नेपालको छैन सहमति


appharu

४ श्रावण २०७८, सोमबार १६:४२ मा प्रकाशित

काठमाडौं ।
नेकपा (एमाले) को केन्द्रीय कमिटीको १० औं बैठकले १० बुँदे एकता प्रस्ताव पारित गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने निर्णय गरेको छ ।

सोमबार बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई मतदान गर्ने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । ज्ञवालीले गत जेठ २३ गते अध्यक्ष केपी ओलीले गरेको पार्टी एकताको आह्वान र गत असार २७ गते कार्यदलले तयार पारेको १० बुँदे कार्यान्वयन सुरु गरेको दावी समेत गरे ।

बैठकमा पार्टी अध्यक्ष केपी ओलीले शेरबहादुर देउवाले विस्वासको मत लिने क्रममा देखिएका परिदृश्य र त्यसले पारेका प्रभावका बारेमा चर्चा गरेका थिए । ‘त्यसलाई बैठकले अग्रगमनमाथिको धक्काका रुपमा लिएको छ । पार्टीको निर्देशनविपरित फ्लोर क्रस गर्ने र मत दिने काम पार्टी अनुशासनहिन र गलत काम भएकोले २२ जना सांसदहरुलाई स्पष्टीकरण माग्ने निर्णय भएको छ’, बैठकपछि प्रवक्ता ज्ञवालीले जानकारी दिए । उनीहरुलाई सोधीएको स्पस्टीकरणको आधारमा कस्तो कारवाही गर्ने भन्ने निर्णय हुने एमालेले जनाएको छ ।

त्यस्तै बैठकमा ओलीसहितका नेताले माधव नेपाल एमालेमा नफर्कने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए । ‘हाम्रा प्रयासले माधव नेपाललाई फर्काउन नसकेको हो’, प्रवक्ता ज्ञवालीले पनि सो कुरालाई पुष्टि गरे, ‘हामीले १० बुँदे कार्यन्वयन गरौ भनेर हिजो बिहान पनि माधव नेपाललाई भेटेर भन्यौ तर उहाँले ठाडो जवाफ दिनुभयो । प्रस्तावमा सहमत छैन, काँग्रेसलाई मत दिने बचनबाट म पछि हट्दिन र अल्पमतमा रहेको कमिटिमा गएर निर्णय मान्दिन भन्नुभयो’, नेपालको भनाइ उदृत गर्दै ज्ञवालीले भने, ‘हामीले उहाँलाई जति प्रयास गर्दा पनि एमालेमा फर्काउन नसकेकै हो ।’

बैठक भोलि ३ बजे पुन बस्नेछ । त्यस्तै बैठकमा उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामाका बारेमा समेत चर्चा भएको थियो । ‘उहाँले राजीनामा गर्नुहुँदैन थियो । पार्टीभित्र समस्याहरु भएपनि भित्रै छलफल गरेर समाधान गर्न सकिन्थ्यो’, ज्ञवालीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्