बाग्लुङको जैमिनी नगरपालिकामा बाँदर भगाउन हरेक बर्ष लाखौं खर्च, तर आतंक उस्तै


appharu

४ श्रावण २०७८, सोमबार १७:३१ मा प्रकाशित

बागलुङ ।
३ वर्षयता जिल्लाको जैमिनी नगरपालिकाले बाँदर नियन्त्रणका लागि बजेट व्यवस्था गरेको छ । जंगलबाट आउने बाँदरको बथानले किसानको बाली मास्ने गरेकाले नगरपालिकाले बाँदर नियन्त्रणका लागि हरेक वर्ष ५ लाख रुपैयाँ खर्चिने गरेको हो ।

वडाहरूलाई दामासाहीले बाँडिने बजेटले बाँदको नियन्त्रणमा भने कुनै काम नभएको किसानको गुनासो छ । बाँदर धपाउन कार्बनको पाउडर प्रयोग गरिने बन्दुकको प्रयोग गर्दासमेत बाँदरले नटेरेको गुनासो किसानको छ ।

ठूलो समूहमा खेतबारी र घरगोठमा समेत प्रवेश गर्ने बाँदरले निकै दुःख दिने गरेको जैमिनी नगरपालिका वडा नम्बर ४ सर्कुवाका अनिल शर्माले बताए ।

‘खेती गरेर खान नसकिने भयो । बाँदरकै कारणले बाँझो जमिन राखेर बस्नुपरेको छ,’ शर्माले भने ‘भान्छामा पकाएर राखेको खानाको भाँडोसमेत बाँदरले हिँडाउँछ ।’ बाँदर नियन्त्रणका लागि एक्लैले प्रयास गरेर नहुने उनले बताए ।

घरभित्रै पस्ने बाँदरले बालबालिकालाई पिट्ने, लत्ताकपडा च्यात्ने र भाग्ने गरेको शर्माले गुनासो गरे । ‘खाने कुरा भेटे खान्छ, नभए कपडा च्यातेर हिँड्छ,’ शर्माले भने, ‘अलि कमजोर देख्यो भने बाँदरले पिट्नै थाल्छ ।’

जैमिनीमा कृषि उत्पादन राम्रो हुने फाँटमा यस पटक लगाइएको मकैमा समेत बाँदरले धेरै क्षति पुर्‍याएको छ । ठूलो समूहमा धपाउन पुगे मात्रै बाँदर भाग्ने अन्यथा नटेर्ने वडा नम्बर ९ पैँयुथन्थापका रवीन्द्र शर्माले जानकारी दिए ।

किसानले खेतबारीको डिलमा मुकुन्डो बनाउने गरेका छन् । पहिले–पहिले मुकुन्डो देखेर तर्सिने बाँदर हिजोआज त्यही मुकुन्डोमा चढेर किसानलाई गिज्याउने गरेको वडा नम्बर ७ का स्थानीय बद्री ढुंगानाले बताए ।

‘मुकुन्डो बनाएर लगाइदिएको टोपी निकालेर बाँदरले लगाउँछ । एक–दुई जनाले धपाउँदा टेर्नै छाड्यो,’ ढुंगाना भन्छन्, ‘लगाएको खेती उम्रिँदादेखि पाक्ने बेलासम्म बाँदरकै राज हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्