असार १५, कपिलवस्तु ।
सामुदायिक वनहरू पछिल्लो समय वन संरक्षण र व्यवस्थापनमा मात्र सीमित नरही सामाजिक उत्तरदायित्वका विभिन्न क्षेत्रमा पनि सक्रिय बन्दै गएका छन्। यसको उदाहरणका रूपमा कपिलवस्तुको बाणगंगास्थित श्रृङ्गिघाट सामुदायिक वन उपभोक्ता समूह स्थापित भएको छ।
वनबाट प्राप्त आम्दानीलाई विकास निर्माण, विपद् तथा राहत सहयोग, क्षमता अभिवृद्धि, शिक्षा, स्वास्थ्य तथा समुदायका आवश्यकतामा लगानी गर्दै आएको समूहले स्थानीय तहमा सकारात्मक प्रभाव पार्न सफल भएको छ।
सब–डिभिजन वन कार्यालय मोतिपुरका प्रमुख एजाज अहमद अन्सारीका अनुसार सामुदायिक वन उपभोक्ता समूहहरूले वन संरक्षणलाई प्राथमिकतामा राख्दै आम्दानीको एक हिस्सा सामाजिक तथा सामुदायिक विकासमा खर्च गर्न थालेका छन्। यसले वनप्रतिको अपनत्व बढाउनुका साथै समुदायको जीवनस्तर सुधारमा समेत महत्वपूर्ण योगदान पुर्याएको उनले बताए।
श्रृङ्गिघाट सामुदायिक वनले सामाजिक उत्तरदायित्वअन्तर्गत लुम्बिनी प्रदेशमै पहिलोपटक आपतकालीन अवस्थामा पानीको सहज पहुँचका लागि फायर हाइड्रेन्ट जडान गरेको छ। बाणगंगा नगरपालिकाका १४ स्थानमा जडान गरिएका यी संरचनाले आगलागीका घटनामा तत्काल पानी उपलब्ध गराउन सहयोग पुर्याउँदै आएका छन्।
यसका साथै विपन्न परिवारलाई राहत वितरण, सामुदायिक विद्यालयलाई सहयोग, स्वास्थ्य सेवा विस्तार तथा लक्ष्मणघाट शवदाहस्थलमा दाउरा अभाव समाधान गर्न दाउरा संकलन तथा बिक्री केन्द्र सञ्चालनजस्ता कार्यलाई पनि समूहले प्राथमिकतामा राखेको छ।
समूहले आफ्ना उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै घर–घरमा नर्स सेवा सञ्चालन गरेको छ। यसमार्फत उपभोक्ताको घरमै पुगेर स्वास्थ्य परीक्षण तथा परामर्श दिने व्यवस्था गरिएको छ।
समितिका अध्यक्ष सुशील सिंह ठकुरीले सामुदायिक वनको आम्दानी समुदायमै प्रतिफल दिने उद्देश्यले यस्ता पूर्वाधार तथा सामाजिक कार्यक्रम सञ्चालन गरिएको बताए। उनका अनुसार वन संरक्षणसँगै समुदायलाई प्रत्यक्ष लाभ पुग्ने योजनालाई प्राथमिकता दिइएको छ।
सामुदायिक वनले पूर्वाधार निर्माणसँगै उपभोक्ताको क्षमता विकास, नेतृत्व अभिवृद्धि तथा सीपमूलक तालिम सञ्चालनमा समेत लगानी गर्दै आएको छ। विभिन्न तालिम तथा सचेतनामूलक कार्यक्रममार्फत उपभोक्तालाई सशक्त बनाउने प्रयास जारी रहेको समूहले जनाएको छ।
वनभित्र वन्यजन्तुको संरक्षणका लागि पानीका स्रोत व्यवस्थापन, जैविक करिडोर निर्माणलगायतका कार्य पनि सञ्चालन गरिएको छ। साथै वनबाट प्रभावित स्थानीयलाई समूहको कोषबाट राहत उपलब्ध गराउने व्यवस्था गरिएको समूहकी सचिव सुष्मा खाँणले बताइन्।
दिगो वन व्यवस्थापनको अवधारणालाई आत्मसात् गरेको श्रृङ्गिघाट सामुदायिक वनले पछिल्लो समय उपभोक्तामैत्री तथा समुदायकेन्द्रित गतिविधिलाई थप विस्तार गर्दै आएको छ। वन संरक्षणसँगै समुदायको सुख–दुःखमा साथ दिने, स्थानीय आवश्यकता सम्बोधन गर्ने र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अभियानका कारण श्रृङ्गिघाट सामुदायिक वन एक नमुना संस्थाका रूपमा स्थापित हुँदै गएको छ।
स्थानीय विकास, वातावरण संरक्षण र समुदायको समृद्धिलाई एकसाथ जोड्ने यस्ता प्रयासले सामुदायिक वनको प्रभावकारिता थप उजागर गरेको छ।


